मुस्ताङमा पहिलो शल्यक्रिया

४८ वर्षअघि खुलेको जिल्ला अस्पतालले अब प्रसूति शल्यक्रियामात्र होइन, हाडजोर्नी, एपेन्डिसाइटिस, हाइड्रोसिल, ठूला घाउ चिरफारलगायत सेवा दिने 
लालप्रसाद शर्मा

पोखरा — न सडक राम्रो छ, न त यतिबेला मुस्ताङमा जहाजै चलेको छ । श्रीमती अनितालाई सुत्केरी बेथाले च्यापेपछि एम्बुलेन्समा पोखरा लैजानुको विकल्प थिएन मुस्ताङको थासाङ–३ लेते कालोपानीका मनीष परियारसँग । गर्भवती भएको ५ महिनापछि अनिताले जिल्ला अस्पताल मुस्ताङमा नियमित गर्भ जाँच गराइरहेकी थिइन् ।

मुस्ताङमा पहिलो शल्यक्रिया

डा. कुन्दन कर्ण (एमडीजीपी) ले ‘अब यहीं सुत्केरी गराउनुपर्छ पोखरा जानु पर्दैन, अप्रेसनै गर्नुपरे पनि यहीं गर्छौं’ भनिरहेका थिए । परियार दम्पतीले उनलाई विश्वास गरे । अनिताले शल्यक्रियाबाट छोरो जन्माइन् । दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

अनितालाई आइतबार भर्ना गरिएको थियो । चिकित्सकले दिएको मितिभन्दा दुई दिनपछि मंगलबार मात्र बेथाले च्याप्यो । बच्चालाई सालले बेरेको यकिन भएपछि चिकित्सकले शल्यक्रिया गर्ने निर्णय लिए । डा. कर्णको नेतृत्वमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विशाल तिवारी, डा. राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तीमगर तथा सहयोगी सनिलाल परियारको टिम शल्यक्रियामा खटियो ।

बुधबार बिहान ६ बजेर ३६ मिनेटमा २४ वर्षीया अनिताले शल्यक्रियापछि २ किलो ८ सय ग्रामको छोरो जन्माइन् । ‘आफ्नै जिल्लामा सेवा पाउँदा खुसी नहुने कुरै भएन,’ मनीषले भने, ‘जिल्लामा सेवा उपलब्ध नभएको भए पोखरा जानुको विकल्प थिएन । समय र पैसाको बचत पनि भयो ।’ वास्तवमै अस्पताल सुरु भएको ४८ वर्षपछि पहिलोपल्ट शल्यक्रिया सेवाको थालनी भयो ।

निमित्त मेसु डा. तिवारीका अनुसार अस्पतालको इतिहासमा यो नै पहिलो शल्यक्रिया हो । अस्पताल सामान्य खालको भए पनि शल्यक्रियाका लागि केही वर्षदेखि पहल भइरहेको थियो । एक वर्षअघि अस्पतालले संघीय स्वास्थ्य मन्त्रालयमा सहयोगका लागि पत्र पठाएपछि सम्भावनाबारे अध्ययन सुरु भयो । गत माघमा निमित्त मेसुका रूपमा डा. तिवारी स्थायी नियुक्ति लिएर अस्पताल आए । लगत्तै संघीय स्वास्थ्य मन्त्रालयमा मौखिक कुरा राखे । बजेटको सुनिश्चितता पनि भयो । चैत अन्तिम साता गण्डकी प्रदेशमा आएको ७९ लाख बजेट प्रदेशले वैशाख अन्तिममा अस्पताललाई पठाइदियो । आकस्मिक प्रसूति शल्यक्रिया सेवा कार्यक्रममार्फत बजेट आएपछि दुई महिना लगाएर उपकरण तयार गरिएको डा.तिवारीले बताए । ‘त्यसैको परिणाम बुधबार प्रसूति शल्यक्रिया गर्न सफल भयौं, यो सेवाले अब निरन्तरता पाउनेछ,’ उनले भने । तिवारीका अनुसार अबदेखि हाडजोर्नी, एपेन्डिसाइटिस, हाइड्रोसिल, ठूला घाउ चिरफारलगायत सामान्य खालका सबै शल्यक्रिया सेवा दिइनेछ ।

दुर्गम ठाउँ भएकाले सरकारी सेवासुविधामा मात्र जोकोही चिकित्सक आउन नमान्ने समस्या पनि देखिन सक्ने उनी बताउँछन् । ‘यसका लागि संघ र प्रदेश सरकारबाट आवश्यक सहयोगको निरन्तरता हुनुपर्छ,’ उनले भने, ‘संघीय मन्त्रालयबाट निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त भएकाले पनि सेवा नरोकिने विश्वास भने छ ।’ एक जना कन्सल्टेन्ट, प्रसूति रोग विशेषज्ञ वा एमजीडीपी, एक एनेस्थेसिया सहायक, २ तालिमप्राप्त नर्स भएमा सेवालाई निरन्तरता दिन समस्या नहुने उनको भनाइ छ । आवश्यक परे अरू जनशक्ति राख्न सकिने गरी संघीय सरकारले यसवर्ष ४० लाख बजेट शल्यक्रिया जनशक्ति व्यवस्थापनका लागि पठाएको छ ।

अस्पतालमा दरबन्दी १८ जनाको भए पनि २७ जना कार्यरत छन्, त्यसमा १२ मात्रै स्थायी छन् । अन्य छात्रवृत्ति करार र करारका हुन् । डा. कर्ण र दुई मेडिकल अधिकृत छात्रवृत्ति करारमा आएका हुन् । कर्णलाई मुस्ताङमै राख्ने भन्दै जिल्लाका सबै ५ वटै पालिकाले प्रोत्साहनस्वरूप रकम थप्ने निर्णय गरेका थिए । गत पुसमा गरिएको निर्णय अहिलेसम्म कार्यान्वयन भने नभएको अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेश सांसद चन्द्रमोहन गौचनले मुस्ताङवासीको लामो समयदेखिको सपना पूरा भएको बताए । ‘सामान्य प्रकारका शल्यक्रियाका लागि पोखरा र काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘जिल्लावासीलाई ठूलो राहत मिलेको छ । यसलाई निरन्तरता दिनुको विकल्प छैन ।’ एमजीडीपी डाक्टरका लागि पालिकाले अब सहयोग उपलब्ध गराउने उनको भनाइ छ । ‘सबै सरकारले यसको दिगोपनाका लागि आवश्यक पहलकदमी लिनुपर्छ,’ उनले भने । २०३१ सालमा स्थापना भएको अस्पताल २०७५ देखि गण्डकी प्रदेश सरकार मातहत २५ बेड क्षमतामा सञ्चालित छ ।

प्रकाशित : भाद्र २, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?