कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक
सुर्खेत — कर्णालीका तीन जिल्लामा अझै पनि विद्यालयस्तरका पाठ्यपुस्तक पुगेको छैन । कर्णालीको सुर्खेत, दैलेख र जाजरकोटका झन्डै ७५ प्रतिशत विद्यार्थीले अझै पुस्तक नपाएका नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले जनाएको छ ।
अझै कर्णालीमा झन्डै ६० हजार किताब अभाव रहेको महासंघको तथ्यांक छ । महासंघको कर्णाली प्रदेश समितिका अनुसार हिमाली जिल्लामा किताब पुर्याउन जनक शिक्षा सामग्री केन्द्रले आनाकानी गरिरहेको हो ।
‘हामीले मागअनुसार पैसा बुझाइसकेका छौं,’ समिति अध्यक्ष कमल नेपालले भने, ‘तर कहिले के बहाना त कहिले के भन्दै हामीलाई पुस्तक दिइएको छैन ।’ उनका अनुसार केही दिनअघि काठमाडौंबाट आएको ६० हजार किताब कालीकोट पठाइएको छ । विद्यार्थीको अर्धवार्षिक परीक्षाको मुखमा पनि किताब नआउनु विडम्बना रहेको सुर्खेतको लेखफर्सास्थित नेरा आधारभूत विद्यालयका शिक्षक प्रकाश केसीले बताए । ‘परीक्षा मुखमा आइसक्यो, तर विद्यार्थीको हातमा अझै किताब आएको छैन,’ उनले भने, ‘हामीले कहिलेसम्म बहाना बनाउने ?’
जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतका अनुसार कर्णालीमा कक्षा ८ को नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेसा विषयका पुस्तकको अभाव छ । केन्द्रका प्रवक्ता चित्र आचार्यले स्थानीय तहहरूले विद्यार्थीको पुरानो तथ्यांक पठाइएकाले किताबको अभाव रहेको दाबी गरे । ‘स्थानीय तह र विद्यालयको माग ढिला गरी आयो,’ उनले भने, ‘यो कुरा संस्थाको केन्द्रीय कार्यालयमा जानकारी गराएका छौं, अबको एक महिनाभित्र सबै विद्यालयमा किताब पुग्छ ।’
केन्द्रको प्रादेशिक कार्यालयले पछिल्लो लटमा करिब ६५ हजार किताब पठाइएको जनाएको छ । आचार्यले अब माग आएअनुसार झन्डै ६० हजार किताब भदौको पहिलो सातामा कर्णालीका सबै जिल्लामा पुर्याइने जानकारी दिए । उनका अनुसार कर्णालीमा कक्षा ४ देखि १० सम्मका लागि १४ लाख १ हजार ७ सय ८९ थानमध्ये १३ लाख २९ हजार १ सय ४१ किताब बिक्री भइसकेको छ ।
उनले प्रादेशिक कार्यालयको गोदाममा करिब ७१ हजार ६ सय ३८ थान किताब मौज्दात रहेको बताए । ‘हामीले जतिसक्दो छिटो सबै ठाउँमा किताब पठाउने प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘कतिपय समस्या हाम्रो होला तर स्थानीय तह र विद्यालयको कमजोरी यसमा धेरै छ ।’
प्रकाशित : भाद्र १, २०७९ ०८:१४