कांग्रेस केन्द्रीय समितिमा बल्ल एक तिहाई महिला

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा एक तिहाई महिलाले प्रतिनिधित्व पाएका छन् । सभापति शेरबहादुर देउवाले महाधिवेशन सकिएको आठ महिनापछि बल्ल केन्द्रीय कार्यसमितिमा महिलाको संख्या एक तिहाई पुर्‍याएका हुन् ।

कांग्रेस केन्द्रीय समितिमा बल्ल एक तिहाई महिला

आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने सन्दर्भमा एक तिहाई महिलाको संख्या पुर्‍याउनै पर्ने बाध्यकारी अवस्था सिर्जना भएपछि सभापति देउवाले महिलाको सख्यां एक तिहाई पुग्ने गरी केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।

संसद्मा महिला नेताहरूले आगामी निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमै ५० सिटमा महिलालाई उम्मेदवार बनाउनुपर्ने माग गरिरहेका बेला सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले भने आफ्नै पार्टीमा पनि एक तिहाई महिलालाई मात्रै अटाएको छ ।

पार्टीको विधानले केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत पदमा महिलाका लागि आरक्षणको व्यवस्था गरेको छ । त्यहीअनुसार मात्रै महिलाहरू निर्वाचित भएर आएका छन् । महिला नेताहरूले खुला प्रतिस्पर्धा नगर्दा पार्टीभित्र महिलाको संख्या बढ्न नसकेको नेताहरूको भनाइ छ । विधानबमोजिम कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुन्छ । केन्द्रीय सभापतिका निकटतम प्रत्यासी स्वतः केन्द्रीय कार्यसमितिको सदस्य हुन्छन् भने १६७ को ८० प्रतिशत अर्थात् १३४ पदमा निर्वाचन हुन्छ । बाँकी ३३ पदमा सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।

गत मंसिरमा भएको महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवासहित १३ पदाधिकारी र १२१ सदस्य निर्वाचित भएका थिए । सभापतिका प्रत्यासी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य भए । त्यसबाहेक सभापतिले मनोनीत गर्न पाउने ३३ मध्ये अहिलेसम्म सभापति देउवाले २३ जनालाई मनोनीत गरेका छन् । अब केन्द्रीय कार्यसमिति १५८ सदस्यीय बनेको छ भने केन्द्रीय समितिमा महिलाको संख्या ५३ पुगेको छ ।

‘महाधिवेशनबाट ४१ जना महिला निर्वाचित हुनुहुन्थ्यो । सभापतिजीले महाधिवेशनपछि दुई जनालाई मनोनीत गर्नुभयो । तर, १० महिला मनोनीत नगरे केन्द्रीय समितिमा एक तिहाई महिलाको संख्या पुग्ने अवस्था थिएन,’ एक पदाधिकारीले भने, ‘केन्द्रीय समितिमा एक तिहाई महिला नभए निर्वाचन आयोगमा दल दर्ता नै नहुने भएपछि महिलाको संख्या पुर्‍याउन मंगलबार १० नेताको मनोनयन भएको हो ।’ सभापति देउवाले मंगलबार १० जना महिला नेताहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका छन् ।

यसअघि उपसभापतिमा पराजित सुजाता कोइराला र महिला तथा बालबालिकामन्त्री उमा रेग्मी केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।

सभापति देउवाले महोत्तरीकी किरण यादव, काठमाडौंकी राधा घले, ललितपुरकी धना खतिवडा, धादिङकी उर्मिला थपलिया, मोरङकी रुक्मीणी कोइराला, काठमाडौंकी कल्याणी रिजाल, झापाकी गोमा भट्टराई, रुपन्देहीकी गंगा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनयन गरका हुन् । मनोनीत हुने सबै पार्टीको १४ औँ महाधिवेशनमा पराजित नेता हुन् ।

मनोनीत हुनेमध्ये लक्ष्मी खतिवडा सुनसरी क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिकी प्रत्यासी हुन् । त्यसबाहेक सबै नेताहरू १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यका प्रत्यासी थिए । ०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ नै प्रतिस्पर्धा गरेकी किरण यादव भने १३ औँ महाधिवेशनमै केन्द्रीय सदस्य निर्वाचित थिइन् । तर, यसपटक भने उनी मधेसी महिलातर्फ समेत पराजित भइन् ।

काठमाडौंकी घले बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक समेत हुन् । उनी १४ औँ महाधिवेशनमा आदिबासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । त्यस्तै, धादिङकी थपलिया नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्री हुन् । उनी खस आर्य महिलातर्फ केन्द्रीय सदस्यमा पराजित हुन् ।

सभापति देउवाले यसपटक नेता विमलेन्द्र निधिबाहेक सबै नेताहरूलाई समेत समेटेर केन्द्रीय सदस्य मनोनयन गरेका छन् । उनीमाथि महाधिवेशनपछि प्रतिस्पर्धीलाई समेटेर हिड्न नसकेको आरोप छ । नेता शेखर कोइराला समूहले उनीमाथि एकलौटी गरेको आरोप लगाउँदै आएको छ । यसपटक केन्द्रीय सदस्य मनोनयनमा भने देउवाले पाँच जना आफ्नो पक्षका नेतालाई समेटेर बाँकीमध्ये कोइराला समूहका दुईसहित नेता शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहनिकट १–१ जनालाई समेटेका छन् ।

प्रकाशित : श्रावण ३१, २०७९ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?