कसैलाई अन्याय नहुने गरी टिकट वितरण हुन्छ : सभापति देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले न्यायसङ्गत ढंगबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गरेका हुन् ।

कसैलाई अन्याय नहुने गरी टिकट वितरण हुन्छ : सभापति देउवा

‘न्यायबद्ध रुपमा टिकट वितरण हुन्छ । कसैलाई अन्याय हुँदैन । तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस्‚’ उनले भने ।

आगामी निर्वाचनमा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको उनले बताए ।

आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको सभापति देउवाले उल्लेख गरे । ‘हाम्रो ध्यान मंसिर ४ मा छ । पहिलो पार्टी बन्छ भन्ने अठोटका साथ हामी लाग्नु पर्छ । त्यो समर्पणका साथ लाग्नुहुनेछ भन्ने लागेको छ । २०७४ सालमा हामी वाम गठबन्धनसँग एक्लै लडेर पराजित भएका थियौं; अहिले हाम्रो गठबन्धन छ । कति ठाउँमा जित्छौं भन्ने कुरा महत्त्वपूर्ण हो । त्यसैले यसमा साथीहरूले मनन गरेर लाग्नु होला‚’ उनले भने‚ ‘पार्टीका साथीहरूलाई भेदभाव गर्दिनँ । सबैलाई मिलाएर लाने इच्छा छ ।’

गठबन्धनका बाबजुद पनि आफूहरू पराजित भएको भन्दै उनले जनताले गाउँ-गाउँमा सिंहदरबार आयो भने पनि हामीले केही पाएनौं भन्न थालेको बताए ।

त्यस्तै कांग्रेसका उपसभापति धनराज गुरुङले अभिमुखीकरण सुशासनका लागि भएको बताए । व्यवस्थाप्रति पात्र बदलिए पनि प्रवृत्ति बदलिएन भन्ने जनगुनासो रहेको उनले बताए । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा भनिए पनि, सिंहदरबारको भ्रष्टाचार गाउँ-गाउँमा पुगेको छ । काठमाडौंबाट फर्किँदै गर्दा सुशासन तपाईंहरूको कार्यसम्पादनमा पुग्छ भन्ने विश्वास कांग्रेसलाई छ‚’ कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने ।

जनताका लागि खुल्ला किताब बन्न आग्रह गर्दै उपसभापति गुरुङले कार्यकर्तालाई पारदर्शी बन्न आग्रह गरे ।

कार्यक्रममा देशभरबाट समन्वय समितिका ३४ प्रमुख‚ २३ उपप्रमुख‚ १४१ नगरप्रमुख‚ ११० नगर उपप्रमुख‚ १८८ गाउँपालिका अध्यक्ष र १९ जना गाउँपालिका उपाध्यक्ष सहभागी थिए ।

प्रकाशित : श्रावण ३०, २०७९ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?