२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

भ्रातृ संस्थालाई पूर्णता दिन माग गर्दै कोइराला समूहले गर्‍यो खबरदारी सभा

काठमाडौँ — नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीका भ्रातृ संस्थाहरुलाई पूर्णता दिन माग गरेको छ । बुधबार काठमाडौंमा खबरदारीसभाको आयोजना गर्दै कोइराला समूहका तरुण, विद्यार्थी, महिलालगायत भ्रातृ संस्थाका नेताहरुले पार्टी नेतृत्वले भ्रातृ संस्थामा एकलौटी गर्दा पार्टी र संगठनलाई क्षति पुगेको गुनासो गरे । 

भ्रातृ संस्थालाई पूर्णता दिन माग गर्दै कोइराला समूहले गर्‍यो खबरदारी सभा

कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीलाई चलायमान राख्न भ्रातृ संस्थाहरुलाई पूर्णता दिन आवश्यक हुने बताए । ‘भ्रातृ संस्थाहरुको वर्षौदेखि अधिवेशन हुन सकेको छैन । अधिवेशन नभएका भ्रातृ संस्थाहरुलाई अहिले केन्द्रीय समितिले निर्णय गरेर सभापतिजीलाई गठन गर्ने अधिकार दिइएको छ,’ केसीले भने, ‘सबै अधिकार उहाँलाई दिएका छौं । र पनि गर्नुहुन्नँ ।’

अहिलेसम्म गठन भएका भ्रातृ संस्थामा समेत सभापति शेरबहादुर देउवाले एकलौटी पदाधिकारी नियुक्त गरेकोमा कोइराला समूहले विरोध गर्दै आएको छ ।

‘मैले त अध्यक्ष नदिए उपसभापति दिनुहोस्, महामन्त्री दिनुहोस् । तर, भ्रातृ संस्थाहरुलाई पूर्णता दिने कुरालाई प्राथमिकतामा राख्नुहोस् भन्ने गरेको छु,’ केसीले भने, ‘तर त्यसको सुनुवाइ हुँदैन, यो दुःखद् पक्ष छ ।’

१३ औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएपछि अधिकांश भ्रातृ संस्थाको अधिवेशन हुन सकेको छैन । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, किसान संघलगायत दर्जनौं भ्रातृ संस्थाका पदाधिकारीले पार्टीको नेतृत्वको असहयोगकै कारण महाधिवेशन समेत गर्न नसकेर पदमुक्त भएका छन् । १४ औँ महाधिवेशनपछि सभापति देउवाले हालसम्म छ वटा भ्रातृ संस्थामा अध्यक्षमात्रै नियुक्त गरेका छन् । तर, चुनावको मुखमा ती भ्रातृ संस्थालाई पूर्णता दिन सकेका छैनन् ।

कोइराला समूहले बाँकी रहेका भातृ संस्थाको नेतृत्व आफूहरुले पाउनुपर्ने माग गरेको छ भने अध्यक्ष नियुक्त भइसकेका भ्रातृ संस्थामा सबै पक्षलाई समेटेर पदाधिकारी नियुक्त गर्नुपर्ने माग गरेको छ ।

खबरदारी सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइरालालगायत नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित : भाद्र १, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?