१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विज्ञहरू भन्छन्- 'पोस्ट कोभिडले वर्षौंसम्म दु:ख दिनसक्छ'

बुनु थारु

काठमाडौँ — स्वयम्भुकी सुसम थापाका ४९ वर्षीय श्रीमानलाई गत वर्ष जेठमा कोरोना संक्रमण भयो । लक्षण जटिल देखिएको थियो । कोभिड निमोनिया भएपछि उनलाई ५ महिना अस्पताल बस्नुपऱ्यो । ७ दिन त भेन्टिलेटरमै बसे । थापाका अनुसार कोभिड हुनुभन्दा पहिला उनी एकदम स्वस्थ्य व्यक्ति थिए तर पोस्ट कोभिडले उनको स्वास्थ्यमा धेरै प्रभाव पऱ्यो । सुसम भन्छिन्–‘ अहिले निको हुँदै हुुनुहुन्छ तर अझै पनि खोकी लाग्ने, छिटो थाक्ने लगायत समस्याहरु भने छन् । फलोअपमै रहन्छौँ ।’

विज्ञहरू भन्छन्- 'पोस्ट कोभिडले वर्षौंसम्म दु:ख दिनसक्छ'

मानसिक रोग विशेषज्ञसमेत रहेका पाटन अस्पतालका निर्देशक डा रवि शाक्यका अनुसार पहिलेभन्दा धेरै संख्यामा पोस्ट कोभिडका बिरामी नआए पनि फाट्टफुट्ट रुपमा बिरामी आइ नै रहेको बताए । करिब २ महिनाअघि उनीकहाँ एक जना ३७ वर्षीय पुरुष पोस्ट कोभिडका लक्षण लिएर आए । ती पुरुषलाई ६ महिनाअघि कोभिड हुँदा स्वास फेर्न गाह्रो भएको थियो । उनी निको पनि भए तर केही समयपछि उनमा राती हुँदा डर लाग्ने, छटपटी हुने, मुटु ढुकढुक हुने र निद्रै नलाग्ने हुन थाल्यो । राती नसुत्दा दिनभर शरीर भारी हुने र 'फ्रेस' महसुस नभए जस्तो हुन्थ्यो । त्यसले उनको दैनिक क्रियाकलापमा पनि असर पार्न थाल्यो । ती बिरामीको अवस्थाबारे डा शाक्य भन्छन्–‘ कोभिडपछि उनमा त्यस्तो लक्षण देखिएको रहेछ । शरीरको भित्री अंगमा केही भयो की भन्ने भय रहेछ । एकाग्र हुनै नसक्ने अनि काममा पनि बाधा पुग्न थालेपछि उनी आएका थिए। औषधि र परामर्शले अहिले उनी ठीक भएका छन्।’

गोंगबुका ४४ वर्षीय पुरुषलाई गत वर्ष कोभिड पुष्टि भयो । त्यतिबेला डेल्टा भेरियन्ट थियो जसले गर्दा उनमा जटिल लक्षण देखिए । कोभिड निमोनियाले उनलाई १९ दिन अस्पताल भर्ना गरायो । कोभिडले उनमा फोक्सोको समस्या गरायो जुन अहिले पनि निको भएको छैन । उनी अहिले पनि त्रिवि शिक्षण अस्पतालमा नियमित फलोअपमा आइरहेका छन् ।

यदि कसैलाई पहिले कोभिड संक्रमण भइसकेको छ भने उनीहरूमा थकाइ लाग्ने, स्वास फेर्न गाह्रो हुने, एकाग्रता नहुने, सम्झन गाह्रो हुने, निद्रामा समस्या, खोकी लागिराख्ने, छाती दुुख्ने, बोल्न अप्ठ्यारो हुने, मांसपेशी दुख्ने, स्वाद र गन्ध हराउने, डिप्रेसन र चिन्ता लागिराख्ने, आदि भइराखेमा यो पोस्ट कोभिड अर्थात ‘लङ कोभिड’ का लक्षणहरू हुन सक्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक पटक कोरोना संक्रमण पुष्टि भएपछि मान्छे निको हुन्छ तर निको हुने १० देखि २० प्रतिशतमा मध्यम तथा दीर्घ खालका असरहरू कोभिडले गराउन सक्छन् ।

कोभिड संक्रमण हुँदा जटिल लक्षण देखा परेका मानिस, अस्पताल भर्ना भइ आईसीयूमा बसेका, दीर्घरोग भएका, कोभिडविरुद्धको खोप नलगाएका व्यक्तिमा पोस्ट कोभिड बढी देखिन सक्ने सम्भावना रहेको सेन्ट्रल फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)बताउँछ । पोस्ट कोभिडले शारीरिक तथा मनोसामाजिक दुवै समस्या गराएको देखिन्छ । पोस्ट कोभिडले मानिसको दैनिक क्रियाकलाप तथा क्षमतामा ह्रास ल्याउन सक्छ । अध्ययनका अनुसार संक्रमण पुष्टि भएको ३ महिनापछि पोस्ट कोभिडका लक्षणहरू देखिन सक्छन् जुन कम्तीमा दुई महिना नभए वर्षौंसम्म पनि देखिन सक्छन् ।

त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा निरज बमले पोस्ट कोभिडका बिरामी आइरहेको भन्दै संक्रमण भइसकेको व्यक्ति जो कसैलाई छाती घ्यारघ्यार भएमा, छाती दुखेमा, खोकी लागिरहेमा, स्वास फेर्न गाह्रो भएमा चिकित्सकलाई सम्पर्क गर्नुपर्ने बताए । डा बम भन्छन्–‘हाल पोस्ट कोभिडका समस्या लिएर आउने कम छन् । आउनेहरू डेल्टाकै संक्रमणले असर पारेका बिरामीहरू छन् । दीर्घरोगीहरू बाहेक ओमिक्रोनले त्यति जटिल लक्षणहरू ल्याएको छैन।’

चिकित्सकहरूका अनुसार पोस्ट कोभिडको लक्षण अरु रोगसँग पनि मिल्दोजुल्दो भएकाले बेलैमा अस्पताल जान आवश्यक छ । वीर अस्पतालले कोभिड भइसकेका ७ हजार जना बिरामीमा करिब ६ महिना अघि गरेको पाइलट स्टडीमा ५८.८ प्रतिशतमा पोस्ट कोभिडको लक्षणहरू देखिएको थियो ।

अनुसन्धानमा संलग्न अस्पतालका छातीरोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठका अनुसार अधिकांशमा चिन्ता लागिराख्ने, मनमा धेरै कुरा खेल्ने, खाना नरुच्ने, कमजोर लाग्ने, थकावट हुने, खोकी लाग्ने र स्याँस्याँ हुने समस्या देखिएको थियो ।

खोप लगाएका तथा पटक–पटक संक्रमण भइसकेका व्यक्तिमा भन्दा खोप नलगाएका व्यक्तिमा पोस्ट कोभिड देखिने सम्भावना बढी रहने चिकित्सकहरू बताउँछन् । पोस्ट कोभिडको समस्यालाई समयमै चिकित्सकको परामर्श लिने र उपचार गर्ने हो भने छिटो निको हुने मानसिक रोग विशेषज्ञ डा शाक्यको भनाइ छ ।

‘शारीरिक स्वास्थ्य जति महत्त्वपूर्ण छ त्यति मानसिक पनि । कुनै पनि लक्षण देखिए चिकिसकको परामर्श लिइहाल्नुपर्छ,’ उनले भने । उनका अनुसार कोभिड उपचारका लागि तोकिएका अस्पतालमा ‘पोस्ट कोभिड क्लीनिक’ सञ्चालनमा छन् जसले बिरामीलाई आवश्यक परामर्श दिन्छन् ।

प्रकाशित : श्रावण ३१, २०७९ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?