गोर्खाको ‘अग्निपथ’ भर्ती स्थगित- समाचार - कान्तिपुर समाचार

गोर्खाको ‘अग्निपथ’ भर्ती स्थगित

परराष्ट्रमन्त्री खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बुधबार मन्त्रालयमै बोलाएर भने, ‘गोर्खा भर्तीमा सहजीकरण गर्न नेपाल सकारात्मक रहे पनि अग्निपथबारे दलहरुसँग छलफलपछि औपचारिक जानकारी दिन्छौं’
जगदीश्वर पाण्डे, मणि दाहाल

काठमाडौँ — भारतीय सेनाले ल्याएको ‘अग्निपथ’ योजनाअनुसार गोर्खा भर्ती तत्काल नहुने भएको छ । नयाँ नीतिअनुसार भारतले गोर्खा भर्ना गर्न खोजे पनि नेपाल सरकारले राष्ट्रिय धारणा बनाएर औपचारिक प्रतिक्रिया दिने भन्दै तत्काल स्थगित गर्न आग्रह गरेको छ । 



परम्परागत रूपमा हुँदै आएको भर्ना जस्तै नयाँ भर्तीमा सहजीकरण गरिदिन भारतीय सेनाले ३१ जेठमा पत्र पठाए पनि नेपाल सरकार अहिलेसम्म लिखित जवाफ पठाएको छैन । भारतीय सेनाको पत्रका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीसँग मंगलबार र बुधबार छलफल गरेका थिए तर स्पष्ट नीति बनाउन नसकेकाले सत्ता गठबन्धन र राजनीतिक दलहरूसँग थप छलफल गरी अन्तिम जवाफ दिने तयारी भएको छ ।

प्रधानमन्त्रीसँगको छलफलपछि परराष्ट्रमन्त्री खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बुधबार साँझ मन्त्रालयमै बोलाएका थिए । ‘परराष्ट्रमन्त्रीले गोर्खा भर्तीमा सहजीकरण गर्न नेपाल सकारात्मक रहेको तर भारतले नयाँ सैनिक भर्ना कार्यक्रम ल्याएकाले नेपालका राजनीतिक दलहरूसँग छलफल गरेर मात्र औपचारिक जवाफ दिने जानकारी गराउनुभएको छ,’ परराष्ट्र स्रोतले भन्यो ।

स्रोतका अनुसार सल्लाहकार सुवेदीले सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार नेपाली युवा भारतीय र बेलायती सेनामा भर्ना हुन पाउने भए पनि सेवा अवधिबारे उल्लेख नगरिएकाले अहिले आएको चारवर्षे योजनाले समस्या नहुने सल्लाह प्रधानमन्त्री देउवालाई दिएका थिए । सुवेदीले भारतीय सेनामा भर्ती हुने वा नहुने नेपाली युवाहरूको स्वतन्त्र अधिकार भएकाले भर्ना प्रक्रिया रोक्न नहुने तर्क गरेका थिए ।

परराष्ट्रमन्त्री खड्काले भने ‘अग्निपथ’ योजनाले युवाहरूलाई चार वर्षको सेवा मात्र सुनिश्चित गरेको र फर्काइने युवाका विषयमा समेत सोचविचार गरेर निर्णय गर्नुपर्ने राय प्रधानमन्त्रीसँग राखेका थिए । मन्त्री खड्काको मतअनुसार प्रधानमन्त्री देउवा सत्ता गठबन्धन र राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्ने निचोडमा पुगेका हुन् ।

‘अग्निवीर’ का रूपमा भर्ती हुने सैनिकले भारतीय सेनामा जम्मा चार वर्ष सेवा गर्न पाउनेछन् । त्यसपछि २५ प्रतिशतलाई स्थायी गरिनेछ भने ७५ प्रतिशतलाई करिब ११ लाख भारुसहित फिर्ता गरिनेछ । चार वर्ष हतियार र विस्फोटक पदार्थ चलाउन सिकेर फेरि बेरोजगार हुने युवाका लागि कस्तो नीति बनाउने भन्ने विषयमा नेपाल सरकारले कुनै छलफल गरेको छैन ।

चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुनुपर्ने र यसले अध्ययन र भविष्य अस्तव्यस्त हुने भन्दै भारतमा युवाले हिंसात्मक प्रदर्शन गरेका थिए । तर भारत सरकारले योजना लागू गरेर भर्ना प्रक्रिया अघि बढाइसकेको छ ।

भारत सरकारले पेन्सन बजेट कटौतीका लागि अघि सारेको सैन्य सुधार कार्यक्रमअन्तर्गत ‘अग्निपथ’ योजना ल्याएको हो । यसअन्तर्गत १७ देखि २३ वर्षसम्मका युवालाई ‘अग्निवीर’ का रूपमा भर्ना लिइँदै छ । ‘अग्निवीर’ हरूले मासिक ३० हजार भारु तलब पाउनेछन् । पेन्सनसहितको अन्य सुविधा भने पाउने छैनन् । भारतले पहिलो चरणमा ४ वर्षसम्म ४६ हजारका दरले युवालाई सुरक्षा फौजमा भर्ना लिने योजना बनाएको छ ।

भारतको अग्निपथ भर्नाका सम्बन्धमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिहीबार छलफल गर्ने भएको छ । समितिका सदस्य तथा एमाले सांसद दीपकप्रकाश भट्टले ‘अग्निवीर’ भर्तीका विषयमा समितिले परराष्ट्रमन्त्री खड्कालाई बोलाएर छलफल गर्न लागेको जानकारी दिए ।

संसद्को सबैभन्दा ठूलो दल एमालेले भने गोर्खा भर्तीका सम्बन्धमा भारतको एकपक्षीय नयाँ नीति स्वीकार्य नहुने प्रतिक्रिया दिएको छ । पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ‘अग्निवीर’ भर्नाका सम्बन्धमा नेपाल सरकारले कुनै परामर्श नगरेकामा पनि असन्तुष्टि जनाए । ‘भारतीय सेनामा नेपाली युवाको भर्तीका लागि अहिलेसम्म १९४७ को त्रिपक्षीय सन्धि एउटा आधार बन्दै आएको छ । सन्धिमा तोकिएका सेवासर्त र प्रक्रिया एकपक्षीय ढंगले परिवर्तन गर्न मिल्दैन,’ ज्ञवालीले भने, ‘यसमा सम्बन्धित सरकारसँग परामर्श गर्नुपर्छ । एकपक्षीय रूपमा गरिने परिवर्तन जोखिमपूर्ण हुन्छ । त्यो सन्धिको भावनाविपरीत पनि हुन्छ ।’

एमाले उपमहासचिव ज्ञवालीले गोर्खा भर्तीका बारेमा सान्दर्भिकता र औचित्यमाथि धेरै बहस भइरहेका बेला समग्र विषय पुनर्विचार गर्ने उपयुक्त अवसर आएको बताए । ‘समग्र पुनरावलोकन गर्ने मौका आएको छ । यसलाई सदुपयोग गरेर भारतसँग गम्भीरतापूर्वक छलफल गर्नुपर्छ । भारतले लामो समयसम्म नेपाली युवालाई सेनामा नलिने एक प्रकारको संकेत दिइसकेपछि नेपालले पनि आफ्नो योजना तयार गर्नुपर्छ । कूटनीतिक माध्यमबाट यसको समाधान खोजिनुपर्छ ।’ ज्ञवालीले सन् १९४७ को त्रिपक्षीय सन्धिको सान्दर्भिकता सकिएको उल्लेख गर्दै सैन्य भर्तीका विषयमा बेलायत र भारतसँग छुट्टाछुट्टै सम्झौता गर्नुपर्ने बताए ।

कांग्रेस प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले दलहरूसँग छलफल गरेर धारणा बनाउने बताए । ‘छलफलकै क्रममा छौं, सबैसँग छलफल गरेर साझा धारणा बनाउँछौं,’ उनले भने ।

अर्को सत्तारूढ दल माओवादी केन्द्रका महासचिव देव गुरुङले ब्रिटिसकालमा भएको त्रिपक्षीय गोर्खा भर्ती सम्झौता नै खारेज गर्नुपर्ने आवाज उठिरहेका बेला नयाँ कार्यक्रमलाई अगाडि बढाउन उचित नहुने धारणा राखे । उनले अग्निपथको चारवर्षे भर्ती प्रक्रियाको उद्देश्य र पाटाबारे आफूलाई थाहा नभएको बताए । ‘यसमा सरकारले पहिले सबै कुरा बुझ्नुपर्छ, चार वर्ष फौजी तालिम लिइसकेको जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने जस्ता प्रश्नहरू पनि छन्,’ उनले भने ।

सत्तारूढ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अग्निपथ योजनाअनुसार भर्तीका विषयमा सरकारी तहबाट आफूहरूलाई कुनै जानकारी नगराइएको बताए । ‘भारतले नेपालसँग परामर्श गरेर मात्र अग्निपथअन्तर्गत भर्ती अगाडि बढाउनुपर्छ,’ उनले भने ।

नेपाल फिजिकल एसोसिएसन (पूर्व) का अध्यक्ष पर्वत राईले भारतीय सरकारको अग्निपथ योजनाअन्तर्गत नेपाली युवालाई भर्ती गर्ने प्रक्रिया स्थगन भएकामा खुसी व्यक्त गरे । ‘भारत सरकारले अग्निपथ योजना ल्याएर त्यसमा नेपाली युवालाई पनि समावेश गर्ने भन्यो । तर चार वर्षका लागि मात्र भएकाले युवामा खासै आकर्षण भएको देखिएन,’ उनले भने, ‘गोर्खालीलाई अग्निवीर नबनाउनु नै उचित छ ।’

एसोसिएसनमा धरान, इटहरी, दमक, बिर्तामोड, विराटनगर, बुटवल, पोखरा, काठमाडौं, ललितपुरका गोर्खा भर्ती ट्रेनिङ सेन्टरमध्ये १ सय ७ वटा संस्था आबद्ध छन् । तीमध्ये धरानमा मात्र ६० वटा सेन्टर सञ्चालनमा छन् । अध्यक्ष राईले भारतमै पनि विरोध भइरहेको बेला पदोन्नति पनि नहुने र चार वर्षमा एकमुष्ट ११ लाख रुपैयाँ दिएर घर पठाउने योजनाले नेपालमा आधुनिक हतियार चलाउने तालिम प्राप्त युवा दुरुपयोग हुन सक्ने बताए ।

प्रकाशित : भाद्र ९, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्

सैनिक अधिकारीहरूसँग राष्ट्रपतिको परामर्श

‘नागरिकता विधेयक फिर्ता गरेकामा राष्ट्रपतिलाई धन्यवाद’
जगदीश्वर पाण्डे

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका प्रतिनिधिलाई भेट्ने क्रममा बुधबार साँझ पूर्वसैनिक अधिकारीहरूलाई शीतलनिवासमा रात्रिभोज दिएकी छन् ।

प्रधानसेनापति, पूर्वप्रधानसेनापतिहरूसहित करिब ७० जना सहभागी उक्त भोजमा राष्ट्रपतिले राजनीतिक संवाद पनि गरिन्, जसमा संसद्मा विचाराधीन नागरिकता विधेयक मुख्य थियो ।

नेपाली सेनाकी परमाधिपतिसमेत रहेकी राष्ट्रपतिसँगको भेटमा पूर्वप्रधानसेनापतिहरू प्यारजंग थापा र पूर्णचन्द्र थापा, अवकाश प्राप्त जर्नेलहरू केशरबहादुर भण्डारी, बालानन्द शर्मा, पूर्ण सिलवाल, प्रेमसिंह बस्न्यात, रमीन्द्र क्षत्री र सुरेश कार्कीले प्रखर रूपमा आफ्नो धारणा राखेका थिए । उनीहरूले नागरिकता विधेयक संसद्मै फिर्ता पठाएर मुलुकको हितमा काम गरेको भन्दै राष्ट्रपतिको प्रशंसा पनि गरे । भोजमा प्रधानसेनापति प्रभुराम शर्मा पनि थिए ।

छलफलको सुरुआतमा राष्ट्रपति भण्डारीले लामो समयदेखि आफूले सबैलाई बोलाएर धन्यवाद दिन चाहेको तर कोभिड–१९ का कारण सम्भव नभएको बताएकी थिइन् । उनले धारणा राख्न भनेपछि बोलेका सबैजसो अवकाश प्राप्त जर्नेलले नागरिकता विधेयकमा पछि नहट्न राष्ट्रपति भण्डारीलाई आग्रह गरे यद्यपि उनीहरूले संसदीय व्यवस्था र संविधानले राष्ट्रपतिलाई कति जिम्मेवारी र अधिकार दिएको छ भन्ने प्रसंगमा भने ध्यान दिएनन् । ‘संसद्बाट आएको विधेयक फिर्ता गरेर देश–हित गर्नुभएको छ, फेरि त्यो विधेयक पारित भएर आयो भने पनि राष्ट्रपतिज्यू पछि नहट्नुहोला भन्ने राय थियो,’ भोजका एक सहभागीले भने ।

उनीहरूले राष्ट्रपति भण्डारीले राजीनामा दिने हल्ला आइरहेको उल्लेख गर्दै त्यसो नगर्न पनि आग्रह गरेका थिए । एक सहभागीका अनुसार अन्त्यमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘नागरिकता विधेयक संसद्बाट फेरि आयो भने त्यसलाई सम्बोधन गर्न कानुनी विकल्पहरू खोज्नेछौं । म राजीनामा दिन्नँ । त्यसमा तपाईंहरू ढुक्क हुनुहोस् ।’

यो विधेयक फेरि राष्ट्रपतिकहाँ कहिले पुग्छ भन्ने यकिन छैन किनकि प्रतिनिधिसभाले पारित गरे पनि राष्ट्रिय सभाले छलफलको कार्यसूची अहिलेसम्म राखेको छैन । राष्ट्रिय सभाको आगामी बैठक भदौ १२ का लागि डाकिएको छ ।

नागरिकता विधेयक राष्ट्रिय सभाले पारित गरी पुनः प्रतिनिधिसभामा पठाएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने संवैधानिक व्यवस्था छ । तर, राष्ट्रिय सभाले अस्वीकृत गरे वा संशोधनसहित फिर्ता पठाए प्रतिनिधिसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमतले निर्णय गरेर राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाउन सक्नेछ । यसरी राष्ट्रपतिले फिर्ता पठाएको विधेयक फेरि दुवै सदनले पारित गरी पठाए राष्ट्रपतिले १५ दिनभित्रमा प्रमाणीकरण गर्नुपर्ने प्रावधान संविधानको धारा ११३ (४) मा छ ।

अंगीकृत नागरिकका सन्तानलाई नागरिकता दिने गरी बनेको नागरिकता संशोधन विधेयक संसद्का दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको १५ औं दिन साउन २९ मा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । संघीय

संसद्बाट पारित भइसकेपछि उक्त विधेयकलाई सभामुख अग्नि सापकोटाले साउन १५ मा राष्ट्रपतिकहाँ पठाएका थिए । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाले फेरि हुबहु पारित गरी राष्ट्रिय सभामा पठाइसकेको छ ।

प्रकाशित : भाद्र ९, २०७९ ०६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×