राष्ट्रपतिबाट फिर्ता भएको नागरिक विधेयक पुनः दुवै सदनबाट पारित गरी पठाइन्छ : अध्यक्ष यादव

रासस

जनकपुर — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति कार्यालयबाट फिर्ता भएको नागरिकतासम्बन्धी विधेयक पुनः दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइने बताएका छन् । 

राष्ट्रपतिबाट फिर्ता भएको नागरिक विधेयक पुनः दुवै सदनबाट पारित गरी पठाइन्छ : अध्यक्ष यादव

पिछडा वर्ग महासङ्घको मधेस प्रदेश भेलालाई सोमबार जनकपुरममा सम्बोधन गर्दै उहाँले राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक फिर्ता भए पनि विधेयक निष्क्रिय नहुने भएकाले छिट्टै पुनः प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर विधेयक प्रमाणीकरणका लागि पठाइने बताए ।

कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने भनी संविधानले नै सुनिश्चित गरिसकेकाले नेपाली नागरिकका सन्तानहरुलाई नागरिकताबाट वञ्चित गर्ने षड्यन्त्र भए आफूहरु सडक र सदन दुवै ठाँउबाट आन्दोलन गर्ने बताए ।

अघिल्लो सरकारले यही व्यहोराको अध्यादेश ल्याउँदा राष्ट्रपतिले तत्कालै प्रमाणीकरण गर्नुभएको भन्दै अध्यक्ष यादवले अहिले संसद्‍बाट पास भएको विधेयक फिर्ता गर्नु उचित नभएको उनको भनाइ छ ।

शिक्षा, स्वास्थ्य र सामाजिकरूपमा पछाडि परेको पिछडा वर्गलाई राज्यको मूलधारमा ल्याउने जिम्मेवारीसमेत राज्यकै रहेको उल्लेख गर्दै उनले पिछडा वर्गलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनुपर्ने बताए ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पिछडा वर्गको उत्थान र विकासका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममै समावेश गरेर पाँच करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिसकेको जानकारी दिए । उनले छिट्टै पिछडा वर्ग विकास समिति गठन गरेर पिछडा वर्गको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रकाशित : श्रावण ३०, २०७९ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?