सितनमा अरिंगाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सितनमा अरिंगाल

शक्तिवर्द्धक भन्दै पहिले–पहिले सिकार गरी खाइने अरिंगाल अहिले होटल–रेस्टुरेन्टको मेनुसम्मै आइपुगेको छ
घनश्याम खड्का

म्याग्दी — अरिंगालले टोकेर मान्छेको ज्यानै गएका समाचार आइरहन्छन् । म्याग्दीमा भने अरिंगालको सितन मात्रै बन्दैन, यसको परिकार विदेशसम्म पुग्ने गरेको छ । यहाँका हरेकजसो होटल–रेस्टुरेन्टमा अरिंगालका लार्भाको विभिन्न आइटम खान पाइन्छ । फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट वयस्क अरिंगाल बन्छ ।

स्थानीयहरू लार्भा र प्युपा अवस्थाका अरिंगालको सिकार गर्छन् । ढाड दुखेको ओखती र शक्तिवर्धक मानिने भएकाले पहिलेपहिले अरिंगालको सिकार गरी खाने चलन थियो । परम्परागत सिकारीले अरिंगाल पोलेर ल्याउने र साथीभाइ मिलेर खाने चलन अहिले होटल–रेस्टुरेन्टको मेनुसम्मै आइपुगेको छ ।

म्याग्दीमा अरिंगालको व्यवसायीकरण एक दशकअघि महेन्द्र गुरुङले सुरु गरेका हुन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुक्साङ घर भएका उनी म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीमा चमेरे रेस्टुरेन्ट सञ्चालन गर्छन् । ‘२१ वर्षअघि मोटरबाटो थिएन । चमेरे भन्ने स्थानमा रेस्टुरेन्ट खोलेको थिएँ,’ गुरुङले विगत सम्झे, ‘मेरा अधिकांश ग्राहक खच्चड लिएर हिँड्ने थिए । त्यतिबेला रानीपौवा, बैसरीतिरका केही मान्छेले अरिंगाल पोलेर ल्याउँथे । हामी फ्राई गर्दिन्थ्यौं, उनीहरू मदिरासँग खान्थे ।’ पछि आफूले पनि चाख्दा स्वादिलो लागेपछि व्यावसायिक रूपमै बिक्री गर्न थालेको उनको भनाइ छ । ‘मान्छेहरू अरिंगाल पाइन्छ रे भन्दै आउन थालेपछि १० वर्षअघि मेन्युमै अरिंगाल आइटम पनि राखेको हुँ,’ उनले भने ।

होटल तथा रेस्टुरेन्ट व्यवसायमा लामो समयदेखि संलग्न बेनीकी सिर्जना भट्टचन टिकटक तथा सामाजिक सञ्जालमा ‘अरिंगालवाली’ भनेर चर्चामा छिन् । उनले चमेरे रेस्टुरेन्टमा अरिंगाल खोज्दै आउने ग्राहकको भीड देखेरै यसको सिको गरेकी हुन् । अरिंगालका लार्भा प्रतिकेजी पोलासहित ३ हजार र प्रतिप्लेट (सानो) ६ सय ५० रुपैयाँ पर्छ । गुरुङले वर्षमा एक क्विन्टलभन्दा बढी लार्भा बेच्ने गरेकी छन् । अहिले म्याग्दीका प्रायः सबै होटल/रेस्टुरेन्टमा धेरथोर अरिंगालका परिकार पाइन्छन् । आफ्ना ग्राहक थेग्न पनि उनीहरू खोजीखोजी अरिंगाल झिकाउँछन् । महँगो भएकाले यसको ग्राहक अलि पैसावाला हुने व्यवसायी बताउँछन् ।

गुरुङको रेस्टुरेन्टमा कास्कीको मर्दीखोला क्षेत्र, स्याङ्जाको रंगेठाँटी/सेतीदोभान, पर्वतको कुस्मा, फलेबास, कार्कीनेटाबाट अरिंगालको गोला बेच्न ल्याउँछन् । पर्वत, स्याङ्जातिर अरिंगाल खाने र सिकार गर्ने चलन छैन । ‘खेत र बारीका रूखमा अरिंगालले गोला लगाउने र नजिकै खेती लगाउन जाँदा टोक्ने गरेपछि स्थानीयले पैसा दिएरै अरिंगाल पोल्न बोलाउँछन्,’ रघुगंगा–३ का अरिंगाल सिकारी प्रदीप विकले भने, ‘गोला छ रे भन्ने खबर पाएपछि अघिल्लो दिन जान्छौं । पोल्न मिल्ने ठाउँमा रहेछ भने साँझ लामा बाँसका भाटा, मट्टीतेल, पोल्ने कपडा र बोरा व्यवस्था गर्छौं अनि राति पोल्छौं । गाडी पाए राति नै नपाए भोलिपल्ट बिहानै फर्कन्छौं ।’ उनका अनुसार मान्छे र गाईबस्तुलाई टोकेर हैरान भएका स्थानीयले कालो अरिंगाल पोलेबापत खानासहित ३–४ हजार नै दिएर पठाउँछन् ।

सुरुमा एउटा अरिंगालले रूखका हाँगा, घरका भित्ता वा भीरमा आफू मात्र बस्ने सानो चाका बनाई बढीमा ३–५ वटासम्म फुल पारी रूखका बोक्राको धूलोको लेप बनाई टाल्ने गर्छ । सो चाकाबाट १५–२० दिनमा लार्भा र प्युपा हुँदै वयस्क बन्छ । यसरी संख्या थपिँदै जाँदा गोलाको आकार पनि ठूलो देखिन्छ । जति ठूलो गोला उत्ति धेरै अरिंगाल । अरिंगालले अन्डाकार गोलाभित्र पत्रपत्र थालीजस्ता चाका बनाउँछन् । प्रायः अरिंगाल एक वर्षमा एउटा गोलामा मात्रै बस्छन् । ‘एउटा गोलामा एउटा अरूभन्दा ठूलो माउ अरिङ्गाल र ८–१० वटा डल्लो, कालो आकारका भाले हुन्छन्,’ रघुगंगा–३ पिप्लेका सिकारी अर्जुन विकले भने, ‘भाले अरिंगाल तान्दा रबरजस्तै तन्कन्छ । खान हुन्छ कि हुँदैन थाहा छैन । हेर्दा कालो र तन्कने भएकाले खानामा मिसाउँदैनौं, फाल्छौं ।’

सिकारी किरा पछ्याउँदै सिकारी

सिकारी किरा मानिने अरिंगालले मौरी, झिँगादेखि साना किरा र सिनोसमेत खान्छन् । घरमा सुकुटी बनाउन सुकाएको मासुसमेत अरिंगालले टुक्रा पारेर लैजान्छन् । समूहमा बस्ने विषालु मांसाहारी अरिंगाल जमिनमुनि र अग्ला रूखका हाँगामा गोलो बनाएर बस्छन् । सिकारीसँग यसको गोलो पत्ता लगाउने रैथाने तरिका छन् । कसैले सुकाएको सुकुटी खान आएका अरिंगाल कुन दिशातिर उडे भनेर पछ्याउँछन् र गोलोको पहिचान गर्छन् । कतिले भने खेतबारी र जंगलमा गोला खोज्दै हिँड्छन् । ‘गोला सानो रहेछ भने निगरानीमा राख्छौं र ठूलो भएपछि पोल्छौं,’ सिकारी अर्जुन विकले भने । सोमबार साँझमात्र उनी पर्वतको मल्लाज क्षेत्रबाट अरिंगालको गोला पोलेर बेच्न चमेरे रेस्टुरेन्ट आइपुगेका थिए ।

गोला पोलेर निकाल्नु सजिलो काम भने होइन । लामा बाँस वा भाटाको टुप्पोमा जल्ने खालका कपडा वा जुटका बोरा बाँधेर मट्टीतेलमा चोपलेपछि गोला लगेर आगो लगाइन्छ । वयस्क अरिंगाल बाहिर निस्कन्छन् र आगोमा परी मर्छन् । त्यसपछि गोला झारेर घर लगिन्छ । सजिलो र होचो स्थानमा लाटा अरिंगालका गोला रहेछन् भने सिकारीले बोरामा गोला हाल्छन् र तातोपानी खन्याएर गोला फोडेर लार्भा निकाल्छन् । लार्भालाई तेल वा घिउमा मरमसला राखी फ्राई गरिन्छ । ‘अरिंगालको स्वादमा पल्केकाहरूले विदेशबाट पनि मगाउँछन् । घर बिदाबाट फर्कने बेलामा कतिले लैजान्छन्,’ चमेरे रेस्टुरेन्टका गुरुङले भने, ‘आइतबार मात्र ५ केजी फ्राई अरिंगाल एक जनाले यूके लगे । अरिंगाल नै नहुने र कहिल्यै नचाखेका मुस्ताङ्गीले पनि हिजोआज अर्डर गर्न थालेका छन् ।’

अरिंगालको सिकार गर्ने चलन धेरै पुरानो हो । विशेषगरी मगर समुदायले सिकार गर्थे । हिजोआज सबै जातिका मानिस सिकार गर्न माहिर छन् । सिकारीहरूका अनुसार अरिंगाल दुई प्रकारका हुन्छन्, कालो र रातो । रातोले गोलामा पुग्दा र चलाउँदा पनि हत्तपत्त टोक्दैनन् तर कालो बढी रिसाहा हुन्छन् । गोलाको नजिक मात्र होइन वरपर पुग्दा पनि आक्रमण गर्न आउँछन् । ८–१० वटासम्म रातोले टोक्दा मान्छे मर्दैन तर ६–८ वटा कालोले टोक्यो भने ज्यानै जान सक्छ । अरिंगाल प्रजातिकै अच्छिउँ, बच्छ्युँले भने खरबारी, पर्खालका टोड्का, कान्ला र ढुंगाका कापमा गोला बनाउँछन् ।

अरिंगाल मध्य असारदेखि मंसिरसम्म झार्ने गरिन्छ । गोला पोलेपछि बाहिरी कुट जलेर नष्ट भएपछि भित्र पोलामात्र बाँकी रहन्छ । पोलालाई घरमा ल्याएर भित्रका लार्भा र प्युपा झिकिन्छ । स्थानीयहरू यसलाई अरिंगालका बच्चा भन्छन् ।

हाड जोर्नी दुख्ने खासगरी नसासम्बन्धी समस्या भएकाले र यौनदुर्बलता भएकाले अरिंगाल खोजीखोजी खान्छन् । धेरै खाए शरीरमा ताप बढाउने स्थानीयको अनुभव छ । ‘एक प्लेट फ्राई खाने हो भने दोस्रो दिन फरक अनुभव हुन्छ । धेरै खाए गर्मी बनाउँछ, सर्दी शरीर भएकालाई अझ राम्रो हुन्छ,’ अरिंगाल पारखी यातायात व्यवसायी मोहन केसीले भने, ‘महँगो भए पनि खोजीखोजी खान्छु ।’

विषादीको प्रयोग

हिजोआज अरिंगाल सिकार गर्न विषादीको पनि प्रयोग हुन थालेको छ । नाम सार्वजनिक गर्न नचाहने एक सिकारीले तरकारीमा किरा मार्न प्रयोग हुने विषादीको झोलमा स–साना कपडाको टुक्रा भिजाएर त्यसलाई गुच्चामा बेरी बेरेर गोलामा गुलेलीले हान्ने गरिन्छ । विषादीसहितको कपडा बेरिएको गुच्चा गोलाभित्र पसेपछि त्यसको गन्धले ६–८ घण्टामा माउ भाग्छन्, सबै लार्भा मर्छन् । त्यसपछि सिकारीले सजिलै गोला झिकेर बजारमा पुर्‍याउँछन् । यसरी मारेका लार्भा फुलेर ठूला तर च्याम्टी परेका हुन्छन् । खाँदा अन्यको भन्दा कम स्वादिलो हुन्छ । जसलाई पारखीले स्वाद छुट्याउन सक्छन् ।

अरिंगालका लार्भा बजारमा खुल्ला र छ्यापछ्याप्ती बिक्री भए पनि कानुनी रूपमा भने अरिंगाल मार्न र यसको गुँड भत्काउन पाइँदैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को पाँचौं संशोधन ०७४ को दफा २६ को उपदफा ६ मा गोली, पासो वा अन्य मार्ने, वन्यजन्तु एवं चराचुरुंगीको फुल, गुँड झिक्ने, मार्ने वा नष्ट गर्ने काम गर्नेलाई बिगोअनुसार २० हजार जरिवाना वा ६ महिना कैद वा दुवै हुन सक्ने भनिएको छ ।

‘धर्तीका हरेक जीव पारिस्थितिक प्रणालीका अंग हुन् । अरिंगालले परागसेचन गराउन र फोहोरमा हुने झिँगा तथा बालीनालीका हानिकारक किरा खाएर वातावरण सफा राख्न मद्दत गर्छन् । कानुनले यी सबै वन्य जीवजन्तु मार्न प्रतिबन्ध लगाएको छ,’ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षत्रीले भने, ‘विषालु र रिसाहा स्वभावका अरिंगाललाई मानिस मन पराउँदैनन् । पोल्छन्, मार्छन् र खान्छन् । तर कानुनले मार्न वर्जित गरेको छ ।’

प्रकाशित : भाद्र २, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्

एमालेले नागरिकता विधेयकमा सहमति गरौं भन्दा कांग्रेसको जोड- पारित गर्न विलम्ब नगरौं

'तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश र यो नागरिकता विधेयकका व्यवस्था एउटै छन् । तर राष्ट्रपतिले अध्यादेश रोक्नुभएन तर विधेयक रोक्नुभयो । राष्ट्रपतिले पार्टीको लाइन लिनुभयो । यसलाई जस्ताको तस्तै पारित गरौं'- प्रमोद साह, जसपाका प्रमुख सचेतक
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकको छलफल प्रतिनिधिसभामा कसरी गर्ने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा नागरिकता विधेयकलाई कसरी अगाडि बढाउने भन्नेबारे संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले कुरा राखिरहेका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्थाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले नागरिकता विधेयकमा सबै राजनीतिक दलहरूबीच सहमति हुनुपर्ने प्रस्ताव राखेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिले फिर्ता गरेको नगारिकता विधेयकका विषयमा सबै दलहरूबीच सहमति गरेर अगाडि बढाउनुपर्ने सुझाव राखेका छन् । 'नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गर्नुभएपछि यसमा सबै दलहरूबीच सहमति गरेर अगाडि बढाऔं,' भट्टराईको भनाइ उल्लेख गर्दै एक सहभागीले भने ।

जवाफमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसकी प्रमुख सचेतक चित्रलेखा यादवले भने नागरिकता विधेयक पारित गर्नमा ढिलाइ गर्न नहुने बताएकी छन् । उनले भनिन्, 'नागरिकता विधेयक पारित गर्नमा ढिलाइ भइसकेको छ । यसमा अब संसद्बाट पास गर्न विलम्ब नगरौं ।'

सरकारमै रहेको माओवादी केन्द्रले भने सहमतिको सम्भावना खुला राखेर नागरिकता विधेयक अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, 'सहमति र समझदारीको ढोका खुला राखेर नागरिकता विधेयक अगाडि बढाऔं।

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधिहरूले भने नागरिकता विधेयकलाई जस्ताको तस्तै प्रतिनिधिसभाको बिहीबारको बैठकबाटै पारित गर्नुपर्ने धारणा राखेका छन् । जसापका प्रमुख सचेतक प्रमोद साहले भने, 'पुनर्विचारको लागि राष्ट्रपतिले फिर्ता पठाउनु भनेको नागरिकता विधेयक रोक्नुपर्छ भन्ने हो । तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश र यो नागरिकता विधेयकका व्यवस्था एउटै छन् । तर राष्ट्रपतिले अध्यादेश रोक्नुभएन तर विधेयक रोक्नुभयो । राष्ट्रपतिले पार्टीको लाइन लिनुभयो । यसलाई जस्ताको तस्तै पारित गरौं ।'

लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया र एकीकृत समाजवादीका प्रतिनिधिले पनि नागरिकता विधेयक तत्काल पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्ने बताएका छन् ।

राष्ट्रपति भण्डारीले ‘पुनर्विचार गर्न’ भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयकलाई पारित गर्ने कार्यसूची बिहीबारका लागि राखिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने सम्भावित कार्यसूची बुधबार नै सार्वजनिक भएको छ ।

प्रतिनिधिसभाको बैठक ११ बजे बस्दैछ । बैठकमा गृहमन्त्री खाँणले ‘सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भनी पहिलो प्रस्ताव राख्नेछन् । प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नेछन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए । राष्ट्रपति भण्डारीले साउन २९ गते आइतबार संसद्मै फिर्ता गरिदिएकी थिइन् । प्रमुख प्रतिपक्षी एमालेले विधेयकको विरोध गरिरहँदा राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी फर्काइदिएपछि सत्तारूढ गठबन्धनका नेताले राष्ट्रपतिले आफू पहिले आबद्ध रहेको एमालेको पक्षमा काम गरेको भन्दै विरोध गरेका छन् । गठबन्धनले संघीय संसद्का दुवै सदनबाट जस्ताको त्यस्तै विधेयक पारित गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ । सदनमा सत्ता गठबन्धनको बहुमत भएकाले बिहीबारको बैठकबाटै नागरिकता विधेयक पारित हुनेछ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट विधेयक पारित भएर गएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : भाद्र २, २०७९ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×