१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एकीकृत समाजवादीले तोक्यो उम्मेदवार छान्ने ८ मापदण्ड

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्नका लागि सिफारिस एवं छनोट गर्न ८ वटा मापदण्ड तय गरेको छ ।

एकीकृत समाजवादीले तोक्यो उम्मेदवार छान्ने ८ मापदण्ड

पार्टीका महासचिव बेदुराम भुसालले बिहीबार जारी गरेको विज्ञप्तिमा बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार सिफारिस एवं छनोट गर्नका लागि ८ वटा मापदण्ड तय गरेको उल्लेख गरिएको छ ।

तय गरिएका मापदण्डमा पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको; विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको; पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ; आर्थिक एवं नैतिक आचरण राम्रो रहेको; जनतामा स्थापित एवं लोकप्रिय; स्वच्छ छवि भएको र सुशासनको पक्षपाति; कार्यक्षमता राम्रो भएको र सक्रिय; समावेशीताको सिद्धान्तविपरीत नहुने प्रकृतिका व्यक्तिलाई उम्मेदवार बनाइने बताइएको छ ।

यसैगरी बैठकले आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रियासमेत तय गरेको छ । बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशस्तरीय निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने ७ बुँदे प्रक्रिया तय गरेको हो ।

यस्ता छन् उम्मेदवार सिफारिस एवं निर्णय गर्ने प्रक्रिया:

१. प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चार जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने । जिल्ला कमिटीले उक्त चार जनामध्येबाट कम्तीमा एक महिलासहित बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने । प्रदेश कमिटीले उक्त तीन जनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउने । केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भइआएका तीन जनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउन निर्णय गर्ने ।

२. प्रदेश सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चार जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने । जिल्ला कमिटीले उक्त चार जनामध्येबाट कम्तीमा एक महिलासहित बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने । प्रदेश कमिटीले उक्त तीन जनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउने । केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भइआएका तीन जनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउन निर्णय गर्ने ।

३. एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटीले नै प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्ने छ । यदि कुनै जिल्लामा निर्वान क्षेत्रीय समन्वय कमिटी नबनेको भए एक हप्ताभित्र उक्त कमिटी गठन गरी सिफारिससम्बन्धी काम गर्ने ।

४. विशेष प्रदेश र विशेष जिल्ला कमिटीले पनि समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्न सक्ने छन् ।

५. केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भइआएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी बन्दसूची तयार गर्ने ।

६. उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गर्ने ।

७. कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानविन गरी फैसला गर्ने ।

त्यस्तै‚ बैठकले उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने समयतालिकासमेत सार्वजनिक गरेको छ ।

प्रकाशित : भाद्र २, २०७९ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?