माओवादी मोर्चामा भट्टराईको प्रवेश : श्रेष्ठलाई लाभ कि हानि ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी मोर्चामा भट्टराईको प्रवेश : श्रेष्ठलाई लाभ कि हानि ?

बबिता शर्मा

काठमाडौँ — पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एउटै चिह्नमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने निर्णय गरेका छन् । सात वर्षअघि माओवादी छोडेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न हिँडेका भट्टराई पुन: माओवादीसँग चुनावी सहकार्यका लागि जोडिएपछि यसले अब पार्टी एकताको आधार खडा गरेको छ ।

दुवै पार्टीका नेताहरुका अनुसार अहिले चुनावी मोर्चाबन्दी भए पनि नाटकीयरुपमा कुनै घटनाक्रम विकसित नभए आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि दाहाल र भट्टराई एउटै पार्टीका नेता हुनेछन् ।

माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने भट्टराईको निर्णय तत्कालका लागि निर्वाचन जित्ने रणनीतिक कदम मानिए पनि यो मंसिरलगत्तै पार्टी एकताको बलियो आधार भएको उक्त पार्टीका नेताहरुले ठानेका छन् । जसलाई पुष्टि गर्नेगरी म‌ंगलबार साँझ भट्टराईले तस्बिरसहित ट्वीट गरेका छन्- 'नयाँ यात्राको सुरुवातमा गम्भीरता र खुसी !'

उनले माओवादीसँगको मंगलबारको बैठकपछि 'बृहत् अग्रगामी शक्तिको ध्रुवीकरण गर्ने लक्ष्य' अनुरुप माओवादीको चिह्नमा लड्न लागेको बताएका थिए । मा‌ओवादी अध्यक्ष दाहालले पनि 'बाबुराम र प्रचण्ड एकै ठाउँमा उभिनु अर्थपूर्ण छ' भन्दै भावी गन्तव्यको संकेत गरेका छन् ।

एउटै चुनाव चिह्नमा लड्नु भनेको आंशीकरुपमा दल एउटै हुनु हो । किनकि एउटै चुनाव चिह्नबाट जितेर आउनेहरुको संसद्मा एउटै पार्टीको हैसियत हुन्छ । संसदीय दल एउटै हुन्छ । पार्टीको ह्विप लाग्छ । दलले निष्कासन गर्न सक्छ । बाहिरी मोर्चामा अलग पार्टीको अस्तित्व देखिए पनि संसदीय मोर्चामा एउटै दल हुने भएकाले यो घटना नै एकताको एउटा मुख्य खुड्किलो हो ।

दाहाल र भट्टराईबीच चुनावपछि समाजवादी केन्द्र बनाउने मोटामोटी सहमति भइसकेको अध्यक्ष दाहालले मंगलबार सार्वजनिकरुपमा बताएका छन् । समाजवादी केन्द्र बनाउन माधवकुमार नेपाल मात्र मिल्नु आवश्यक छ । वामदेव गौतमसँग त अहिले नै गोलाकारभित्र हँसिया हथौडामा चुनाव लड्ने सहमति गरिसकेका छन् ।

दाहाल–भट्टराई पुनर्मिलनतिर जानु पूर्वमाओवादीहरुका लागि संगठनात्मक र राजनीतिकरुपमा ठूलो उपलब्धिको रुपमा नेताहरुले लिएका छन् । तर, दाहाल–भट्टराई पुनर्मिलन माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका लागि भने केही तगारो हुन सक्छ । माओवादीमै रहँदा भट्टराई र श्रेष्ठबीच सुमधुर सम्बन्ध थिएन । दाहाल–भट्टराई पुनर्मिलनतिर जाँदा भट्टराई र श्रेष्ठको विगतको तिक्ततापूर्ण सम्बन्ध सुधार बल्झिने त होइन ? भन्ने आश‌ंका छ ।

दाहाल–भट्टराई पुनर्मिलनको अध्यायले श्रेष्ठको संसदीय सिट र पार्टी पद वरीयता दुवै असुरक्षित रहने जोखिम छ । माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट निर्वाचन लड्ने भट्टराईको निर्णयले पाँच दलीय गठबन्धनबाट गोरखा २ मा उनी नै उम्मेदवार हुने बलियो संभावना छ । भट्टराई गोरखा २ मै गए भने राष्ट्रिय सभाबाट राजीनामा दिएर गोरखा २ मा प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेका श्रेष्ठका लागि बाधा खडा हुन्छ ।

०७४ मा गोरखा २ मा भट्टराई कांग्रेसको सहयोगमा र श्रेष्ठ वाम गठबन्धनका उम्मेदवार थिए । देशैभर वाम गठबन्धनका उम्मेदवार विजयी हुँदा गोरखा २ मा भट्टराईले श्रेष्ठलाई हराएका थिए । भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गरेका थिए भने श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका थिए ।

यसपटक नयाँ गठबन्धन बनेकाले चुनाव जित्न सकिने ठानेर श्रेष्ठले गोरखा २ का लागि अनौपचारिक तयारीसमेत थालिसकेको उनी निकट नेताहरुले बताएका छन् । तर अहिले गठबन्धनमा भट्टराईको प्रवेश र माओवादीकै चुनाव चिह्न प्रयोग गर्ने सहमतिले श्रेष्ठको तयारीमा केही व्यवधान खडा भएको छ । हुन त श्रेष्ठ २०७० सालमा मकवानपुरबाट चुनाव लडेका थिए । त्यहाँ पराजित भएपछि गोरखा गएका थिए । दुवै ठाउँमा चुनाव हारेकोले अब फेरि ती मध्ये एउटामा जुनमा पनि जानसक्ने अवस्था हुनसक्छ । तर श्रेष्ठले मकवानपुरभन्दा सहज गोरखा नै ठानेका छन् ।

दाहाल भट्टराई पुनर्मिलनले श्रेष्ठको संसदीय सिटमात्र होइन, दुवै चुनाव जितेर आएको अवस्थामा स‌ंसदीय दलको वरीयतामा पनि तलमाथि हुन्छ । यदि पार्टी नै मिल्यो भने त पार्टीगत पोजिसन पनि बदलिन सक्छ । आठौं महाधिवेशनपछि माओवादीले पदाधिकारी टुंग्याएको छैन । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बन्ने भन्ने अनौपचारिक सहमति छ । दाहाल जापान भ्रमण जाँदा श्रेष्ठ कार्यवाहक अध्यक्ष भइसकेका छन् । माओवादीमा हुँदा भट्टराई दाहाल पछि दोस्रो वरीयतामा थिए ।

श्रेष्ठ प्रधानमन्त्रीका पनि आंकाक्षी छन् । तर, पूर्वप्रधानमन्त्री भइसकेकाले भट्टराई र दाहाल एउटै पार्टीमा रहे भने दाहालको विकल्पमा फेरि पनि भट्टराई आउन सक्छन् । दाहाल-भट्टराई पुनर्मिलनको बाटोले श्रेष्ठको प्रधानमन्त्रीको आकांक्षामा पनि केही व्यवधान आउन सक्छ ।

०६८ भदौ ११ मा भट्टराई प्रधानमन्त्री भए । त्यही मन्त्रिपरिषद्मा श्रेष्ठ परराष्ट्रमन्त्री थिए । अरू काममा श्रेष्ठले सहयोग र समर्थन जनाए । भारतसँग दुईपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण (बिप्पा) सम्झौता गरेकोमा श्रेष्ठले गम्भीर असहमति र विरोध जनाएका थिए । भट्टराई भारत भ्रमणबाट फर्किँदा एयरपोर्टमा कालोझन्डा देखाउनेसम्मको विरोध भएको थियो, जसको नेतृत्व गर्ने समूहहरुलाई श्रेष्ठनिकटहरुको समेत समर्थन थियो ।

विगत हेर्ने हो भने भट्टराई र श्रेष्ठबीचको सबैभन्दा बढी निकटता ०६८ को धोवीघाट भेलामा देखिएको थियो, जसलाई माओवादीको संस्थापन पक्षले अप्राकृतिक गठबन्धन भनेर टिप्पणी गरेको थियो । त्यही भेलाको जगमा भट्टराई प्रधानमन्त्री भएका थिए । माओवादी परित्याग र सांसद पदबाट राजीनामा गर्नुपूर्व भट्टराईले श्रेष्ठसँग पनि फोनमा कुराकानी गरेका थिए । भट्टराईले पार्टी छाड्न लागेको सुनाएपछि श्रेष्ठले स्वाभाविक लिएका थिएनन् ।

नेपाल र भारतमा बसेर विद्यार्थी राजनीति गरेका भट्टराई र श्रेष्ठबीच पहिलो भेट ०३५ मा काठमाडौंमा भएको थियो । भेट श्रेष्ठका शिक्षकले गराएका थिए, जो भट्टराईका साथी थिए । ०३७–०३८ सालमा नै भट्टराई र श्रेष्ठका राजनीतिक जीवनका सुरुवातका दिन थिए ।

०४७ मा मशाल, चौम र सर्वहारावादी श्रमिक संगठनका बीचमा एकता भएपछि भट्टराई र श्रेष्ठ एउटै पार्टीका नेता भए । तीन वर्षपछि २०५० सालमा पार्टी विभाजन भएपछि उनीहरु अलग भए । ०६५ मा माओवादी र एकता केन्द्रबीच एकता भएपछि पुनः भट्टराई र श्रेष्ठ एउटै पार्टीका नेता बने । पहिलो संविधानसभामा भट्टराई गृह जिल्लाबाट चुनाव जितेर संविधानसभामा आएका थिए भने श्रेष्ठ २६ जनाको कोटामा मन्त्रिपरिषद्‌बाट मनोनीत भएर गएका थिए ।

श्रेष्ठ र भट्टराईको एकले अर्कालाई सहज स्वीकार्न नसक्ने विगत छ । यी दुई नेताबीच मुख्यतः वैचारिक मतभेद थियो । म‌ंगलबार एउटै चिह्नमा चुनाव लड्ने सहमतिपछि दाहाल, भट्टराई, श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र राय यादवले माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक तस्बिर लिए । र, तस्बिरमा सबैभन्दा धेरै हाँसो श्रेष्ठको अनुहारमा देखिन्छ । क्यामेरामा खुलेर हाँसेका श्रेष्ठको मनमा चाहिँ पछिल्ला घटनाक्रमले कतै गहिरो चोट पारेको छ कि ?

प्रकाशित : श्रावण ३१, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्

बन्चरेडाँडाका स्थानीय र प्रहरीबीच झडप, प्रहरीले प्रहार गरेको अश्रुग्यासले एक घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न नदिने भन्दै भएको आन्दोलनमा झडप हुँदा एक जना घाइते भएका छन् । धुनिबेंसी–१ चिलाउने गाउँ भएका करिब २६ वर्षीय कमल तामाङ प्रहरीको अश्रुग्यासको सेल लागेर घाइते भएको नेपाली कांग्रेस धुनिबेंसी–१ का सभापति पूर्णसिंह तामाङले जानकारी दिए ।

प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल उनको आँखाको माथिल्लो भागमा लागेको तामाङले जानकारी दिए । स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि मनमहोन अस्पताल काठमाडौं ल्याइएको छ । प्रहरीले चलाएको अश्रु ग्यासको सेल लागेर उनी घाइते भएको स्थानीयले जनाएका छन् ।

मंगलबार दिनभर बन्चरे डाँडा ल्यान्डफिल जाने सडकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको थियो । महानगरपालिकाका अनुसार १ सय ८६ वटा गाडीले बन्चरे डाँडामा फोहोर विसर्जन गरेका छन् ।

बिहानैदेखि सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको अगुवाइमा आन्दोलन सुरु भएपछि फोहोर बोकेका गाडीहरु दिउँसो २ बजे मात्रै पुगेका थिए ।

स्थानीयले सुरुमा ५ वटा गाडीलाई फोहोर विसर्जन गर्न दिएका थिए । त्यसपछि बन्चरेडाँडा माथिबाट प्रहरी र फोहोर बोकेको गाडीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । केही बेर प्रदर्शन भएपछि प्रहरीको टोली डाँडामा गएपछि प्रदर्शनकारीहरु तितरवितर भएका थिए । त्यसपछि सुरक्षा दिएर फोहोर विसर्जन गरिएको थियो ।

प्रकाशित : श्रावण ३१, २०७९ २०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×