कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

६ वर्षमा दुई किमि कालोपत्र

भैंसेपाटी सडकको एउटा खण्डमा चार पटक र अर्कोमा तीन पटक म्याद थप्दा पनि भएन प्रगति, खाल्डाखुल्डीले दिनहुँजसो दुर्घटना
विमल खतिवडा

काठमाडौँ — ललितपुर महानगर–२५ स्थित भैंसेपाटीका अजरमान जोशीले सडक विस्तारका लागि ६ वर्षअघि ३ आना जग्गा छाड्नुपर्‍यो । उनका छिमेकीले पनि जग्गा छाडिदिए । तर भनिएको समयमा न सडक बन्यो, न स्थानीय हिलोधूलोबाट मुक्त हुन सके । सडकमा जथाभावी खनेर अलपत्र पारिएपछि ओहोरदोहोर गर्न पनि कष्ट छ ।

६ वर्षमा दुई किमि कालोपत्र

‘घाम लागे पनि पीर छ । पानी परे पनि पीर छ,’ जोशी भन्छन्, ‘घाम लागेको दिन सडकमा धूलोले बसिसाध्य हुँदैन, ठूलो पानी पर्दा सडकमै खोलो बग्छ ।’

जोशीको घर नख्खु खोला उकालोमा छ । सडकको धूलो घरभित्रै पस्छ । धूलोबाट जोगाउन सोफा र कुर्सी तन्नाले छोप्ने गरेका छन् । उनी दिनहुँजसो हुने सडक दुर्घटनाका साक्षी पनि हुन् । ‘ठूलो मानवीय क्षति नभए पनि मोटरसाइकल र स्कुटर नलडेको दिन हुँदैन,’ उनले सुनाए ।

सडकको धूलो र हिलोबाट पीडित स्थानीयले कालोपत्र गर्नुपर्ने माग राखेर साउन २१ मा सडक बन्द गरे । जिल्ला प्रशासन कार्यालयमा २२ गते आयोजना कार्यालय, स्थानीय र निर्माण व्यवसायीबीच छलफल भयो ।

छलफलमा सक्दो छिटो निर्माणको काम सक्ने सहमति भयो । त्यसपछि केही खाल्डाखुल्डी मात्र टालिएको तर सहमतिअनुसारको काम सुरु नभएको ललितपुर–२२ का राजभाइ मालीले सुनाए । ‘सडक बन्ला भन्दाभन्दै वर्षौं बित्यो,’ मालीले थपे, ‘तर कहिल्यै बनेन, उल्टै जथाभावी सडक खनी गिट्टी थुपारेर यात्रुलाई कष्ट दिइएको छ ।’

नख्खु हुँदै भैंसेपाटी–बुङमती क्षेत्र जाने सबैले सास्ती भोगिरहेका छन् । यही क्षेत्रमा विशिष्ट व्यक्तिको बसोबास छ । उनीहरू पनि प्रत्येक दिन यही बाटो आउजाउ गरिरहन्छन् । तर निर्माण चाँडो सकाउन र काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने आँट उनीहरूले समेत गरेको देखिँदैन ।

सडकको दुई खण्ड गरेर ठेक्का गरिएको छ । पहिलो खण्ड हो, नख्खुखोला–भैंसेपाटी–सोह्रखुट्टे, जुन ३.५२ किमि लामो छ । २०७३ असार ३० मा भएको ठेक्काअनुसार उक्त खण्डमा २०७५ कात्तिक ३० मा काम सकिसक्नुपर्ने हो । तर अहिलेसम्म यसको भौतिक प्रगति ७० प्रतिशत मात्र छ । ३.५२ किमिमध्ये अहिलेसम्म दुई किमि सडक मात्र कालोपत्र भएको ठेक्का लगाउने निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । तीन पटक म्याद थपिँदा पनि निर्माण नसकिएपछि सार्वजनिक खरिद नियमावलीअनुसार भन्दै चौथो पटक म्याद थप गर्ने तयारी हुँदै छ । यसको सुरु ठेक्का रकम २८ करोड ६२ लाख ५० हजार रुपैयाँ थियो । अहिले संशोधित लागत अनुमान ४९ करोड ४५ लाख २२ हजार रुपैयाँ पुगेको छ । अहिलेसम्म १९ करोड ९६ लाख ९६ हजार रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी भइसकेको छ ।


नख्खुखोला–भैंसेपाटी–सोह्रखुट्टे सडकको ठेक्का आशिष–बिरुवा–सीएम जेभीले लिएको हो । संयुक्त ठेक्का भए पनि यसको सुरुवाती काम गर्ने जिम्मा बिरुवा कन्स्ट्रक्सनले लिएको थियो । तर बिरुवाका ठेकेदारले काममा कुनै प्रगति नगरेर ढाँटिरहेपछि अहिले यसको व्यवस्थापनको जिम्मा सीएम कन्स्ट्रक्सनले लिएको आयोजना कार्यालयले जनाएको छ । संयुक्त ठेक्कामा पार्टनरले काम नगरेपछि आफूले जिम्मा लिएको सीएम कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शान्तकुमार श्रेष्ठ बताउँछन् । ‘अब काममा समस्या हुनेछैन, पानी परेर ढिला भएको हो, पानी रोकिनासाथ कालोपत्र थाल्छौं,’ उनले भने, ‘दसैंअघि नै कालोपत्र गर्ने तयारीमा छौं ।’ अहिले कालोपत्रबाहेकका काम भइरहेको उनको दाबी छ ।

सोह्रखुट्टे–चुनदेवी स्कुल खण्डमा पनि अवस्था उस्तै छ । सडकमा गिट्टी थुपारिएको छ । हिलाम्मे सडकका कारण विद्यालयका बस बस्तीसम्म पुग्न मान्दैनन् । अहिले सडकमा खाल्डैखाल्डा छन् । वर्षा हुनासाथ सडकमा पानी जम्छ । ठेक्का सम्झौता भएको पाँच वर्ष पुग्दा सडकमा पर्ने घरसमेत भत्काइसकिएको छैन । यो सडक खण्डको दूरी १.५५ किमि छ । यसको ठेक्का पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले लिएको हो । २०७४ साउन ११ मा ठेक्का भई २०७६ साउन १० मा सकिनुपर्ने यस खण्डको प्रगति ७५ प्रतिशत मात्र छ । म्याद तीन पटक थप भइसक्दा पनि कालोपत्र सुरु हुनै सकेको छैन ।

संयुक्त ठेक्का भए पनि काम वर्ल्डवाइड निर्माण कम्पनीले गरिरहेको छ । सुरु ठेक्का रकम २३ करोड ७२ लाख ४९ हजार रुपैयाँ रहेकामा अहिले संशोधित लागत अनुमान ३५ करोड ७ लाख रुपैयाँ छ । निर्माणमा प्रगति नभए पनि भुक्तानी मात्र २० करोड ८ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अब पनि काम गर्न नपाए ठेक्का नै तोड्न आयोजनालाई भनिसकेको वर्ल्डवाइड कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक रामशरण बुढाथोकी बताउँछन् । ‘मुआब्जा नटुंगिँदा सडकमा पर्ने घर भत्काउन सकिएको छैन,’ उनले भने, ‘आयोजनाले ठेक्का तोड्नेभन्दा काम गर्न बाटो फुकाइदिने बचन दिएको छ ।’ काम गर्न पाए दुई महिनाभित्र सबै सक्ने उनको दाबी छ । बुढाथोकीका अनुसार सडकमा पर्ने दुई/तीनवटा मात्र घर भत्काउन बाँकी छ ।


सुरुमा जग्गा र घरको क्षतिपूर्ति दिन नसक्दा सडकमा पर्ने जग्गा उपलब्ध हुन नसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनका अनुसार बिजुलीका पोल र खानेपानीका पाइप पनि समयमै सार्न सकिएन । ‘अहिले सडकमा कुनै बाधा छैन, यथास्थितिमा सडक सक्न मन्त्रिपरिषद्बाट पहिल्यै निर्णय भइसकेको छ,’ जोशीले भने, ‘बर्खामा नमिल्ने भएकाले असोजबाट सबैतिर कालोपत्र सुरु हुन्छ ।’

पुरानो ठेकेदारले काममा ढिलाइ गरेपछि उसको ठाउँमा संयुक्त ठेक्का लिनेमध्येकै सीएम कन्स्ट्रक्सनले असार अन्तिमबाट कामको जिम्मा लिएको जोशीले बताए । ‘पहिला बिरुवा कन्स्ट्रक्सनले काम गरेको थियो, सीएमसँग कालोपत्र गर्ने आफ्नै स्रोतसाधन भएकाले चाँडो काम गर्छ भन्नेमा केही विश्वस्त छौं,’ उनले भने । फागुनबाटै पानी पर्न थालेपछि काममा प्रगति नभएको आयोजनाको दाबी छ ।


संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार अहिले काम नसकिएका पुराना आयोजनालाई एक वर्ष म्याद दिइएको छ । ‘सडकमा आवश्यकताअनुसार म्याद थप्ने हो, एक वर्ष समय दिइएको छ भन्दैमा सबैको म्याद एक वर्ष नै थप्ने होइन,’ जोशीले भने, ‘ठेकेदारले काम गरिदिए र समय अनुकूल भए एक वर्ष लाग्ने कुनै पनि ठेक्का छैनन्, परिस्थिति प्रतिकूल नभए सबै पुराना ठेक्का सकिन्छन् ।’ अब पनि काम नसके कारबाही गर्दै ठेक्का तोड्ने र कालोसूचीमा राख्न लेखी पठाउने आयोजनाको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नख्खु–भैंसेपाटी सडक खण्डका विषयमा प्रतिनिधिसभामा कुरा उठेको र बर्खा सकिनासाथ कालोपत्र गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको बताए । ‘जानाजानी काम नगर्ने, पेस्की रकम लिएर काममा अटेर गर्ने ठेकेदारलाई कारबाही गर्छौं । केहीलाई कालोसूचीमा राखिसकेका छौं,’ उनले भने ।

प्रकाशित : श्रावण ३१, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?