बन्चरेडाँडामा बिनाअवरोध फोहोर विसर्जन भइरहेको छ : काठमाडौं महानगरपालिका

कान्तिपुर संवाददाता

काठमाडौँ — धादिङको धुनिबेंसी–१ स्थित बन्चरेडाँडा ल्यान्डफिल साइटमा मंगलबार बिनाअवरोध फोहोर विसर्जन भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले मंगलबार बिहानैदेखि काठमाडौंबाट गाडीहरू निर्वाध रूपमा गइरहेको बताए । 

बन्चरेडाँडामा बिनाअवरोध फोहोर विसर्जन भइरहेको छ : काठमाडौं महानगरपालिका

सोमबार बिहान धुनिबेंसी-१ मा सत्तारुढ दलकै नेता कार्यकर्ता र स्थानीयले अवरोध गरे पनि दिउँसो प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिएको थियो । मेयर बालेन्द्र शाहले सोमबार २ सय ३ गाडी फोहोर विसर्जन गरिएको जानकारी दिएका थिए ।

मंगलबार भने बिहानैदेखि फोहोर बोकेर काठमाडौंबाट ल्यान्डफाइल साइटमा गाडीहरू गइरहेको प्रवक्ता मानन्धरले बताए । इकान्तिपुरसँगको कुराकानीमा उनले भने, 'बिहान म आफै साइटमा पुगेर आएको हुँ । आज कतै पनि अवरोध छैन । जानुपर्ने गाडीहरू गइरहेका छन् ।'

धादिङ प्रहरी र नुवाकोट प्रहरीले पनि बाटोमा कुनै अवरोध नभएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी रमेश पण्डितले नुवाकोटतर्फ कुनै अवरोध नभएको बताएका छन् । उनले भने, 'नुवाकोटतिर कुनै अवरोध छैन । धादिङतिर केही स्थानीयहरू डाँडामा चढेर बसेको भन्ने सुनिएको छ । तर अवरोध भएको भन्ने खबर छैन ।'

त्यस्तै धादिङको खानीखोला प्रहरी चौकीका प्रहरी निरीक्षक अपूर्व ढुंगानाले पनि धादिङतर्फ कुनै अवरोध नभएको बताएका छन् । उनले भने, 'फोहोरका गाडीहरू आइरहेकै छन् । कुनै अवरोध छैन ।' जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बन्चरेडाँडा ल्यान्डफिल साइटमा जीवनपुर प्रहरी चौकीबाट एउटा टोली सुरक्षामा खटाइएको छ ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका स्थानीय नेता भीषण धितालले भने आफूहरूले फोहोर विसर्जनमा रोक लगाएको दाबी गरेका छन् । आफूहरूविरुद्ध झुटा मुद्दा लगाइएको र प्रहरी परिचालन गरी जबर्जस्ती गरिएको उनले बताए ।

फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानीय नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ । नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका- १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भीषण धितालगायतविरुद्ध उजुरी परेको हो ।

सत्तारुढ दलका स्थानीय नेताहरूले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । सोमबार दिउँसो प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन गरिएको थियो ।

त्यस्तै बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू गत सोमबार राति तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमानानजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ३१, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?