१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कविराम र कर्णबहादुरले पाए आफ्नै नामको नागरिकता

भन्छन्, ‘नयाँ जुनी पाएजस्तो महसुस भएको छ’
ज्योति कटुवाल

दैलेख — नागरिकतामा अपमानजनक नाम उल्लेख गरिएका दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहलतोलीका कविराम कामीले नयाँ नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयले नाम सच्याएर उनलाई आइतबार नयाँ नागरिकता दिएको हो ।

कविराम र कर्णबहादुरले पाए आफ्नै नामको नागरिकता

२०४६ जेठ १० मा गाउँमा खटिएको टोलीले उनलाई नागरिकता दिएको थियो । नागरिकतामा उनको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ लेखिएको थियो । ‘नाममै अपमान’ शीर्षकमा कान्तिपुरले समाचार लेखेपछि गृह मन्त्रालय र संसद्को ध्यानाकर्षण भएको थियो । लगत्तै गृहले जिल्ला प्रशासनहरूलाई अपमानजनक नाम सच्याउन निर्देशन दिएको थियो । नागरिकतामा अपमानजनक नाम भएकै कारण उनका ५ छोराछोरी र बुहारीले नागरिकता बनाएका थिएनन् । छोराहरू पप्पु, शिवराज, बुहारीहरू निशा, सरिता र छोरीहरूले उमेर पुगे पनि नागरिकता बनाउन मानेका थिएनन् । दुई छोरा र एक बुहारीको नागरिकता भने उनको पुरानै नामबाट बनेको छ ।

३३ वर्षपछि नागरिकतामा वास्तविक नाम पाउँदा कविराम खुसी भएका छन् । ‘नयाँ जुनी पाएजस्तो महसुस भएको छ,’ उनले भने, ‘आफ्नै नामबाट नागरिकता पाउँला भन्ने सोचेकै थिइनँ ।’ कविरामको नागरिकतासँगै ‘कुकुर कामी’ नाम भएका अन्य प्रमाणपत्रहरू खारेज गरिने प्रजिअ हरि प्याकुरेलले बताए । प्रशासनले नागरिकता सच्याउन प्रक्रिया पूरा गरेर आउन भन्दै उनलाई डेढ साताअघि खबर पठाएको थियो । त्यसयता नाम सच्याउन आउने क्रममा करिब १२ हजार रुपैयाँ खर्च भएको उनले बताए । कविरामको साउन २४ मा प्रशासनमा प्रजिअ प्याकुरेलसँग भेट भएको थियो । ‘उहाँले नागरिकता सच्याउन चाहिने कागजातको लिस्ट दिनुभयो । वडा कार्यालयको सिफारिस र गाउँपालिकाको समन्वयमा सबै कागज तयार गरेर प्रशासन कार्यालयमा आज (आइतबार) बुझाएको थिएँ,’ कविरामले भने, ‘आजै सीडीओ सा’बकै कोठामा नाम सच्याइएको नागरिकता पाएँ ।’

भगवतीमाई–५ का कर्णबहादुर कामीले पनि २३ वर्षपछि नाम सच्याएर नागरिकता पाएका छन् । २०३५ सालमा जन्मिएका कर्णबहादुरको नाम प्रशासनका कर्मचारीले बिगारिदिएका हुन् । ‘प्रशासनका कर्मचारीले नाम के हो भनेर सोधे, मैले कर्णबहादुर भने, तर नागरिकतामा ठगे लेखिदिएछन्,’ उनले भने, ‘२०५६ सालमा नागरिकता बनेपछि नामकै कारण धेरै अपमान खेप्नुपर्‍यो ।’ घर खर्च धान्न मुस्किल भएपछि कक्षा ७ मा पढ्दापढ्दै मजदुरीका लागि कालापहाड गएको उनले बताए । ‘स्कुलको प्रमाणपत्रमा कर्णबहादुर थियो, नागरिकतामा ठगे लेखियो,’ उनले भने, ‘कक्षा ८ मा पढ्दै गरेकी १४ वर्षीया छोरी सुनितालाई साथीहरूले तिम्रा बाले कति जनालाई ठगेका छन् भन्दै जिस्काउँथे ।’

नाम सच्याउन गाउँबाट १० हजार रुपैयाँ ऋण लिएर सदरमुकाम आएको उनले बताए । उनी नयाँ नागरिकता लिन ३ पटक सदरमुकाम पुगे । एक साता लगाएर गाउँमा मुचुल्का बनाएको उनको भनाइ छ । ‘अहिले मजस्तो खुसी को होला र ?’ उनले भने, ‘अझ बढी खुसी ५ छोराछोरी भएका छन् ।’ नामले नै अपमान भोगेका व्यक्तिको मुचुल्का र सिफारिस पठाउन जिल्लाका ११ वटै पालिकामा पत्राचार गरिएको प्रजिअ प्याकुरेलले बताए । उनका अनुसार नागरिकतामा अपमानजनक नाम भएको महसुस गरेर सच्याउन आउने क्रम बढेको छ । ‘कविराम र ठगे मात्र हैन कुकुर, गुखाने, कुत्ता, फ्याउरो, लुते गुइचे, कुजो, डेडो, कालो, नीलो, चैते, वैशाखेजस्ता अपमानजनक नामहरू सबै सच्याइनेछ,’ उनले भने, ‘अब सबै स्थानीय तहमा नागरिकता जम्मा गरेर सिफारिस बनाएर एकमुष्ट पठाउन आग्रह गरिनेछ ।’

प्रकाशित : भाद्र ६, २०७९ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?