कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘मृत्युदण्ड’ जितेर २४ वर्षपछि शिक्षक

सशस्त्र द्वन्द्वमा सक्रिय सहभागिताको दुई दशकपछि पुनः शिक्षण पेसामा फर्किने मौका आउँदा केही शिक्षक भने राजनीतिमा जमिसकेका छन् 

सिन्धुपाल्चोक‚ मुगु‚ दैलेख‚ सल्यान — चिनियाँ अदालतले सुनाएको मृत्युदण्ड फैसला जितेर साढे ५ वर्षपछि जेलमुक्त भएका त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथली गैरीगाउँका हिरालाल श्रेष्ठ २४ वर्षपछि गुमाएको जागिरमा फर्केका छन् । ०४५ वैशाख २५ मा बाघभैरव प्राथमिक विद्यालयमा शिक्षण पेसामा प्रवेश गरेका श्रेष्ठ ०४८ सालमा स्थायी नियुक्ति पाएका थिए । 

‘मृत्युदण्ड’ जितेर २४ वर्षपछि शिक्षक

०५५ सालमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सामेल भएका थिए । शिक्षणसँगै पार्टीका गतिविधिमा लागेर माओवादी छापामारको कमान्डर बनेका श्रेष्ठ चीनको स्वशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा छापामारको एक समूह लिएर बसे । त्यहाँ बसेर उनी ‘जनयुद्ध’ का लागि अत्यावश्यक सामग्रीको बन्दोबस्त मिलाउँथे । त्यहाँका नेपाली मूलका व्यापारी र तिब्बतीसँग मिलेर श्रेष्ठ ‘पार्टीले दिएको जिम्मेवारी’ पूरा गर्थे । लामो समय लुकीछिपी माओवादी सशस्त्र द्वन्द्वलाई सघाइरहेका श्रेष्ठका गतिविधिबारे चिनियाँ प्रशासनले थाहा पाएपछि उनीसहित धेरै जना पक्राउ परे । चिनियाँ प्रहरीले ०६० कात्तिक १० मा खासाबाट श्रेष्ठसहित चार नेपाली र तीन तिब्बतीलाई हतियारका साथ नियन्त्रणमा लिएको थियो । त्यति बेला श्रेष्ठसहित भोटेकोसी र बाह्रबिसेका ग्याल्जेन शेर्पा, चेङा शेर्पा र सोनमा साङ्बो शेर्पा पक्राउ परेका थिए । सुरुमा सबैलाई चीनको सिगात्से जेलमा लगियो । दुई वर्षपछि हातहतियार तथा खरखजानाबारे अवैध गतिविधि गरेको आरोपमा ल्हासा उच्च अदालतले श्रेष्ठसहित दुई नेपाली र तीन तिब्बतीलाई मृत्युदण्डको फैसला गर्‍यो । लगत्तै ल्हासा जेल पुर्‍याइयो । उनीसँगै जेलमा रहेका सोनमा साङ्बो शेर्पा छुटेका थिए । ‘त्यस बेला मृत्युदण्डलाई टार्न लगभग असम्भवजस्तै लागिरहेको थियो । दुई वर्ष जेल जीवन बिताएर एक साथी फर्किएपछि आशा पलायो,’ उनले सुनाए ।

सोनामले भोटेकोसीको मार्मिङ फर्केपछि साथीहरूलाई मृत्युदण्ड सजाय सुनाएको खबर माओवादी अध्यक्ष पुष्पकमल दाहालसम्म पुर्‍याए । दाहालले चिनियाँ कम्युनिस्ट पार्टी र सरकारलाई चिठी लेखेर मृत्युदण्ड रोक्न आग्रह गरे । त्यसपछि चीन सरकारले ०६५ चैत १५ मा उनीहरूलाई मुक्त गर्‍यो । ५ वर्ष ५ महिना ५ दिन जेल बसेर श्रेष्ठ र सोनाम स्वदेश फर्किए । नेपाल आएपछि पनि श्रेष्ठले पुरानै अवस्थामा आउन धेरै संघर्ष गर्नुपर्‍यो । तत्कालीन अवस्थामा पार्टी शान्ति प्रक्रियामा आए पनि उनको पारिवारिक अवस्था डामाडोल थियो । गत सोमबार त्रिपुरासुन्दरी–६ टेकानपुरस्थित कालिका माविमा भेटिएका ५३ वर्षीय श्रेष्ठ त्यति बेलाको संघर्ष सम्झिएर भावुक बने । ‘२४ वर्षपछि कक्षामा पढाउन पस्दा खुसीको सीमा रहेन,’ श्रेष्ठले भने । उनलाई त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा, वडाध्यक्ष रमेश बोहरा, अगुवा शिक्षक ऋषि पौडेलसहितले दोसल्लाले सम्मान गर्दै विद्यालयमा हाजिर हुने पत्र दिए । गाउँपालिका अध्यक्ष बोहराका अनुसार श्रेष्ठ २४ वर्षपछि कालिका माविमा पुरानै शिक्षण पेसामा फर्किएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि सरकारको पछिल्लो निर्णयले गत साउन १५ देखि श्रेष्ठ पुनः शिक्षण पेसामा फर्किएका हुन् । ‘अब जीवनभर बालबालिकलाई गुणस्तरीय शिक्षा दिने प्रयास रहन्छ । अतीतमा जे भयो भयो, अब आफूलाई शिक्षा सेवामा समर्पित गर्छु,’ उनले भने । त्रिपुरासुन्दरी–६ का वडाध्यक्ष रमेश बोहराले श्रेष्ठको जीवनले सबैलाई ठूलो पाठ दिएको बताए । ‘उहाँ शिक्षण पेसामा फर्किंदा सबै हर्षित छौं, मृत्युदण्ड जितेर आएका शिक्षकलाई हामी सबै सम्मानको दृष्टिले हेर्छौं,’ उनले भने । उनले अवकाश पाउने उमेर हद ७ वर्ष बाँकी छ ।

अब पढाउने कि राजनीति गर्ने ?

माओवादी केन्द्रका मुगु जिल्ला इन्चार्ज मंगलबहादुर शाही पनि २३ वर्षपछि भर्खरै शिक्षकमा पुनर्बहाली भएका छन् । सोरु गाउँपालिका–६ सोरुकोटका ५१ वर्षीय शाही ०४२ सालमा शिक्षक पदमा स्थायी भएका थिए । ०५६ सालमा भूमिगत भएका उनी २३ वर्षपछि सोरुकोटस्थित युवा वर्ष आधारभूत विद्यालयमा पुनर्बहाली भएका हुन् । सर्वोच्च अदालतको आदेशपछि सरकारको निर्णयअनुसार उनी फेरि शिक्षक पदमा फर्किएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सूर्यबहादुर खत्रीले बताए । ‘शिक्षकको नियुक्ति लिएर स्कुलमा फर्किने कि राजनीति गर्ने भन्ने कुरा उहाँकै हो,’ उनले भने ।

झन्डै ७ वर्ष सशस्त्र द्वन्द्वमा सक्रिय भएका शाहीले पनि राजनीति गर्ने कि पुरानै पेसामा फर्किने निर्णय गरिनसकेको बताए । उनी यसअघि माओवादी पार्टीको केन्द्रीय र प्रदेश कमिटी सदस्य भइसकेका हुन् । मुगुको छायानाथरारा नगरपालिकाका बर्मासिंह नेपाली, खत्याड गाउँपालिकाका नरबहादुर रावल र सप्तरीका रामलाल मुखिया पनि शिक्षक पदमा पुनर्बहाली भएको इकाइले जनाएको छ ।

दैलेखमा पनि द्वन्द्वको समयमा बाध्य भएर शिक्षण पेसा छाडेका १४ शिक्षक २१ वर्षपछि पुनर्बहाली भएका छन् । त्यसमध्ये कतिपय तत्कालीन माओवादीको धम्कीका कारण जागिर छोडेका हुन् भने केही उक्त पार्टीमा लागेकाहरू हुन् । जसमा माओवादीका केन्द्रीय सदस्य कर्णबहादुर बस्नेत र भरतकुमारी रेग्मीसमेत छन् । पहिलो संविधानसभा सदस्य रेग्मीले शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेको १९ वर्षपछि गत असार ९ गते नियुक्तिपत्र बुझेकी हुन् । उनी सांसद हुनुअघि शिक्षण पेसामै भए पनि अस्थायी थिइन् । उनले २०५२ सालमा खुलेको विज्ञापनमा आवेदन थिइन् तर नतिजा नआउँदै २०६० सालअघि नै माओवादी विद्रोहमा लागेकी थिइन् । उनीसँगै महेन्द्र शर्मा, लछिराम ढकाल, लालबहादुर बीसी, गणेश सलामी, एकेन्द्र पन्त, प्रेम न्यौपानेलगायतका शिक्षकहरूले नियुक्ति पाएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । इकाईका प्रमुख तेजबहादुर थापाले त्यसमध्ये कर्णबहादुर बस्नेत मावि तह र अन्य १३ जना आधारभूत तहका शिक्षक रहेको बताए । उनका अनुसार अधिकांश शिक्षकले हाजिर गरिसकेका छन् । सल्यानमा भने हेमन्त ओली र भीमबहादुर केसी शिक्षक पदमा पुनर्बहाली भएका छन् । राष्ट्रिय मावि दार्माकोटमा कार्यरत शिक्षक ओली ०५८ मा र गोरखनाथ आधारभूत विद्यालय छत्रेश्वरीका भीमबहादुर केसीले ०५९ मा जागिर छाडेका थिए । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लालबहादुर घर्तीमगरले उनीहरूका लागि आवश्यक प्रक्रिया सुरु भएको बताए ।

प्रकाशित : श्रावण ३१, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?