'बाबुराम र प्रचण्ड एकै ठाउँमा उभिनु अर्थपूर्ण छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावपछि बाबुराम भट्टराईको पार्टीसहित वामपन्थी दलहरूबीच एकता गर्ने बताएका छन् ।

'बाबुराम र प्रचण्ड एकै ठाउँमा उभिनु अर्थपूर्ण छ'

बाबुराम भट्टराई र आफू एकै ठाउँमा उभिँदा वामपन्थी राजनीति धेरै अर्थपूर्ण हुने उनको भनाइ थियो । साथै यस्तो गठबन्धन देशको समृद्धिको यात्रा र वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण हुने उनले बताए । 'वामपन्थी र कम्युनिस्ट आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराको धेरै ठूलो अर्थ र महत्त्व छ । हामी उभियौं अब कसैले रोकेर रोक्न सक्दैन । यद्यपि एकता भएको हैन । चुनावपछि एउटै केन्द्र बनाउने सहमति भएको छ । यसले नेपालको परिवर्तन गर्ने कुरामा ठूलो महत्त्व छ,' उनले भने ।

यस्तै दाहालले चुनावपछि नेकपा एकीकृत समाजवादीलगायत वामपन्थी दलहरूसँग पनि एकता संयोजन समिति बनाउने तयारी गरिएको बताए । यसका लागि नामबारे यकिन नभए पनि नेपाल कम्युनिस्ट पार्टी रहनेमा सबैको सहमति भएको उनले बताए ।

यसअघि नेता दाहालले बाबुराम भट्टराईसहित नारायणकाजी श्रेष्ठ र महिन्द्र राय यादवसँग भविष्यसम्म मिलेर जानेबारे छलफल भएको बताएका थिए । एकताका सम्बन्धमा इतिहासको अनुभवबाट धेरै कुरा सिकाइ भएको पनि उनले बताएका थिए ।

दाहालले भने, 'धेरै ठक्कर खायौं । ठेस लागेपछि वुद्धि बढ्छ भने झैं हामी सबैलाई ठेस लाग्यो वुद्धि पनि बढेको छ । हामीले ठक्कर खाँदा देशले पनि दु:ख पायो । हामी मिल्दा देशले पनि केही केही पाउँछ । तैपनि जीवन रहँदासम्म ठेस लागिरहन्छ उपचार पनि गर्दै जानुपर्छ ।'

प्रकाशित : श्रावण ३१, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?