कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकबिनैको पुलबारे अख्तियारको चासो

कान्तिपुर संवाददाता

गोरखा — पहुँचका भरमा सडकबिनै बनेको पक्की पुलका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सडकले नजोडेको ठाउँमा सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३ नारेश्वर जोड्ने दरौदी नदीमाथि बनेको पुलबारे छानबिन अघि बढेको हो ।

सडकबिनैको पुलबारे अख्तियारको चासो

गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बजेट व्यवस्था गरेर पुल निर्माण गराएका थिए ।

अख्तियारको केन्द्रीय कार्यालयबाट आएको प्राविधिकसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरिसकेको छ । पुल निर्माणको योजना कार्यान्वयन गर्ने पूर्वाधार कार्यालयसँग पनि प्रमाणित कागजातसहितको फाइल झिकाएको अख्तियारले जनाएको छ । स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयका तत्कालीन समयका केही कर्मचारीसँग सोधपुछ गर्ने अख्तियारको तयारी छ ।

छानबिनका क्रममा रहेको भन्दै अख्तियारले भने यस विषयमा बढी खुलाउन चाहेन । पूर्वाधार कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले अख्तियारले मागेअनुसारको विवरण पठाइसकेको जानकारी दिए । अख्तियारको टोलीले पूर्वाधार कार्यालयसँग योजना सुरु हुँदाको प्रक्रियाबारे पनि जिज्ञासा राखेको उनले बताए ।

जरेवर–नारेश्वर–गोरखा बजार सडक खण्डअन्तर्गत दरौदी नदीमाथि ५ करोड ३९ लाखको लागतमा पुल निर्माण भएको छ । पुलको ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । २०७७ जेठमा निर्माण सुरु भएको पुल आगामी पुससम्म बनाइसक्ने लक्ष्य छ ।

पुल निर्माण सम्पन्न हुने चरणमा पुग्दासम्म दुवैतर्फ सडकले पुललाई जोडेको छैन । नारेश्वरतर्फ करिब सय मिटर दूरीमा सडक आइपुगेको छ । सडकबिनै पुल बनेको भन्दै सर्वत्र आलोचना भएपछि नारेश्वरतर्फ पुल र सडकबीचमा रहेको झाडी फाँडिएको छ । पुलको जरेवरतर्फ स्थानीयको खेत छ ।

प्रकाशित : भाद्र ८, २०७९ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्