१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कष्टसाध्य बडिमालिका

सामाजिक सञ्जालमा बडिमालिकाका फराकिला, हरिया पाटन देखेर मन्त्रमुग्ध हुने र पुग्ने इच्छा राख्ने धेरै हुन्छन् तर फर्कनेहरूसँग गुनासोबाहेक केही हुन्न
४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका धाम पुग्न मार्तडी हुँदै जाँदा तीनदेखि चार दिनको पैदल यात्रा गर्नुपर्छ । तर , मार्तडीबाट उक्लेपछि नै सुरू हुन्छ धर्मशाला र होटलको अभाव । खानेपानी र शौचालयको सकस भोग्ने तीर्थयात्री त कति–कति !

बडिमालिका, बाजुरा — जनैपूर्णिमाको छेको पारेर आएका भक्तजनले बिहानै त्रिवेणीधाममा नुहाइधुवाइ र पूजाआजा गरे अनि बडिमालिकातर्फ उक्लिए । त्रिवेणीधामनेरको उकालो कटेपछि पाटनतिर हेर्दै धनगढीका ४० वर्षीय पुकार ढकालले भने, ‘आजको रात पानीबाहेक केही खाइएन, साह्रै दुःख पाइयो ।’ प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका क्षेत्रको सुन्दर तस्बिर र भिडियोमा लोभिएर यहाँ आइपुग्नेहरूले ढकालले जस्तै सास्ती भोग्नु सामान्य हो ।

कष्टसाध्य बडिमालिका

सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भए पनि शौचालय र खानेपानीको फितलो व्यवस्थापनले वर्षको एक पटक लाग्ने मेलामा पुग्नेहरू नमीठो अनुभूति बटुलेर फर्कने गरेका छन् ।

तस्बिरहरू : वसन्तप्रताप सिंह,विद्या राई/कान्तिपुर

बडिमालिका क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर र मनोरम छ । धार्मिक हिसाबले पनि उत्तिकै महत्त्व बोकेको छ । जनैपूर्णिमाका दिन बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागडलगायतका ठाउँबाट पनि तीर्थयात्रीहरू यहाँ आइपुग्छन् ।

समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका पुग्न बाजुरा सदरमुकाम मार्तडी हुँदै जाँदा तीनदेखि चार दिनको पैदल यात्रा गर्नुपर्छ । मार्तडीबाट उक्लेपछि बाटोमा धर्मशाला र होटलको अभाव छ । शौचालयको उचित व्यवस्था नहुँदा आठौं दिन घरमै फर्केपछि मात्रै ढुक्कले दिसापिसाब गर्न सकेको काठमाडौंकी ४८ वर्षीया प्रमिला पौडेलले सुनाइन् । ‘धाम गइयो भन्नु मात्रै, बाहिरै दिसापिसाब गर्नुपर्ने रहेछ, जता बसे पनि मान्छे नै मान्छे,’ उनले भनिन्, ‘शौच गर्नकै लागि कति दिन त राति २ बजे उठें । व्यवस्थित शौचालय नहुँदा किन आएछु भन्ने भयो ।’

धार्मिक र पौराणिक महत्त्वको बडिमालिकाको व्यवस्थापकीय पक्ष धेरै कमजोर रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक मानबहादुर चन्दले बताए । ‘यो पुण्यभूमिमा पाइला टेक्यो भने मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ,’ उनले भने, ‘नेपाल खुला दिसामुक्त भएको छ भनिराख्या छौं । यस्तो पवित्र ठाउँमा चाहिँ खुला रूपमा दिसापिसाब गर्नुपरिराख्या छ ।’

कैलालीको बर्दगोरियाका कृष्ण विष्टले पाँच/छ वर्षअघि आउँदा पनि शौचालयको सास्ती खेपेका रहेछन् । स्थानीय तहमा जनप्रतिनिधि आइसक्दासमेत धार्मिक–पर्यटकीय गन्तव्यमा व्यवस्थापन फितलो भएको उनले गुनासो गरे । ‘यति सुन्दरता भएको ठाउँमा स्थानीय सरकारले शौचालयको व्यवस्था गरिदिएको भए कति राम्रो हुने थियो,’ उनले भने ।

त्यसो त यो क्षेत्रमा शौचालय हुँदै नभएका होइनन् । बडिमालिका उक्लिने अघिल्लो दिन बसोबास गर्ने त्रिवेणी पाटनमा प्लास्टिकले बेरेका करिब ५० वटा अस्थायी शौचालय बनाइए पनि हुम्ला, कालीकोट, बाजुरा, अछामलगायत विभिन्न बाटो हुँदै त्रिवेणी पाटन आइपुगेका झन्डै १५ हजार यात्रीलाई पर्याप्त थिएन । हावाहुरीले गर्दा शौचालयका प्लास्टिक दिसा गरेको खाल्डोमा डुबेका देखिन्थे ।

त्रिवेणीधाममा नुहाइधुवाइ गरेर, पितृ पूजा गरेर बडिमालिका धाम उक्लिनुपर्छ भन्ने मान्यता छ । यसकारण बडिमालिका उक्लिने दिन बिहानै उठेर त्रिवेणीमा नुहाइधुवाइ गर्नेको भीड लाग्छ । आफैंले बोकेर लगेको टेन्टमा बसेको स्थानदेखि नुहाउने खोलासम्म (दुई सय मिटर दूरी) पुग्दा खुट्टा राख्नै नमिल्ने गरी दिसा भेटिएको मोरङबाट आएकी सलोनी भट्टराईले बताइन् । ‘बिहान ५ बजे उठेर नुहाउन खोला जाँदा किनार र पाटनका छेउ दिसाले भरिएका थिए । पवित्र तीर्थधाममा असरल्ल फोहोर देख्दा साह्रै दुःख लाग्यो,’ उनले भनिन् । त्रिवेणीधामको उक्त दृश्यले उनले पनि बडिमालिका उक्लिँदा खानेकुरा खान आँट गरिनन् । ‘चकलेट र पानीबाहेक केही खाएको छैन, पिसाब लागे बरु कतै छलिएर बस्न सकिन्छ, दिसा त गन्हाएर खपिनसक्नु हुन्छ,’ उनले सुनाइन् ।

यहाँ समस्या खानेपानीको पनि छ । मार्तडीबाट जाँदा बास बस्ने हरेक ठाउँमा मुहानबाट पानी लिएर आउन २० मिनेटदेखि एक घण्टासम्म लाग्छ । अन्यत्रभन्दा त्रिवेणी पाटनमा खोला नजिकै भए पनि भक्तजनहरूको नुहाइधुवाइ कार्य चलिरहेकैले सिधै ल्याएर पिउन सकिने अवस्था छैन । ‘सच्चा मनले माता रानीसँग मागेपछि पूरा भएको सुनेर पहिलो पटक आएको तर पैसा तिरेर पनि पानी पाइएन,’ कञ्चनपुरबाट आएकी कल्पना सिंहले त्रिवेणी पाटनको भेटमा दुखेसो पोखिन् । बडिमालिका धाममा पानीको मुहानसमेत छैन । किन्नलाई समेत पानी नपाएर ‘वेट पेपर’ ले अनुहार र हात पुछेर पूजा गर्नुपरेको बैतडीका सुमन भट्टले बताए ।

बडिमालिकाको चर्चा सुनेकी महेन्द्रनगरकी ७२ वर्षीया हीरादेवी पनेरु मालिका थान उक्लेर वरदान माग्ने सोचका साथ छोरासित बाटो लागेकी थिइन् । तर, मार्तडीमा गाडीबाट ओर्लेपछि सुरु भएको पैदल यात्राका उकाली–ओराली, अप्ठ्यारा र साँघुरा बाटा छिचोल्न बुढ्यौली उमेरलाई सहज भएन । ‘मेरा गाउँका सबै आएका छन्, चिताएको कुरा माताले दिएकी छन्, म पनि धेरै दुःखले आई हुँ,’ हात जोड्दै सुनाइन्, ‘उता (महेन्द्रनगर) बाट अर्को छोरो फोन गर्दै छ, आमा थन्किइन् कि मरिन् कि जिउँदै छिन् भनेर ।’ त्रिवेणीधाममा भेटिएकी उनी निकै दुःखकष्ट गर्दै घरबाट हिँडेको पाँच दिनमा यहाँ आइपुगेकी रहिछन् । उनकी भान्जेबुहारी ६५ वर्षीया तारादेवी बोहराले ज्येष्ठ नागरिकलाई सेवा सुविधा नभएकाले यात्रा कष्टकर भइरहेको बताइन् ।

‘खानेकुरा बोक, ओढ्ने ओछ्याउने सबै बोक, अप्ठ्यारा बाटा त देखिहाल्नुभयो । १० वर्षअघि पनि यस्तै दुःख पाया हौं,’ उनले भनिन्, ‘नसकेर केही बूढाबूढी फर्केर गया छन् । हामी बूढाबूढीका लागि सरकारबाट केही त्रिपाल, खानेकुरा राखिदिएको भए मेरो मन धेरै खुसी हुन्थ्यो,’ उनले भनिन्, ‘केही खान्छौ कि पानी पिउँछौ कि भनेर सोध्ने कोही छैन ।’

३ हजार ८ सय ६० मिटर उचाइमा रहेको त्रिवेणीधामसम्म पैदल यात्रा गरेपछि एक दिनमा बडिमालिका थान पुगिन्छ । अन्यत्रको तुलनामा यहाँ आफैंले लगेका टेन्ट र पाल टाँगेर सुत्ने ठाउँको भने समस्या छैन । तर त्रिवेणीधामदेखि बडिमालिका उक्लिसकेपछि समस्या सुरु भइहाल्छ । सम्म परेको ठाउँमा भने बाजुराका स्थानीय होटलवालाले केही दिनअघि नै कब्जा गरिसकेका रहेछन् । होटल भएको पालमा ओत लागेको एक रातको प्रतिव्यक्ति १ हजार शुल्क लिने गरिएको थियो । रातभर पानी र हावाहुरी चलेकाले एक झप्को पनि सुत्न नपाई रात कटेको कैलालीबाट आएका ६० वर्षीय धर्मराज घोडासैनीले बताए । ‘हामी १३ जनाको टोली आएका हौं, टेन्ट/पाल राख्न मिल्ने गरी जग्गा सम्याइदिएको थियो भने पनि हावापानी छल्न सजिलो हुन्थ्यो । भिरालो जमिनमा पानीको भलमाथि ब्युँझै रात कट्यो,’ उनले भने । बडिमालिका नगरपालिका–६ की ६० वर्षीया धौलीदेवी बडुवाल हालसम्म ६ पटक बडिमालिका उक्लिसकेकी छन् । तर कहिल्यै पनि व्यवस्थापनको पाटो नसुल्झिएको उनको गुनासो छ । ‘पानी छैन, शौचालय छैन,’ उनले भनिन्, ‘रातभर नसुतेरै बिहान भयो ।’

त्रिवेणीधाम र बडिमालिका थान बसाइका क्रममा खाना र पानीसमेत किनेर खान नपाएको तीर्थालुहरूको गुनासो छ । लम्कीका कलमबहादुर बुढाले भने, ‘त्रिवेणीमा खाना खान नपाएको मान्छेले मालिकामा पनि पाइएन, नाटेश्वरी आइपुगेर बल्ल खायौं ।’ त्रिवेणी पुगेको तेस्रो दिन मात्रै खाना पाएको उनले बताए ।

हरेक जनैपूर्णिमाका अवसरमा बडिमालिकामा लाग्ने मेला भर्न देश–विदेशबाट भक्तजनको घुइँचो लाग्छ । सामाजिक सञ्जालमा बडिमालिकाका फराकिला, हरिया पाटनहरू देखेर मन्त्रमुग्ध हुने र पुग्ने इच्छा राख्ने धेरै हुन्छन् तर खाने–बस्ने सहज व्यवस्था नहुँदा फर्कनेहरूसँग गुनासोबाहेक केही हुन्न ।

बडिमालिका थान पुग्ने बेला र भोलिपल्ट पूजा गरेर नाटेश्वरी मन्दिर झर्दै गर्दा भिराला पहाडबीचमा साँघुरो बाटो भएर हिँड्नुपर्छ । ती बाटाहरू चक्कर लागेर, लेक लागेर बर्सेनि तीर्थालुहरू बिरामी हुने र मृत्युसमेत हुने गरेको छ । ०७४ सालमा थान पुग्ने बेला लेक लागेर अछामको मेल्लेख–५ का वडाध्यक्ष रामबहादुर बोहराको बाटैमा मृत्यु भएको थियो । उनको शव चार दिनपछि मात्रै हेलिकोप्टरमार्फत उठाइएको थियो ।

बडिमालिका प्रचारप्रसार अभियानमा लागिरहेका पर्यटन अभियन्ता एवं साइकल यात्री भरत विक्रम शाह न्यूनतम पूर्वाधार विकास नगरेर प्राकृतिक छटाले भरिपूर्ण यस क्षेत्रको धार्मिक र पर्यटकीय सम्भावनालाई बेवास्ता गर्न नमिल्ने बताउँछन् । ‘यस्तो राम्रो ठाउँ छ तर गाँस, बास र कपासको न्यूनतम व्यवस्था नहुँदा बडिमालिकाको साख मात्रै गिर्दैन, स्थानीय अर्थतन्त्रमा पनि उत्तिकै असर पर्छ,’ उनले भने, ‘सरोकारवाला सबैले व्यवस्थापनतिर ध्यान दिनु जरुरी भइसकेको छ ।’

एकै पटक २५ हजार हाराहारीमा दर्शनार्थी आएका कारण खान–बस्नलगायत व्यवस्थापनमा समस्या भएको बडिमालिकाका पुजारी नेत्रराज पाध्यायले बताए ।

‘बडिमालिका मन्दिर र त्रिवेणी पाटन क्षेत्र त्रिवेणी नगरपालिकाभित्र पर्छ, व्यवस्थापनका लागि नगरले काम गर्नुपर्छ । स्रोतसाधन के कसरी जुटाउन सकिन्छ, त्यसमा सहकार्य गर्न सक्छौं,’ उनले भने, ‘यहाँको सरसफाइ र दर्शनार्थीको व्यवस्थापनका लागि नगरपालिकाले नै अपनत्व लिन जरुरी छ ।’

नगर प्रमुख कर्णबहादुर थापाले पनि व्यवस्थापन फितलो भएको स्वीकार गरे । ‘म नै बडिमालिकामा ९ दिन बसें, शौचालय, खानेपानीको व्यवस्थापन हुन सकेन,’ उनले भने, ‘धार्मिक पर्यटनका रूपमा बडिमालिकाको संरक्षण, फोहोर व्यवस्थापन, पानी र खाने–बस्ने व्यवस्थाका लागि संघीय सरकारसँग प्रस्ताव राख्छु । आउने वर्षदेखि बेलैमा व्यवस्थापन गर्छौं भन्ने मेरो प्रतिबद्धता छ ।’

प्रकाशित : भाद्र ३, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?