३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

माओवादी-नेकपा (एस) एकता चुनाव अघि कि पछि ?

काठमाडौँ — नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता प्रक्रिया सुरु भएको छ । एकीकृत समाजवादीले सचिवालयको बुधबार सम्पन्न बैठकले एकता संयोजन समिति गठन गर्ने निर्णय गरेसँगै दुवै पार्टीबीच एकता प्रक्रिया सुरु भएको हो । एकीकृत समाजवादी महासचिव बेदुराम भुसालले मंसिरमा हुने आमनिर्वाचनपछि एकता गर्ने गरी प्रक्रिया सुरु गरेको बताए । 

माओवादी-नेकपा (एस) एकता चुनाव अघि कि पछि ?

'यस विषयमा माओवादीले पहिले नै निर्णय गरिसकेको थियो । हामी ढिलो भयौं । हामीले पार्टी एकता प्रक्रियालाई अघि बढाउने निर्णय गरेका छौं । मुख्य काम भने चुनाव हुने तर त्यसबीचमा पनि छलफलहरु हुने छन्,' भुसालले भने, 'तर चुनावअघि एकतामा पुग्ने संभावना त्यति देखिँदैन ।'

भुसालले पार्टीको सिद्धान्त, कार्यक्रम के हुन्छ, कार्यनीति के हुने, संगठनात्मक संरचना कस्तो हुने, कार्यक्रम, रणनीति के हुन्छ भन्ने सहितका तमाम विषयमा छलफल हुन बाँकी रहेको बताए । 'नेतृत्वको स्वरुप कस्तो हुने भन्ने विषय रहेको छ । धेरै विषयमा छलफल गर्न बाँकी रहेको छ,' भुसालले भने, 'नेकपा एमाले र माओवादी केन्द्रबीच पनि पहिले एकता गर्ने निर्णय गरेको र पछि एकता भएको हो ।'

भुसालका अनुसार अहिले चुनावमा केन्द्रित भएर लाग्ने छ । 'बीचबीचमा दुवै दलबीच छलफल पनि हुनेछ । एमाले र माओवादी केन्द्रबीच एकतामा पुग्नका लागि चुनावपछि ३-४ महिना लागेको थियो,' भुसालले भने ।

एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई एकता संयोजन समितिमा बस्न आग्रह गरिएको उपमहासिचव गंगालाल तुलाधारले बताए । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपाललाई एकता संयोजन समितिको अध्यक्ष बनाउने बताएका थिए ।

गत वर्षको भदौ ९ गते एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादीले मान्यता प्राप्त गरेको थियो । त्यसै दिन कम्युनिष्ट पार्टीहरुबीच बृहत् एकताका लागि काम गर्ने घोषणा गरेको थियो ।

महासचिव भुसालले माओवादी केन्द्र र एमालेबीचको एकतामा भएको असफलताबाट शिक्षा लिँदै एकता प्रक्रियालाई अघि बढाउने बताएका थिए । 'अहिले तुरुन्तै एकता गरौंला र धेरै दिन नचल्ला । त्यस्तो अवस्थामा नआओस् र राम्रो आधारहरु तय गरेर गर्नुपर्छ,' भुसालले भने ।

यो पनि

प्रकाशित : भाद्र १, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?