कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशको विकासका लागि सम्पूर्ण तागत लगाउने बेला आएको छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि नेपालको विकासको स्वरूप आफ्नै प्रकारको हुनुपर्ने बताए । 

देशको विकासका लागि सम्पूर्ण तागत लगाउने बेला आएको छ : दाहाल

नेपाली मोडलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भूगोल, संस्कृति र जातीय बनावटअनुकूल नेपाली स्वरूपको विकास गर्न सक्नुपर्ने उनले बताए। अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्न लगायतका काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीले राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष गर्‍यौँ । अब देशको स्थायित्व र विकासको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ । मैले गर्ने संकल्प पनि अब एकचोटी फेरि देशको आर्थिक समृद्धिको निम्ति नेपाली जनताले चाहेअनुसार विकासको एउटा नयाँ मोडेलको विकास गर्नकै निम्ति आफूलाई समर्पित गर्ने मैले प्रतिबद्धता व्यक्त गर्दै आएको छु र आज तपाईहरुको यो कार्यक्रममार्फत पनि त्यो व्यक्त गर्न चाहन्छु । नेपालको विकासको मोडेल नेपालको जस्तै हुनुपर्दछ,’उनले भने ।

आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्नुपर्ने पनि उनको भनाइ छ । उनले अगाडि भने, ‘विगतमा कतिपयले सिंगापुरजस्तो, स्विजरल्यान्डजस्तो, जापानजस्तो इत्यादि भन्ने पनि गरेका छौँ । तर अहिले सबैतिरको स्थिति हेर्दा हामीले नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ । हाम्रो इतिहास, भूगोल, संस्कृति, हाम्रो जातीय बनोटअनुसार नै त्यसैको अनुकुल नेपाली मोडेलको विकास हामीले गर्न सक्नुपर्दछ । राष्ट्रलाई समृद्ध बनाउनको निम्ति संस्कृतिको, कलाको, पत्रकारिताको वा विभिन्न क्षेत्रमा कार्यरत सबै श्रष्टाहरुको निकै ठूलो भूमिका छ । किनकि भौतिक विकासले मात्रै पनि मानिसहरुको जीवन र समाज सुमधुर हुन सक्दैन ।’

कला र संस्कृतिले मानिसलाई सफल जीवन बाँच्नका लागि प्रेरणा दिने उनको भनाइ छ ।

प्रकाशित : श्रावण ३०, २०७९ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?