जबराविरुद्धको महाभियोग प्रक्रियामा ढिलाइ हुँदा प्रश्न उठेका छन् : कांग्रेस सांसद विश्वकर्मा

काठमाडौँ — नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया ढिला भएकोमा आफूहरूप्रति नै प्रश्न तेर्सिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको महाभियोग समितिको पहिलो बैठकमा विश्वकर्माले लगाउनुपर्ने व्यक्तिलाई महाभियोग लगाइए पनि ठीक ढंगले काम नभएको उनले बताए । 

जबराविरुद्धको महाभियोग प्रक्रियामा ढिलाइ हुँदा प्रश्न उठेका छन् : कांग्रेस सांसद विश्वकर्मा

कार्यतालिकाअनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 'हामीलाई ३ महिनाभित्रको समय हो । ३ महिनापछि भन्ने होइन । ३ महिनाभित्र यो काम सकौं । सिंगो संसद्ले हामीलाई जिम्मेवारी दिनमा ढिलाइ गर्‍यो । महाभियोग समितिमा पठाउन ढिलाइ गर्‍यो,' उनले भने । जबराविरुद्धका दस्तावेज अध्ययन गरेर छिटो टुंग्याउनुपर्ने उनले बताए ।

'पहिलो कुरा दस्तावेज अध्ययन गरौं अबको बैठकमा । पहिलो त महाभियोग त्यसपछि सम्बन्धित कागजात संकलन गर्नुपर्छ । महाभियोग प्रस्ताव आउँदा १ वर्षअघिको झल्झली सम्झ्यौं भने हामी कसैले सम्झिरहेका थिएनौं । बार बेन्च उच्च अदालत जिल्ला अदालत अस्तव्यस्त थिए । अहिले होइन कि होइन कि भन्ने लाग्छ होला,' उनले भने । जबराका बारेमा पूर्वप्रधानन्यायाधीशहरूले सार्वजनिक गरेका दस्तावेज संकलन गर्नुपर्ने उनले बताए । उनले अगाडि भने, 'पूर्वप्रधानन्यायाधीशहरूले लिखित दस्तावेज सार्वजनिक गरेका थिए । ती दस्तावेज संकलन गर्नुपर्छ होला । नागरिक समाज र जनआवाज के छ त्यसलाई पनि कार्यक्षेत्रमा राखौं ।'

जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि बुधबारदेखि कारबाही प्रक्रिया सुरु भएको हो । जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

प्रकाशित : भाद्र १, २०७९ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?