लमजुङमा जिप दुर्घटना : गर्भवती र बालबालिकासहित १५ जना घाइते- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा जिप दुर्घटना : गर्भवती र बालबालिकासहित १५ जना घाइते

आश गुरुङ

लमजुङ — लमजुङको बेंसीसहरबाट मर्स्याङ्दी गाउँपालिका २, घनपोखरा भाचे जाँदै गरेको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका छन् । सवारी चालक हाम फालेर जोगिए पनि जिपमा सवार १५ जना यात्रु नै घाइते भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ ५ बजेतिर ग१ज ७४१७ नम्बरको जिप दुर्घटनामा परेर एक गर्भवतीसहित ६ महिला, ४ बालबालिका र ५ जना पुरुष घाइते भएका छन् । स्थानीय कृष्णबहादुर विकका अनुसार भाचे जाँदै गरेको जिप काफलडाँडाको घुम्ती नपुग्दै पल्चे खोलामा दुर्घटना भएको हो । जिप खोल्सामा खसेपछि यात्रुलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार गम्भीर घाइते मर्स्याङ्दी गाउँपालिका २ की ५३ वर्षीया इन्द्रदेवी घलेलाई नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ । घाइते हुनेमा मर्स्याङ्दी ६ का २५ वर्षीया करिना सुनार, उनका २ वर्षीय छोरा रिजन विक, २५ वर्षीय सोमनाथ विक र २३ वर्षीय मिलन विक छन् ।

यस्तै, मर्स्याङ्दी २ का ४ वर्षीया कृतिका विक, ५६ वर्षीया सुनमाया गुरुङ, गर्भवती १९ वर्षीया रेखा विक, ३४ वर्षीया शिवकुमारी गुरुङ, उनका २ वर्षीय छोरा रियन्स गुरुङ र ३० वर्षीया मनु विक छन् । मर्स्याङ्दी २ कै ३३ वर्षीय शेषबहादुर गुरुङ, ५२ वर्षीय चित्रबहादुर गुरुङ, ३१ वर्षीय बुद्धिबहादुर गुरुङ र ७ वर्षीय राजिप गुरुङ छन् । उनीहरु सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक मर्स्याङ्दी गाउँपालिका २ का २५ वर्षीय अजय विकले हाम फालेर ज्यान जोगाएको र उनी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । इन्सपेक्टर रेग्मीका अनुसार सडकबाट करिब २५ मिटर तल खोल्सामा खसेर जिप दुर्घटना भएको हो । उकालोमा व्याक गर्दा बढी लोडका कारण ब्रेक लाग्न नसकी जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित : भाद्र १, २०७९ २०:००
प्रतिक्रिया
पठाउनुहोस्

सल्यान पूर्ण खोपयुक्त जिल्ला घोषणा

विप्लव महर्जन

सल्यान — सल्यानलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला भित्रका १६ देखि २३ महिना उमेर समूहका सबै बालबालिकाले १५ महिनाभित्रै डीपीटी, बीसीजी, पोलियो, दादुरा, रुबेला, टाईफाईडजस्ता सबै प्रकारका खोप लगाइसकेकाले एक कार्यक्रमबीच पूर्ण खोपयुक्त घोषणा गरिएको हो । कार्यक्रमअघि जिल्लाको सदरमुकामस्थित टुँडिखेलबाट र्‍याली पुरानो बसपार्क हुँदै जिल्ला समन्वय समितिको हलमा पुगेको थियो ।  

प्रत्येक वर्ष जन्मिएका बालबालिकाले सबै प्रकारका खोप लगाइसकेपछि जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने कार्यक्रमअनुसार बुधबार सल्यानलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथकुमार श्रेष्ठले बताए । उनले जिल्लाका १० स्थानीय तहमा १६ देखि २३ महिना उमेर समूहका ३ हजार ७ सय ७७ बालबालिका रहेका र उनीहरुले सबै प्रकारका खोप लगाइसकेका जानकारी गराए ।

प्रकाशित : भाद्र १, २०७९ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×