अरिंगाल : गुनी कि बैगुनी ?

मौरीले विशेष गरेर परागसेचनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अरिंगाल/बारुला चाहिँ किरा–फट्यांग्रा खाएर खेतीपातीमा सघाउँछन् । बालीमा लाग्ने किरा खाएर किट नियन्त्रणको काम अरिंगालले गर्छन् ।
गोविन्द पोखरेल

काठमाडौँ — मौरी सम्झनेहरू मह चाखेको कल्पना गर्छन्, मुख मिठ्याउँछन् । अरिंगाल सम्झनेहरूलाई त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । अरिंगाल थुप्रै थरीका छन् । आफूलाई असुरक्षा आभास हुनेबित्तिकै अगाडिका प्राणीमाथि जाइ लाग्ने अरिंगालबाट जोगिन नसके ज्यानै जान सक्छ ।

अरिंगाल : गुनी कि बैगुनी ?

गत साउन ७ मा सल्यानको शारदा–१ दारिमचौरमा २६ वर्षीय कृष्ण थापाको अरिंगालको टोकाइबाट मृत्यु भयो । आँप टिप्न रूखमा चढ्दा उनलाई अरिंगालले चिलेका थिए । उपचारार्थ नेपालगन्ज लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसअघि गोठाला जाँदा अरिंगालले चिलेर कालीमाटी–४ का ७ वर्षीय बालक देवदर्शन रानाको मृत्यु भएको थियो ।

साउन १९ मा रुकुम पश्चिमको त्रिवेणी–१ का ३८ वर्षीय सुवर्ण सुनारको मृत्युको कारण अरिंगालको टोकाइ थियो । स्थानीय उपचारले निको नभएपछि उनलाई नेपालगन्ज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई ५३ ठाउँमा चिलेको पाइएको थियो ।

गत शनिबार तनहुँको छाङपाटनका ३१ वर्षीय टोपबहादुर कुमालको अरिंगालको टोकाइबाट मृत्यु भयो । नदी किनारको सिसौ रूखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा गत बिहीबार उनलाई धेरैवटाले चिलेका थिए । पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो । अरिंगालको टोकाइबाट घाइतेका समाचार धेरै नआए पनि मृत्यु भएका खबर सञ्चारमाध्यममा आइरहन्छन् ।

महाराजगन्जको त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सकले गरेको एक अनुसन्धानले अरिंगालको टोकाइबाट घाइते हुनेमध्ये २५ प्रतिशत मानिसहरूको मृत्यु हुने गरेको देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को जर्नलमा प्रकाशित एमआर सिग्देल र केबी राउतको अनुसन्धानमा अस्पताल भर्ना भएका १८ जना बिरामीमध्ये २५ प्रतिशतको मृत्यु भएको छ । तीमध्ये १३ जना कृषक थिए भने अधिकांश दुर्गम गाउँका थिए ।

अरिंगालको टोकाइबाट भएका घटना अगस्टदेखि नोभेम्बरसम्म रहेको पाइएको थियो । यस्तै, उनीहरूमा वान्ता आउने, रेड युरिन, जन्डिस, पिसाब रोकिने जस्ता लक्षण देखिने गरेको पाइएको थियो । ‘ओलिगुरिया’को समस्या टोकाइ भएको ४८ घण्टामा देखिने गरेको पाइएको थियो । यस्तै, ५० प्रतिशत बिरामीलाई रगत आवश्यक पर्ने अनुसन्धानमा उल्लेख छ । बिरामीमा रातो रक्त कोषिका मर्ने र क्षति हुने गरेको पाइएको थियो । अरिंगालको टोकाइबाट पिसाब प्रणालीमा पनि समस्या गर्ने हुँदा मिर्गौलाले काम नगर्ने जस्ता समस्या देखिने पाइएको थियो ।

सन् २०१८ मा इकोलोजिकल इन्टोमोलोजी जर्नलमा ‘हामी किन मौरीलाई माया र अरिंगाललाई घृणा गर्छौं’ भन्ने एउटा अनुसन्धानात्मक आलेख थियो । सेइरिन सम्नर, जर्जिया ल र अलसान्ड्रो सिनीको संयुक्त रूपमा प्रकाशित उक्त आलेखले मौरी र बारुला प्रकृतिमा खेल्ने भूमिका समान छ भनेको छ । बिरुवालाई परागसेचनमा सघाउँछन् । मौरीले विशेष गरेर परागसेचनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अरिंगाल/बारुला चाहिँ किरा–फट्यांग्रा खाएर खेतीपातीमा सघाउँछन् । बालीमा लाग्ने किरा खाएर किट नियन्त्रणको काम अरिंगालले गर्ने उक्त रिपोर्टमा छ ।

उक्त अनुसन्धानले ४५ देशका ७ सय ५० जना मानिसहरूमा गरेको सर्वेक्षणमा सहभागीले अरिंगाल भन्नेबित्तिकै उनीहरूको टोक्ने (खिल), रिस उठ्दो र खतरनाक किरा सम्झिए भने मौरी भन्नेबित्तिकै मह र परागसेचन सम्झिएको उल्लेख छ । त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभागका सहप्राध्यापक किटविज्ञ दयाराम भुसालका अनुसार अरिंगालहरू विशेषतः जंगलमा बस्ने स्वभावका हुन्छन् । घरहरूमा भए पनि कुनाकाप्चामा गोला बनाएर बस्छन् । उनीहरू मौरी जस्ता हुँदैनन् । अरिंगाल/बारुलाहरू आफूलाई चाहिने सीमित मात्रामा मह उत्पादन गर्छन् ।

अरिंगाल/बारुलाहरूको जीउको माथिल्लो र पछाडिको भागलाई साँघुरिएको कम्मर (पिटियोल) ले छुट्याउँछ । मौरीभन्दा अरिंगाल ठूला हुन्छन् । पातलो पखेटाको मद्दतले टाढाटाढासम्म जान सक्छन् । ‘अरिंगालले मौरी पनि खान्छ, अन्य किराहरू पनि खाइदिन्छ,’ भुसाल भन्छन्, ‘मौरीहरू परागसेचनसँग बढी सम्बन्धित भए, अरिंगाल भने परागसेचनका सहयोगी र हिंस्रक दुवै छन् ।’

दुवै उस्तै भए पनि टोकाइ फरक हुने बताउँछन् भुसाल । मौरीले एक पटकमात्रै टोक्छ, जुन उसका लागि हानिकारक हुन्छ । कारण खिलसँगै मौरीको पाचन प्रणालीको केही भाग नसा छाड्ने गर्छ । एब्डोमिन रप्चरका लागि मौरी मर्छ । अरिंगाल/बारुलाले पटकपटक टोक्ने गर्छन्, जसका कारण मानिसलाई विभिन्न प्रकारको दुष्प्रभाव पर्छ । एकै पटक धेरै प्रकारको एलर्जीको सामना गर्नुपर्ने भएकाले मानिसले प्रतिरोध गर्न नसक्ने अवस्था हुने अनुसन्धानहरूमा देखाइएको छ । अरिंगाल केही समूहमा बस्ने र केही एक्लै पनि हिँड्ने खालको हुन्छन् । मौरी तथा अरिंगालका खिलमा विशेषगरी मेलिटिन र एपामिन हुन्छन् ।

मेलिटिन एउटा विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने, एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएका छन् । बारुला/अरिंगालहरूमा फोसपोफोलिएज–ए,बी, अर्लाम फोरोमोन्स, ह्यालारोनिडेज, एमसीडी पेप्टाइड, वास्प काइनिन, हिस्टामाइन, सेरोटोनिन, डोपामाइन जस्ता कम्पाउन्डहरू पाइन्छन् । टोक्दा मान्छेलाई तत्काल दुष्प्रभाव हुन्छ । संसारमा १७ हजार प्रजातिका मौरी पहिचान भएका छन् ।

नेपालमा ६ प्रजाति पाइन्छन्, जसमा ४ रैथाने हुन् । नेपालमा बारुला/अरिंगाल भने ११ प्रजाति पाइन्छन् । यी प्रजाति मनसुनदेखि डिसेम्बरसम्म सक्रिय हुने त्रिवि जीवविज्ञान विभागबाट गंगा काफ्लेले गरेको शोधपत्रमा उल्लेख छ ।

प्रकाशित : भाद्र २, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?