१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाल एकीकरणमा गुरुङ समुदायको विशेष योगदान : राष्ट्रपति भण्डारी

दीपक परियार

पोखरा — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्रको एकीकरण प्रक्रियामा गुरुङ समुदायको विशेष योगदान रहेको बताएकी छन् । पोखरामा मंगलबार ट्होटें पर्व विशेष समारोहमा बोल्दै उनले नेपाली संस्कृतिको संरक्षण र संवर्द्धनमा पनि गुरुङहरुको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरिन् । 

नेपाल एकीकरणमा गुरुङ समुदायको विशेष योगदान : राष्ट्रपति भण्डारी

गुरुङ समुदायले हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार मनाउने ट्होटें पर्वमा तमु धिं नेपालले विशेष समारोह आयोजना गरेको हो । समारोहमा राष्ट्रपति भण्डारीले गुरुङ जातिको मौलिक भाषा, संस्कृति, रीतिरिवाज, चाडवर्प, भेषभूषाले नेपाली राष्ट्रिय संस्कृतिलाई सबल र समृद्ध बनाउनमा ठूलो योगदान पुर्‍याएको बताइन् ।

‘यो एउटा अँध्यारोबाट उज्ज्यालो, रोग र शोकबाट स्वस्थ र सुखद् जीवनतर्फ लक्षित सांस्कृतिक प्रचलन हो भन्ने मेरो विश्वास छ,’ आफ्नो लिखित भाषणमा उनले भनिन्, ‘यस्तो राम्रो परम्परा र चलनलाई अब हामीले भूत, रोगव्याधी र दु:ख मात्रै फाल्ने होइन हाम्रो समाजबाट सबै प्रकारका कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपन अन्त्य गर्न पनि यो पर्वले ऊर्जा प्रदान गर्ने छ भन्ने विश्वास लिएको छु ।’

तमुहरुको चाडपर्वमध्ये ट्होटें पनि एउटा मौलिक पर्व हो । यो पर्वले नकारात्मक ऊर्जालाई हटाई सकारात्मक ऊर्जा दिने काम गर्दछ भन्ने जनविश्वास रहिआएको छ । आफ्नो गाउँठाउँ, बस्तीमा भूतप्रेत, रोगव्याधी र अनिकाल हटाउन वर्षमा २ पल्ट यो पर्व मनाइन्छ । ट्होटेंकै अवसरमा मंगलबार कास्कीका पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकाले शिक्षण संस्थामा सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित : श्रावण ३१, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?