फोहोर विसर्जनमा सत्तारुढ र विपक्षी दलबाटै अवरोध भयो : मेयर शाह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोर विसर्जनमा सत्तारुढ र विपक्षी दलबाटै अवरोध भयो : मेयर शाह

'हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सत्तारुढ दल र विपक्षी दलले नै फोहोर विसर्जनमा अवरोध गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मेयर शाहले सोमबार पनि फोहोर विसर्जनको काम सहज नभएको बताएका हुन् । 

मेयर शाहले काठमाडौंको फोहोर विसर्जनमा सत्तारुढ दलका स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरिएको बताएका छन् । त्यस्तै विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि सडक अवरुद्ध पार्न सघाएको उनले आरोप लगाएका छन् ।

सोमबार २ सयभन्दा बढी प्रहरी परिचालन गरी फोहोर बोकेका गाडी बन्चरेडाँडा लगिए पनि केही समूहले गुलेली हानेर अवरोध गरेको उनले बताएका छन् । सोमबार २०३ वटा गाडीले फोहोर विसर्जन गरेको उनले जानकारी गराएका छन् ।

फोहोर व्यवस्थापनमा तत्काल देखिएका समस्या सतही मात्रै भएको उल्लेख गर्दै उनले भनेका छन्, 'केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?'

फोहोर व्यवस्थापनमा विगतमा भएका गल्ती नदोहोर्‍याउने भन्दै उनले भनेका छन्, 'यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापर्वाही र त्यो क्षेत्रको दूरावस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बन्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।'

त्यस्तै अहिलेको मुख्य काम पनि स्वार्थ नभई फोहोर व्यवस्थापन भएको उनले बताएका छन् । उनले अगाडि भनेका छन्, 'व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।'

सत्तारुढ दलका स्थानीय नेताहरूले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । सोमबार दिउँसो प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन गरिएको थियो ।

त्यस्तै बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू गत सोमबार राति तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो ।

प्रकाशित : श्रावण ३०, २०७९ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्

एक वर्षमै भित्रियो सवा अर्बको मास्क, स्वदेशी उत्पादन भने उद्योगमै थन्कियो

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब २५ करोड ९७ लाख रुपैयाँ बराबरको मास्क आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष १५ करोड ३ लाख ५७ हजार २७४ वटा (पिस) मास्क आयात भएको हो । साे आयात अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को तुलनामा एक अर्ब ३१ करोड ६७ लाख ५३ हजार रुपैयाँले कम हो ।

आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ५७ करोड ६५ लाख रुपैयाँको मास्क आयात भएको थियो । स्वदेशमै फेस मास्क उत्पादन पर्याप्त हुन थाले पनि आयात प्रभावकारी रुपमा घट्न सकेको छैन । स्वदेशी उद्योगका मास्क कारखानामै थन्किएका छन्  । दमकस्थित ग्रिन नेपालको कारखानामा झण्डै आठ लाख थानभन्दा बढी मास्क थन्किएका छन् । बजारमा माग नहुँदा कारखानामै मास्क थन्किएको सञ्चालक नन्दलाल पाण्डेले बताए । ‘पहिला दैनिक आठ लाखभन्दा बढी मास्क उत्पादन हुन्थ्यो, अहिले १० हजार मात्रै उत्पादन गर्छौं, तर पनि बिक्री हुँदैन,’ उनले भने । करिब ४ महिनादेखि उद्योग घाटामा चलिरहेको उनले सुनाए । यस्तै उपत्यकाभित्रै सञ्चालित आहा उद्योगले समेत अहिले मास्कको बजार नभएको जनाएको छ । यीबाहेक अन्य उद्योगले पनि मास्ककाे बजार घटेकाे र उत्पादन थन्किएको गुनासो गरेका छन् ।

नेपालमा अष्ट्रेलिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, फ्रान्स, जर्मन, हङकङ, भारत, इन्डोनेसिया, इराक, इजरायल, इटाली, जापान, कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार र अमेरिका लगायत मुलुकबाट मास्क आयात हुने गरेकाे विभागले जनाएको छ ।

कोरोनाको संक्रमणपछि मात्रै नेपालमा कच्चापदार्थ आयात गरी मास्क उत्पादन गर्न थालिएको हो । आर्थिक वर्ष ०७७/०७८ मा नेपालबाट ४ करोड २१ लाख ९६ हजार रुपैयाँको फेस मास्क निर्यात भएको थियो । गत आर्थिक वर्ष भने जम्मा १० लाख ८१ हजार रुपैयाँ बराबरको १ लाख १८ हजार ९९३ वटा (पिस) मात्रै मास्क निर्यात भएको विभागले जनाएको छ । कोरोना महामारी अगावै भने नेपालमा मास्क आयात मात्र गरिन्थ्यो । नेपालमा उत्पादित मास्क भारत, जापान, न्युजिल्याण्ड, पाकिस्तान, कतार, अमेरिका, बेलायत लगायत मुलुकमा निर्यात भएको विभागले जनाएको छ ।


प्रकाशित : श्रावण ३०, २०७९ १९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×