सत्ता गठबन्धनको बैठक बस्दै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता गठबन्धनको बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि सिट बाँडफाँड र संसद‍्बाट नागरिकता विधेयक पारित गर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

दलहरुले निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरे पनि त्यसका लागि बनेको कार्यदलले अहिलेसम्म सिट बाँडफाँडको खाका तय गर्न सकेको छैन । बुधबार बसेको कार्यदलको बैठकमा नेताहरुले शीर्ष नेताहरुसँग छलफलपछि मात्रै निष्कर्षमा पुग्न सकिने भन्दै उठेका थिए ।

बिहीबारको बैठकमा कार्यदलका संयोजन कृष्णप्रसाद सिटौलाले कार्यदलमा भएको छलफलको विषय र प्रगतिबारे नेताहरुलाई जानकारी गराउने र त्यसबारे दलभित्र आन्तरिक छलफलपछि मात्रै निष्कर्षमा पुग्ने कार्यदलको तयारी छ ।

गठबन्धनले साउन २० मा सिटौला नेतृत्वमा पाँच दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदलले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीको परिणाम र स्थानीय तह निर्वाचन २०७९ को परिणामलाई आधार मानेर सिट बाँडफाँड गर्ने समझदारी गरेको छ ।

प्रकाशित : भाद्र २, २०७९ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्

गेटालाई चिकित्सा विश्वविद्यालय बनाउन सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना र सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ । चिकित्सा विश्वविद्यालयका रूपमा गेटालाई सञ्चालन गर्न सकिने आधार रहेको उपसमितिले औंल्याएको छ ।

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको भवन । तस्बिर : अर्जुन शाह/कान्तिपुर


उपसमितिले विश्वविद्यालय स्थापनाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिन समितिलाई आग्रह गरेको छ ।चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सञ्चालन गर्न गेटाको ९० प्रतिशत पूर्वाधार पूरा भएको र बाँकी पूर्वाधार निर्माणलाई तत्काल पूर्णता दिनुपर्ने उपसमितिको निष्कर्ष छ । पूर्वाधार निर्माण गर्न ५ अर्ब खर्च भइसकेको छ । गेटामा ३ सय शय्याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले डा. प्रमोद जोशीलाई निर्देशक नियुक्तिसमेत गरिसकेको छ ।

पछिल्लो समय गेटा मेडिकल कलेजलाई कुन मोडलमा सञ्चालन गर्ने भन्नेमा अन्योल छ । सरकारले मेडिकल कलेजका रूपमा सञ्चालन गर्ने भने पनि स्थानीय सरोकारवाला, जनप्रतिनिधि र स्थानीयले विश्वविद्यालयका रूपमा सञ्चालन गरिनुपर्ने माग राखेका छन् । अस्पतालको सेवा सुरु गर्न ४२ जना विशेषज्ञ डाक्टर, २४ जना मेडिकल अधिकृत, करिब २ सय स्टाफ नर्ससहित प्यारामेडिक्स र प्रशासनिक कर्मचारीको दरबन्दी माग गरिएको छ तर हाल ८ जना प्रशासनिक कर्मचारी मात्रै कार्यरत छन् ।

गेटामा ६ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्न पूर्वाधार बनिसकेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । २६ वटा आधुनिक भवन, १५० जना विद्यार्थी अट्ने कक्षाकोठा, लाइबेरी, छात्रावास, कुरुवा कक्ष, शव घर, अक्सिजन प्लान्ट भवन, लाउन्डी भवन, क्यान्टिन र प्रशासनिक भवन बनिसकेको उपसमितिले जनाएको छ । कञ्चनपुरका सांसद दीपकप्रकाश भट्टले गेटालाई विश्वविद्यालय बनाउन भन्दै प्रस्ताव पेस गरेपछि समितिको टोलीले स्थलगत अध्ययन गरेको थियो ।

सांसद योगेश भट्टराई, चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, अञ्चना विशंखे र नवीना लामाको टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो । सरकारले प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको छ । सरकारले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग विसं २०८० भित्र प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने सम्झौता गरेको थियो ।

२०७५ सालमा जारी चिकित्सा शिक्षा ऐनमा पनि उक्त सम्झौताअनुरूपकै लक्ष्य राखिएको छ । देशभर २५ मेडिकल कलेज सञ्चालनमा रहे पनि हालसम्म सुदूरपश्चिम प्रदेशमा एउटा पनि मेडिकल कलेज छैन । त्यहाँ मेडिकल कलेज स्थापना गर्न सरकारले २०६५ सालमा सम्भाव्यता अध्ययन गरेको थियो ।

२०६६ सालमा मेडिकल कलेज संरचना निर्माण विकास समिति गठन गरेर काम थालिएकामा २०७० देखि पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो । पछिल्लो समय सरकारले गेटालाई सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गर्ने र डडेलधुरामा समेत मेडिकल कलेज स्थापना गर्ने कार्यक्रम अघि सारेपछि अन्योल बढेको छ ।

प्रकाशित : भाद्र २, २०७९ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×