शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्‍न मेयर शाहको निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्‍न मेयर शाहको निर्देशन

दलसँगको आबद्धता नत्यागे सार्वजनिकरुपमा उजुरी आहृवान गरी वा अन्य उपायबमोजिम प्राप्त सूचनाको आधारमा कानुनी कारबाही अगाडि बढाउने चेतावनी
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई पनि उनले अपिल गरेका छन‍् ।

मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै मेयर शाहले भनेका छन्, ‘राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न यसै विज्ञप्तीमार्फत् सूचित गरिन्छ ।’

उनले दलसँगको आबद्धता त्याग नगरे सार्वजनिकरुपमा उजुरी आहृवान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानुनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिने भन्दै चेतावनी दिएका छन् ।

मेयर शाहले महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । सो सम्बन्धीको व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले गरेको उनले जनाएका छन‍् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ ।

उक्त कानुन कार्यान्वयन गर्न अजित भण्डारीविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत भएको मुद्दामा उच्च अदालत पाटनले परमादेश समेत जारी गरेको थियो । उक्त कानुनी व्यवस्था तथा उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु/गराउनु काठमाडौं महानगरपालिकाको साथसाथै प्रत्येक राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्था तथा महानगरपालिकाअन्तर्गतका शिक्षक तथा कर्मचारीको पनि दायित्व रहेको शाहको विज्ञप्तिमा उल्लेख छ ।

महानगरपालिकाको कार्यक्षेत्रभित्र सुशासन प्रवर्द्धन गर्नका लागि महानगरअन्तर्गतका शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्य हुनु कानुनसम्मत नभएको मेयर शाहले जनाएका छन् । मेयर शाहले दलीय आबद्धता त्याग्न निर्देशन दिए पनि काठमाडौं महानगरभित्रै विभिन्न दल निकट कर्मचारी र शिक्षक संगठनहरु सक्रिय छ्न् ।

प्रकाशित : भाद्र ७, २०७९ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल–बंगलादेशका उच्च अधिकारीको टोली सुनकोसी ३ आयोजनाको अनुगमनमा

टीकाप्रसाद भट्ट

रामेछाप — नेपाल विद्युत् प्राधिकरणले प्राथमिकता सूचीमा राखेको जलासययुक्त सुनकोसी ३ जलविद्युत् आयोजनाको मंगलबार नेपाल र बंगलादेशका उच्च स्तरीय अधिकारीहरूले अवलोकन तथा अनुगमन गरेका छन् ।

रामेछाप र काभ्रेको सीमा भएर बग्ने सुनकोसी किनारमा पर्ने रामेछापको खाँडादेवी १ लुघुघाटमा पुगेका दुई देशका उच्च अधिकारीहरूले आयोजना निर्माण स्थल, प्रभावित क्षेत्र, विद्युत उत्पादनगृह अवलोकन गर्नुको साथै स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरेका छन् ।

नेपाल र बंगलादेशबीच हुन लागेको उर्जा सम्बन्धी उच्चस्तरीय बैठकमा भाग लिन नेपाल आएका बंगलादेशका उर्जा सचिव महम्मद हसनको नेतृत्वमा बंगलादेशको उर्जा विज्ञ टोली आयोजना निर्माण स्थलमा पुगेको थियो । बंगलादेशका उच्च अधिकारीहरूको टोलीलाई रामेछापको माझी र तामाङ समुदायले झाँकीसहित स्वागत गरेका थिए ।

प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठ, उर्जा मन्त्रालय, विद्युत् विकास विभागका अधिकारीका साथै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत अनुगमन र छलफलमा सहभागी थिए ।

कुल ६ सय ८६ मेघावाट क्षमताको उक्त आयोजना निर्माणका लागि बंगलादेश सरकारले चासो देखाएको छ । आयोजनाको नेपाल सरकारले वातावरणीय प्रभाव मूल्यांकनसमेत तयार पारिसकेको छ । दुई देशबीच हुने उर्जा सम्बन्धी बैठकमा उक्त आयोजनाको लगानीका सम्बन्धमा समेत छलफल हुने योजना रहेको अधिकारीहरूले बताए ।

सुनकोसीको लुभुघाटमा बाँध बाँधेर काभ्रे जिल्लाको रोशी दोभानमा विद्युत् गृहमा पानी खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उक्त आयोजनाले रामेछाप र काभ्रे जिल्लाका केही भूभाग डुबानमा पार्नसक्छ । सुनकोसीको बाँध निर्माणले उत्तरमा बलेफीसम्म पानी संकलन हुनेछ ।

आयोजनालाई उच्च प्रथमिकतामा राखेको प्राधिकरणलाई स्थानीय बासिन्दाको समेत साथ रहेको भन्दै लुभुमा मंगलबार आयोजित कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य युवराज चौलागाईँ र कांग्रेसका पूर्वजिल्ला सभापति रामचन्द्र खड्काले आश्वस्त पारेका थिए । आयोजना निर्माणका लागि जुनसुकै सहयोग गर्न तयार रहेको नेता चौलागाईँले बताए ।

कुल १ खर्ब ५९ अरब ७२ करोड लागतको उक्त आयोजना सन् २०२५ मा सुरु गरी २०३१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित विद्युत् सिन्धुलीको दुम्जा हुँदै सुनकोसी मरिण वहुउद्देश्यीय आयोजनाको सव स्टेशनमा लगेर केन्द्रीय प्रशारणमा जोड्ने योजना रहेको छ ।

प्रकाशित : भाद्र ७, २०७९ २१:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×