गठबन्धनको नाममा अपवित्र साँठगाँठ : ओली
बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावका लागि सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेको आरोप लगाएका छन् । उनले एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत नभएका कारण दलहरु अपवित्र साँठगाँठतर्फ लागेको बताए ।
गृहजिल्ला झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । ‘कमजोरहरु गठबन्धन गर्दैछन् । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन् । अपवित्र साँठगाँठको नाम हो, गठबन्धन । अहिले ८–१० वटा पुर्याउने भन्दैछन्,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने,‘अरु पनि मान्छे खोजे हुन्छ । त्यो गठबन्धनमा कति वटा पार्टी पुगे हामीलाई मतलब छैन । उनीहरुको गठबन्धनका पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन् ।’
उनले मंसिर ४ को चुनावमा एमालेले बहुमत ल्याउने गरी कार्यकर्तालाई परिचालन हुन निर्देशन दिए । ‘तपाईंहरु उच्च मनोबलका साथ जनताको घर जानुहोस् । जनताको घरघरमा गएर एमाले सरकारले गरेका कामहरुबारे जानकारी गराउनुहोस्,’ उनले भने,‘एमालेको लक्ष्य कम्तीमा बहुमत ल्याउने हो ।’
ओलीले संविधानले व्यवस्था गरेअनुरुप सबैलाई नागरिकता दिइने बताए । उनले भने,‘नागरिकताको चिन्ता नलिनुहोस् । नेपाल नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्नुपर्ने संविधानले अधिकार दिएका सबै नेपालीले नेपालको नागरिकता प्राप्त गर्छन् । त्यो प्राप्त गराउने काम एमालेको हो ।’
प्रकाशित : भाद्र २, २०७९ १७:०५