धरानका मेयरले सार्वजनिक गरे अहिलेसम्मका कामको सूची- समाचार - कान्तिपुर समाचार

धरानका मेयरले सार्वजनिक गरे अहिलेसम्मका कामको सूची

कान्तिपुर संवाददाता

काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले अहिलेसम्म आफूले गरेका कामको सूची सार्वजनिक गरेका छन् । '१०० दिनमा के गरिस्' भनेर प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले बुधबार १३ कामको सूची सार्वजनिक गरेका हुन् ।

सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै धरानको मेयरमा निर्वाचित राईले गत जेठ ९ गते शपथ लिएका थिए । बुधबार उनले शपथ लिएको ८७औं दिन हो । मेयर राईले अहिलेसम्म ४ ठाउँबाट खानेपानीको मुहान थपेको जानकारी दिएका छन् । त्यस्तै श्रमसंस्कृतिको क्रान्ति सुरु गरेको पनि उनको भनाइ छ ।

धरानमा खानेपानी मुहान बनाउन होस् वा वृक्षरोपण गर्न पछिल्लो समय हजारौँ मानिसको सहभागिता हुने गरेको छ । त्यस्तै उनले अहिलेसम्म ६ लाख विरुवा रोपेको पनि बताएका छन् । केही दिन काठमाडौं बसेर गएका मेयर राईले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रमदानका लागि निमन्त्रणा दिएको बताएका छन् । त्यस्तै उनले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन, अर्थमन्त्री जनार्दन शर्मालगायतका व्यक्तिलाई पनि भेटेका थिए ।

स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् ।

यस्ता छन् मेयर राईले उल्लेख गरेका काम

  • १. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरें !
  • २. ४ ठाउँबाट खानेपानीको मुहान थपें !
  • ३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
  • ४. ६ लाख विरुवा रोपें !
  • ५. सरसफाइमा देखिने सुधार ल्याएँ !
  • ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
  • ७. जलविद्युत्को सफल परीक्षण गरी बगरमा बत्ती बालें !
  • ८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन !
  • ९. लागूऔषधविरुद्धको अभियान सुरु गरें !
  • १०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
  • ११. पारदर्शी हिसाब किताब सार्वजनिक गरें !
  • १२. पालिकाका सेवामा तीव्रता र प्रस्टता ल्याइदिएँ !
  • १३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

प्रकाशित : भाद्र २, २०७९ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंको फोहोर ढुवानीमा संघ-संस्थाको सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — धेरै मात्रामा फोहोर थुप्रिएपछि उपत्यकाको फोहोर ढुवानीमा काठमाडौं महानगरपालिकालाई विभिन्न संघ-संस्थाहरूले सघाउने भएका छन् ।

महानगरपालिका र निजी क्षेत्रसँग भएका गाडीबाट ढुवानी गर्दा थुप्रिएको फोहोर हटाउन गर्न धेरै समय लाग्ने भएपछि महानगरले नेपाल टिपर तथा ट्रक व्यवसायी सं‌घसँग सहमति गरेको छ ।

मेयर बालेन शाहको सचिवालय सदस्य एवं फोहोर व्यवस्थापन हेर्दै आएका इन्जिनियर सुनिल लम्सालका अनुसार बिहीबार संघका २० वटा टिपरले फोहोर बोकेर बन्चरेडाँडातर्फ गएका छन् । उनका अनुसार ढुवानीमा लाग्ने इन्धन र चालक भत्ता महानगरपालिले बेहोर्ने सहमति भएको छ ।

यस्तै, विभिन्न कन्सट्रक्सन कम्पनीहरुले महानगरलाई नि:शुल्क रुपमा फोहोर ढुवानी गर्न सहयोग गर्ने भएका छन् । ती कम्पनीहरुले तेल र चालक भत्ता पनि नलिने गरी आफ्नै खर्चमा फोहोर ढुवानी गरिदिने प्रस्ताव गरेको लम्सालले जानकारी दिए । बिहीबार बन्चरेडाँडामा करिब ५० वटा टिपरले निःशुल्क रुपमा फोहोर ढुवानी गर्ने उनले बताए ।

यस्तै, अन्य संस्थाहरुले पनि थुप्रिएको फोहोर उठाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबारदेखि थप सय वटा टिपरले फोहोर ढुवानी गर्ने उनले बताए । हाल दैनिक रुपमा १८० वटा टिपरले फोहोर विसर्जन गर्दै आएका छन् ।

प्रकाशित : भाद्र २, २०७९ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×