पहिलेको जस्तो छैन, हाम्रो पार्टी धेरै नै बिग्रिएको छ : अध्यक्ष दाहाल- समाचार - कान्तिपुर समाचार

पहिलेको जस्तो छैन, हाम्रो पार्टी धेरै नै बिग्रिएको छ : अध्यक्ष दाहाल

'मुखले क्रान्तिकारी भयौँ, व्यवहारमा छैनौँ'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा विचलन देखापरेको बताएका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित  रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको बताएका हुन् । 

पार्टी पहिलाको जस्तो नरहेको उल्लेख गर्दै व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको दाहालको भनाइ छ । अध्यक्ष दाहालले सामूहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासोसमेत गरे ।

पार्टीका नेताहरूको मुखमा क्रान्तिकारी रहे पनि व्यवहार, आचरण, दैनिकीमा नरहेकाले पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको उनले बताए । ‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन । धेरै नै बिग्रेको छ । हामी अलिकति बिग्रेका छौँ भन्ने बाटोबाट नै सुरु गर्नुपर्ने ठान्छु म । हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ । स्वार्थी भएका छौँ,’ उनले भने ।

भनाइ र गराइमा धेरै नै फरक रहेको उल्लेख गर्दै उनले भने, ‘हामी विचार, कुरा, र मुखमा त अहिलेपनि क्रान्तिकारी नै छौँ तर हाम्रो व्यवहार, आचरण,दैनिकीसँग त्यो मिल्दैन । हाम्रा भनाइ र हाम्रा गराइ कति हो कति ठूलो अन्तर आइसकेको छ । यो अन्तरबिरोधलाई हल गर्ने आवश्यक्ता निकै ठूलो छ । यसलाई हलगर्न सकेनौँ भने हामीले क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुन्छ । केही समय यस्तै रहीराखे त्यसको औचित्य सिद्धिन्छ ।’

अध्यक्ष दाहालले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गरे । सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर पार्टीलाई सुदृढ बनाउनुपर्ने उनले बताए । पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता भएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २, २०७९ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

सहमतिपछि पनि बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडीहरुलाई स्थानीयले बिहीबार बिहानैदेखि अवरोध गरेका छन् । बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जन सम्बन्धमा ४ बुँदे सहमति भएको थियो ।

स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मनान्धरले जानकारी दिए । पार्किङ गरेर राखिएका फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीयलाई पक्राउ गरेको थियो । आरोपी एक जना स्थानीयलाई निःशर्त रिहाइको माग गर्दै उनीहरु आन्दोलित भएको मानन्धरले जानकारी दिए ।

बुधबार भएको ४ बुँदे सहमति पत्रमा सहमतिमा ७ दिनभित्रमा सबै टिपरहरुमा लिचेट नचुहिने व्यवस्था गर्ने, धुलो नियन्त्रण र दुर्गन्ध हटाउन औषधि छर्ने कामलाई प्रभावकारी बनाउने, प्रत्येक ३ दिनभित्र बञ्चरेडाँडा डम्पिङ साइटमा टेपिङ गर्ने काम गर्ने र आसन्‍न निर्वाचनमा अन्तर जिल्ला अपराध नियन्त्रणका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि समन्वय गर्ने भनिएको छ ।

सहमति पत्रमा पक्राउ परेकाहरुलाई छुटाउने विषय उल्लेख नभएपनि मौखिक रुपमा उनीहरुलाई छुटाउने प्रशासनले आश्वासन दिएपनि नुछटेपछि स्थानीय बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।

बिहीबार दिउँसो धानिङको नौबिसेमा बुधबार भएको सहमतिबारे स्थानीय र सरोकारवालाहरूलाई काठमाडौंका मेयरसहित अन्य पालिकाका जनप्रतिनिधिहरुबीच छलफल हुने तय भएको मानन्धरले जानकारी दिए ।

प्रकाशित : भाद्र २, २०७९ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×