कोरोनाले साउनमा ३७ को मृत्यु, ८४ प्रतिशतले खोप लगाएका थिएनन्
काठमाडौँ — कोरोना संक्रमणका कारण साउनमा मृत्यु भएका ३७ मध्ये झन्डै ८४ प्रतिशतले खोप नलगाएको पाइएको छ । पछिल्लो समय कोभिड संक्रमणले मृत्यु हुनेमध्ये अधिकांश खोप नलगाएका र जटिल दीर्घरोगी छन् । तेस्रो लहरपछि झन्डै अढाई महिनासम्म (वैशाख २१ देखि असार ३२) कोभिडका कारण कसैको पनि मृत्यु भएको थिएन ।
साउन १ गतेदेखि ३१ सम्म मात्रै ३७ जनाले ज्यान गुमाए । मृत्यु हुनेमा २१ देखि ९० वर्षसम्मका छन् ।
‘साउनभरमा मृत्यु भएका ३७ मध्ये ३१ जनाको खोपको अवस्था उपलब्ध छैन अर्थात् उहाँहरूले खोप लगाउनुभएको थिएन,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले भने, ‘दीर्घरोगी भए पनि पूर्ण खोप लिएका र सन्तुलित जीवनशैली भएकाहरूको भने मृत्यु भएको छैन ।’ खोप नलगाएकामा मात्र होइन पूर्ण मात्रा नलिएकामा पनि भाइरसको संक्रमण जटिल देखिएको उनले बताए ।
मंगलबार ५ हजार ६ सय १९ नमुनाको परीक्षण गर्दा १५.०९ प्रतिशत अर्थात् ८ सय ४८ जनामा संक्रमण देखिएको छ । एक जनाले ज्यान गुमाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ५९ पुगेको छ । हाल मृत्युदर १.२ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७२ जना सघन उपचारमा छन् । प्रदेश १ मा ४ जना, मधेसमा २, वाग्मतीमा ५५, गण्डकीमा ३, लुम्बिनीमा ३ र सुदूर पश्चिममा १ जना गरी ६८ जना आईसीयूमा र मधेसमा २, वाग्मतीमा १, सुदूरपश्चिममा १ गरी ४ जना भेन्टिलेटरमा छन् ।
प्रकाशित : भाद्र १, २०७९ १३:०४