‘धनुषा महतोलाई छाडेर पहाड उक्लन निधि तयार’

चुनावी राजनीतिमा सधैं मधेस र त्यसमा पनि धनुषालाई कर्मथलो बनाएका निधि चुनावको मुखमा हिमाली–पहाडी जिल्ला जान खोज्नुलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ 

काठमाडौं, जनकपुर — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखिरहेको अडानमा कांग्रेस नेता विमलेन्द्र निधिले साथ दिएका छन् । लोसपालाई गठबन्धनमा ल्याउँदा नेता राजेन्द्र महतोसँग समस्या उत्पन्न हुन सक्ने चिन्ता उत्पन्न भइरहेका बेला निधिले आफ्नो निर्वाचन क्षेत्र छाड्न बाधक नहुने सन्देश पार्टी सभापति देउवा र केही पदाधिकारीलाई दिइसकेका छन् । उनले हिमाल–पहाड क्षेत्रमा उठ्न वा समानुपातिकमा बस्न पनि तयार रहेको सन्देश पार्टी नेतृत्वलाई दिएका हुन् । 

‘धनुषा महतोलाई छाडेर पहाड उक्लन निधि तयार’

२०७४ को निर्वाचनमा धनुषा–३ बाट महतोले निधिलाई करिब ३ हजार मतले पराजित गरेका थिए । लोसपा गठबन्धनमा सामेल भयो र जितेकै निर्वाचन क्षेत्र सुरक्षित राखेर अन्यमा बाँडफाँट गर्ने अवधारणा अपनाइयो भने उक्त क्षेत्र महताले पाउन सक्छन् । ‘महतोजीले धनुषा–३ बाटै चुनाव लड्ने अडान राख्नुभयो भने म हिमाल–पहाडी जिल्लाबाट चुनाव लड्ने वा समानुपातिकमा बस्ने विकल्प पनि छ । त्यसले सत्ता गठबन्धनलाई सिट व्यवस्थापन गर्न सहज हुन्छ,’ निधिले कान्तिपुरसँग भने ।

निधिले धनुषा–३ छाडेर हिमाल–पहाडी जिल्ला जानुपरे रोजाइको ठाउँ भने बताएका छैनन् । उनले काठमाडौं, मुगु, डोल्पा, पाँचथर, ताप्लेजुङ र सिन्धुलीमा चासो राखेका छन् । ‘यी हिमाली–पहाडी जिल्लाबाट चुनाव लड्न स्थानीय नेता–कार्यकर्ताको पनि प्रस्ताव आइरहेको छ,’ निधि निकट स्रोतले भन्यो । चुनावी राजनीतिमा सधैं मधेस र त्यसमा पनि धनुषालाई कर्मथलो बनाएका निधि चुनावको मुखमा हिमाली–पहाडी जिल्ला जान खोज्नुलाई कांग्रेसभित्र भने अर्थपूर्ण रूपमा हेरिएको छ ।

कांग्रेसका संस्थापकसमेत रहेका उनका पिता महेन्द्रनारायण निधिले २०४८ को निर्वाचनमा चुनाव जितेका थिए । २०५१ को मध्यावधि निर्वाचनअघि उनको निधन भयो । त्यसपछि विमलेन्द्रले कांग्रेसबाट टिकट पाए र चुनाव जिते । २०५६ को निर्वाचनमा उनले चुनाव हारे । संविधानसभा चुनावअघि निर्वाचन क्षेत्र हेरफेर भयो । त्यसपछि भएका दुईवटा संविधानसभा निर्वाचनमा निधिले धनुषा–३ बाटै जिते । २०७४ को निर्वाचनमा भने हारे ।

हिमाल र पहाडी क्षेत्रबाट चुनाव लड्ने सोच भने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक भएका बखतदेखि नै आएको निधिको भनाइ छ । निधिले गरेको निर्णयमा पार्टीका संस्थापक बीपीको आदर्शको प्रभावसमेत जोडिएको निकट नेताहरू बताउँछन् । २०१५ सालको निर्वाचनमा बीपीले मधेसकाले हिमाल–पहाड र हिमाल–पहाडकाले मधेसमा झरेर चुनाव लड्दा पार्टीलाई मात्रै नभएर देशलाई जोड्न सकिने तर्क राखेका थिए । ‘जिल्ला मैले राजेको छैन तर म तराई–मधेसबाट नभई हिमाली र पहाडी जिल्लाबाट निर्वाचित हुन चाहन्छु,’ निधि भन्छन्, ‘गठबन्धनलाई हिमाल र पहाडी जिल्लामा समेत व्यवधान पर्‍यो भने म समानुपातिकमा बस्नसमेत तयार छु ।’

कांग्रेसका एक पदाधिकारीका अनुसार लोसपालाई गठबन्धनमा सामेल गर्ने निर्णय लिनुअघि मधेस प्रदेशमा रहेका सबै खालका व्यवधानमाथि गहिरो छलफल चलेको थियो । ‘गठबन्धनका लागि मुख्य चुनौती नै धनुषा–३ मा निधि र महतोबीचको व्यवस्थापन थियो । निधिले विकल्प अघि सारिदिएपछि प्रधानमन्त्रीलाई धेरै सहज भएको छ,’ कार्यदलमा रहेका कांग्रेसका एक सदस्यले भने, ‘अब गठबन्धनमा समझदारी बनाउन बाँकी छ ।’

लोसपा नेता महतोले पनि निधि र आफूबीच छलफल भएको स्विकारे । ‘हामीहरूबीच कुनै द्वन्द्व हुन्न । निधिजीले मिलेरै जान सकिन्छ, कुनै समस्या छैन भनेर मसँग भनिसक्नुभएको छ,’ महतोले भने, ‘यति भन्दा पनि सत्ता गठबन्धनले किन निर्णय नगरिरहेको हो, हामीलाई आश्चर्य लागेको छ ।’ पाँच दलका बीचमा कुनै समस्या भए त्यसको जानकारी आफूहरूले पाउनुपर्ने उनले बताए । ‘प्रधानमन्त्रीले प्रस्ताव राखेकाले हामीले स्वीकार गरेका हौं । गठबन्धनमा समस्या छ भने भन्नुपर्‍यो । हामी त्यही ढंगले सोच्छौं, आफ्नो बाटो लाग्छौं,’ महतोले भने ।

प्रधानमन्त्री देउवाले सिट बाँडफाँट र लोसपालाई गठबन्धनमा ल्याउने विषयमा मंगलबार बिहान पार्टीभित्रै छलफल गरेका थिए । वर्तमान र पूर्वपदाधिकारीबीच भएको छलफलमा महामन्त्री गगन थापाले पार्टीले सयभन्दा कम सिटमा सिम्झौता गर्न नहुने नेतृत्वलाई सुझाए । लोसपा गठबन्धनमा ल्याउने विषयमा नेताहरूले खासै विरोध नगरे पनि एउटै प्रदेशबाट दुवै मधेसकेन्द्रित दललाई सिट व्यवस्थापन गर्न चुनौती हुन सक्ने धारणा राखेका थिए । त्यसपछि बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । ‘लोसपालाई कांग्रेसको भागबाट मात्रै सिट छुट्याउन सक्ने अवस्था छैन । गठबन्धनमा मात्रै होइन, सरकारमै सहभागी हुने विषय पनि छ,’ बालुवाटार स्रोतले भन्यो, ‘लोसपालाई गठबन्धनमा ल्याउँदा सिट बाँडफाँटमा तलमाथि हुन्छ । सबै विषय अध्ययन गरेर निर्णयमा पुग्ने कोसिस चलिरहेको छ ।’

लोसपालाई गठबन्धनमा सामेल गराउने कि नगराउने भन्नेमा निष्कर्षमा पुग्न नसक्दा सत्ता गठबन्धनले सिट बाँडफाँट टुंगो लगाउन सकेको छैन । लोसपालाई गठबन्धनमा सामेल गर्न माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक देखिए पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन विपक्षमा छन् । एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा पनि विपक्षमा छन् । लोसपालाई ल्याउँदा मधेसमा कांग्रेस खुम्चिने र त्यसबाट उत्पन्न हुने असन्तुष्टिले गठबन्धनलाई असर गर्ने भय देखिएको छ ।

जसपा र लोसपा दुवैको मुख्य आधार मधेस प्रदेश हो । कांग्रेसले समेत यस प्रदेशमा आफ्नो जनाधार बलियो भएको दाबी गर्दै आएको छ । २०७४ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले जितेका १० मध्ये ९ र महन्थ ठाकुरलगायत ६ नेताको नेतृत्वमा रहेको तत्कालीन राष्ट्रिय जनता पार्टीले जितेका ११ मध्ये १० निर्वाचन क्षेत्र मधेस प्रदेशमा पर्छन् । मधेस प्रदेशबाट कांग्रेसले ६, माओवादीले ५ र एमालले २ सिट जितेका थिए ।

प्रकाशित : भाद्र ८, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?