कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
अझै आएन अक्सिजेनेटर 

मनमोहनबाट सापटी लिएर अपरेसन गर्दै गंगालाल

प्रशान्त माली

काठमाडौँ — मुटुको शल्यक्रिया गर्न ‘अक्सिजेनेटर’ अत्यावश्यक मेसिन हो । मुटुको अपरेसन गर्दा फोक्सोको काम गर्ने उपकरण हो ‘अक्सिजेनेटर’  ।यसैको अभावमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र मुटुको शल्यक्रिया नै रोकियो  पनि । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले तत्काल अक्सिजेनेटर उपलब्ध गराउन सरकारलाई निर्देशनसमेत दिएको थियो । तर अस्पतालमा अझै पनि अक्सिजेनेटर आपूर्ति भएको छैन । 

मनमोहनबाट सापटी लिएर अपरेसन गर्दै गंगालाल

पछिल्लो समय भने गंगालालले पैंचो लिएर काम चलाउँदै आएको छ । अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरबाट सापटी लिएर काम चलाइएको अस्पतालले जनाएको छ ।

गंगालालले चैत २८ गते ठेकेदार कम्पनी हस्पिटेक इन्टरप्राइजेजमार्फत इटालीको सोरिन कम्पनीबाट १ हजार ५ सय ४६ वटा अक्सिजेनेटर ल्याउने सहमति गरेको थियो । बीचमा गंगालाल र ठेकेदार कम्पनीले विश्वव्यापी रूपमा अभाव भएको भन्दै ल्याउन नसकेको बताएका थिए ।

तर गंगालालले भन्दा पछि टेन्डर प्रक्रिया अगाडि बढाएको मनमोहनले भने जापानको टिरुमो कम्पनीबाट दुई साताअघि नै मेसिन ल्याइसकेको छ । मेडिसिटीजस्ता निजी अस्पतालले पनि धमाधम अपरेसन थालिसकेको छ । तर, गंगालालले भने सम्झौताको चार महिनाभन्दा बढी बितिसक्दा पनि अझै ल्याउन सकेको छैन । गंगालालमा दैनिक ७/८ वटा अपरेसन हुन्छ ।

गंगालालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले शल्यक्रिया नरोकिएको बताए । ‘अब निरन्तर शल्यक्रिया चल्छ,’ उनले भने । अक्सिजेनेटर समयमा आइनपुगेको बारेमा भने उनले प्रतिक्रिया दिन चाहेनन् । हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितले भने मेसिन ल्याउन इन्टरप्राइजेजको भूमिका नहुने दाबी गरे । ‘अस्पताल र उत्पादन कम्पनीबीच सिधै सम्झौताको हुनाले पैसा पनि हामीले पाएको होइन । अन्तर्राष्ट्रिय टेन्डर आह्वान गर्न डकुमेन्ट मात्र मिलाइदिएको हो,’ उनले भने, ‘तैपनि मेसिन ल्याउन तोकेता गर्दै आइरहेका छौं ।’

गंगालालमा रोकियो मुटु शल्यक्रिया

सामान्यतया एलसी खोलेको तीन महिनाभित्र सामान ल्याइसक्नुपर्छ । एलसी जेठ ४ मा नै खोलिएको थियो । एलसी खोलेको पनि शनिबारबाट तीन महिना पुगेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले अबको एक/दुई साताभित्र अक्सिजेनेटर आइपुग्ने दाबी गरे । ‘कोलकातामा सामान आइपुगिसकेको छ,’ उनले भने, ‘पानीजहाजबाट ल्याउनुपर्दा ढिलाइ भएको हो ।’

अक्सिजेनेटर मेसिन अभावका कारण साउन ३ मा घर फिर्ता पठाइएका ललितपुरको गोदावरी नगरपालिका–१२ का श्यामबहादुर महर्जनको अझै अपरेसन भएको छैन । घरमा हृदयघात भएपछि महर्जन असारको अन्तिम साता अस्पताल भर्ना भएका थिए । उनकी छोरी सरिताले भनिन्, ‘अक्सिजेनेटर मेसिन आएको खबर सुनेर अपरेसन गराउन भर्ना भएको झन्डै साता बित्न लागिसक्यो । तर, अझै अपरेसन गर्ने छाँटकाँट देखिएको छैन ।’

मुटुको शल्यक्रियाका लागि तत्काल अक्सिजेनेटर उपलब्ध गराउन सरकारलाई निर्देशन

साउन ७ गते हृदयघात रोक्ने औषधि दिएर घर फिर्ता पठाएका कास्कीका ६१ वर्षीय खिमप्रसाद अधिकारीको पनि अझै शल्यक्रिया भएको छैन । बुटवलका ५७ वर्षीय भूमराज ढकालको समस्या पनि उस्तै छ । उनीहरू जस्तै गंगालालमा मुटुको शल्यक्रिया गराउन पालो कुरिरहेका अन्य थुप्रो छन् ।

अस्पतालले साउन ४ गते अक्सिजेनेटर अभाव भएको भन्दै एकै दिन ४५ जना बिरामी घर फिर्ता पठाएको थियो । त्यसपछि संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहल गरी मुटुको शल्यक्रिया गर्न आवश्यक अक्सिजेनेटर तत्काल उपलब्ध हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति जयपुरी घर्तीले यसबारेमा फेरि ताकेता गर्ने बताइन् । ‘अस्ति बुझ्दा मेसिन आउने प्रक्रियामै रहेको बताएका थिए । फेरि ताकेता गर्छौं,’ उनले भनिन् ।

अस्पतालमा २० केजीभन्दा मुनिको बालबालिकाको भने शल्यक्रिया रोकिएको छैन । मनमोहनका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले अक्सिजेनेटर अभाव हुँदा गंगालाल र मनमोहनबीच सहयोग आदानप्रदान हुँदै आइरहेको बताए । ‘२ सय ५० वटा मेसिन ल्याउने सम्झौता भएअनुसार पहिलो चरणमा ६० वटा ल्याइसकेका छौँ,’ उनले भने । मनमानेहनमा सातामा १२ वटा शल्यक्रिया हुने गर्छ ।

प्रकाशित : भाद्र ४, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?