गठबन्धनमा सिट बाँडफाँटको मापदण्डमै अलमल

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौँ — आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरेका सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको मापदण्डमा भने अलमल छ । पाँच दलका नेता सम्मिलित कार्यदलले पटक पटक बैठक बसेर छलफल गरे पनि सिट बाँडफाँटको मापदण्ड के हुने भन्नेमै सहमति जुटाउन सकेको छैन ।

गठबन्धनमा सिट बाँडफाँटको मापदण्डमै अलमल

नेताहरूका अनुसार सिट बाँडफाँटको आधारबारे गठबन्धन दलले फरक फरक धारणा राखेका छन् । कार्यदलमा सिट बाँडफाँटको मापदण्डमै सहमति नभएपछि अहिलेसम्म दलहरूले आफ्नो दाबीसमेत औपचारिक रुपमा उठाउन सकेका छैनन् ।

‘अहिले कुन आधारमा सिट बाँडफाँड गर्ने भन्ने नै टुंगिएको छैन, छलफल चलिरहेको छ‚ सबैको आफ्नो दाबी छ,’ कार्यदलका एक सदस्यले भने ।

कार्यदललको अघिल्लो बैठकमा सिट बाँडफाँडका चार आधारबारे छलफल भएको थियो । तर, सबै दल ती आधारमा छलफल गर्न तयार छैनन् । त्यसबेला ०७४ को प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम, २०७९ को स्थानीय तहको मत परिणाम र दलभित्रको संवेदनशीलतालाई ख्यालमा राखेर सिट बाँडफाँट गर्न सकिने विषय उठेको थियो । नेताहरूले त्यसमा सहमति भएको समेत भनेका थिए ।

तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत गठबन्धनका अन्य दलले भने २०७४ को सिट संख्यालाई प्रमुख आधार बनाएर सिटको बाँडफाँड गर्नुपर्ने दाबी छोडेका छैनन् । त्यसो गर्न कांग्रेसले मानेको छैन ।

कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक रुपमै कांग्रेसले सिट बाँडफाँटमा ०७९ को स्थानीय तह निर्वाचनको परिणाम नै प्रमुख आधार बनाउने बताएका छन् ।

‘०७४ को परिणाम पनि एउटा आधार हुनसक्छ । तर, हाम्रो प्रमुख आधार भनेको ०७९ को निर्वाचनको परिणाम नै हो । गठबन्धनमा छलफल चलिरहेको छ, के हुन्छ ? थाहा छैन,’ उनले भने, ‘तर गठबन्धनमा सिट बाँडफाँड गर्दा प्रमुख आधार ०७९ को चुनावी परिणाम नै हुन्छ, हुनुपर्छ । त्यसमा मेरो अडान हुन्छ ।’

०७४ को निर्वाचनमा कांग्रेसले १६५ सिटमध्ये २३ सिटमात्रै जितेको थियो । जबकि त्यही बेला बाम गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले ३६ सिट जितेको थियो । एमाले बिभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा समेत प्रत्यक्षतर्फ निर्वाचित १२ सांसद छन् ।

माओवादी र समाजवादीले पहिले जितेका ठाउँ स्वतः लिएर एमालेले जितेका ठाउँमात्रै भागबण्डा गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, त्यसो गर्न कांग्रेस नेताहरू तयार छैनन् ।

‘हिजो कहाँ कसले जितेको छ ? त्यो कुरा मुख्य होइन । कहाँ कसको कस्तो जनमत छ ? को लोकप्रिय छ भन्ने कुरा प्रमुख हो, सिट बाँडफाँटमा त्यही कुरालाई आधार बनाइन्छ,’ कार्यदलमा सदस्य रहेका कांग्रेसका एक नेताले भने ।

सिट बाँडफाँडको मापदण्ड के हुने ? आधार के हुने ? भन्ने विषयमै विवाद भएपछि कार्यदलमा नेताहरूले कसले कति सिट लिने भनेरै बोल्न सकेका छैनन् ।

गठबन्धनका शीर्ष नेताहरूसहित बसेको बैठकले कार्यदलका संयोजक एवम् कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई सिट बाँडफाँडको प्रस्ताव तय गर्न जिम्मेवारी दिएका छन् । गठबन्धनले कार्यदल गठन गर्दै साउन मसान्तभित्र सिट बाँडफाँटको खाका तयार गरेर दिन भनेको थियो । तर, कार्यदलले अहिलेसम्म त्यसबारे ठोस् नतिजा आउने गरी छलफललाई गति दिन सकेको छैन । भदौ पहिलो साताभित्र सिट बाँडफाँटको टुंगो लगाइसक्ने गठबन्धनमा सहमति छ ।

कार्यदलले दलहरूको अडानकै कारण सिटको संख्याकै तहमा छलफल हुन नसकेको कार्यदलका ती सदस्यको भनाइ छ ।

बुधबार पनि कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो ४ बजे कार्यदलको बैठक बस्न लागेको हो । नेताहरुका अनुसार बैठकमा कार्यदलका संयोजक सिटौलाले सिट बाँडफाँटको प्रारम्भिक प्रस्ताव प्रस्तुत गर्नेछन् । र, त्यसमाथि छलफल हुनेछ ।

कार्यदलमा कांग्रेसबाट संयोजक सिटौलासहित महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल छन् ।

त्यस्तै, जसपाबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा सदस्य छन् ।

प्रकाशित : भाद्र १, २०७९ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?