कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाबालिका बलात्कारमा मिलापत्र

४८ वर्षका पुरूषद्वारा १३ वर्षीया बालिका बलात्कृत भएपछि ७ लाख दिएर मिलापत्र, जनप्रतिनिधिदेखि सामुदायिक प्रहरीका उपाध्यक्षसम्म साक्षी
डीबी बुढा

जुम्ला — चन्दननाथ नगरपालिका–७ का ४८ वर्षका प्रेमजंग महतले गत वैशाखमा १३ वर्षीया बालिकालाई धर्मछोरीका रूपमा राखेका थिए । कमजोर आर्थिक हैसियतकी बालिकाकी आमाले दोस्रो बिहे गरेकी थिइन् । बालिकाकी सानिमाको पहलमा ‘भविष्य बन्छ भन्ने भएपछि’ उनलाई धर्मछोरीका रूपमा राख्न सबै तयार भएका थिए ।

नाबालिका बलात्कारमा मिलापत्र

धर्मछोरी मानिएकी बालिकालाई सुरुदेखि नै प्रेमजंगले यौन दुर्व्यवहार र बलात्कार गर्दै आएका थिए । बलात्कारबारे कसैलाई भनेमा मारिदिने धम्की दिएको पीडित बालिकाको भनाइ छ । निरन्तर शारीरिक र मानसिक यातनापछि असार २७ मा बालिकाले विष सेवन गरेर आत्महत्या गर्न खोजिन् । प्रेमजंगले तुरुन्तै साबुनको झोल पिलाएर बान्ता गराएर बालिकालाई बचाए । उनी बिरामी देखिएको भन्दै आमालाई जिम्मा लगाइदिए ।

बालिकाले आफूमाथि बलात्कार हुने गरेको र त्यो खप्न नसकेर विष खाएको खुलासा एक दिन आमासँग गरिन् । जुम्लाका चल्तापुर्जा निर्माण व्यवसायीका रूपमा चिनिएका प्रेमजंगविरुद्ध बालिकाकी आमाले तुरुन्तै प्रहरीमा जाने हिम्मत गर्न सकिनन् । बरु उल्टै प्रेमजंगले घटना बाहिर नल्याउन चौतर्फी दबाब मात्रै दिएनन्, आर्थिक प्रलोभन पनि दिए ।

स्थानीय सरकारी विद्यालयमा ४ कक्षामा पढ्दै गरेकी ती बालिका घटनापछि स्कुलसमेत जान नसक्ने भएकी छन् । पछिल्लो समय मामाघरमा बस्दै आएकी छन् ।

कमजोर आर्थिक अवस्थाकी आमालाई धाकधम्की र दबाब दिएर घटना गुपचुप राख्ने सर्तमा सात लाख रुपैयाँ दिने गरी प्रेमजंगले साउन १८ मा मिलापत्र गर्न लगाए । घटनाका बारेमा थाहा नहोस् भनेर उक्त मिलापत्रमा त्यतिका धेरै रकम दिनुको उद्देश्य बालिकाको पठनपाठनमा सहयोग गर्न भन्ने उल्लेख गरिएको छ । कान्तिपुरलाई प्राप्त उक्त मिलापत्रमा ‘हामी दुवै पक्ष सालाभिना नाता पर्ने भएकाले एकआपसको विश्वासमा राखिएकामा हाल दुवै पक्षको सहमतिले बालिकालाई आमाले बुझिलिने इच्छा जाहेर गरेको’ उल्लेख छ । उक्त मिलापत्रमा ‘दुवै पक्षको अहित हुने र चरित्रमा दाग लाग्ने खालका क्रियाकलाप गर्ने छैनौं’ भन्ने मात्रै लेखिएको छैन, ‘कोही कसैको उजुरबाजुर गर्ने छैनौं’ भनेर पनि उल्लेख गरिएको छ । मिलापत्रमा लेखिएको छ, ‘त्यस्तो उजुरबाजुर गरेको खण्डमा यसै कागजको प्रमाण लगाई बदर भएमा मञ्जुर छ ।’

बालिकामाथि भएको जबर्जस्ती करणीजस्तो गम्भीर फौजदारी कसुरलाई मिलापत्रबाटै टुंग्याउने अपराधमा केही स्थानीय अगुवाहरू पनि साक्षी बसेका छन् । मिलापत्रमा चन्दननाथ–६ का कालीबहादुर भण्डारी, जीवन महत, चन्दननाथ–४ का नवराज भारती, ६ का महेन्द्रबहादुर महत र तातोपानी–८ बस्ने ईश्वरी आरसी साक्षी बसेका छन् । साक्षी बसेमध्येका कालीबहादुर चन्दननाथ–५ का वडा सदस्य हुन् भने महेन्द्रबहादुर प्रेमजंगका दाजु र सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष हुन् । अर्का साक्षी ईश्वरी आरसी होटल व्यवसायी हुन् ।

पीडक महतबाट पैसा दिने गरी मिलापत्रको कागज तयार भएपछि साक्षी बसेका मध्येका एक जनाले १५ र अन्यले १०/१० हजारको दरले लिएको/बुझेको देखिन्छ । उक्त रकम बुझेलगत्तै सदरमुकामस्थित माछापुच्छ्रे बैंकमा रहेको बालिकाको खातामा ५ लाख र आमाको खातामा एक लाख रुपैयाँ राखेको देखिन्छ । कान्तिपुरसँग सम्पर्कमा आएका साक्षीहरूले भने मिलापत्र गर्ने बेलामा बालिका बलात्कारको प्रसंग नउठेको दाबी गरेका छन् । चन्दननाथ–५ का वडा सदस्य कालीबहादुर भण्डारीले मिलापत्र कागजमा बालिका हितका बारेमा मात्रै लेखिएकाले साक्षीका रूपमा सहीछाप गरेको तर्क गरे । उनले भने, ‘बालिका करणीको प्रसंग उठेको भए प्रेमजंगलाई नै कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने अवस्था हुन्थ्यो । तर यो विषय न आमाले उठाइन् न छोरीले । कागज हेर्दा बालिकाकै भविष्यका लागि बनेको जस्तो देखिएपछि साक्षी बस्न राजी भएका हौं ।’ साक्षी बनेबापत आफूले कुनै रकम नलिएको दाबी पनि उनले गरे ।

घटनापछि बालिकाको फरक स्वभाव देखिइरहेको उनी पढ्ने विद्यालयकी शिक्षिकाले बताइन् । उनले भनिन्, ‘पछिल्लो समयमा टोलाएर बस्ने, पढाइमा चासो नराख्ने र बेसहारा जस्तो देखिने र छिट्टै रोइकराइ गर्ने गर्न थालेकी छन् ।’ विद्यालयमा आइराख्ने तर पढाइमा निकै कम चासो दिन थालेपछि शिक्षिकाले बालिकाको स्वास्थ्य अवस्थाका बारेमा चासो पनि राखेका थिए । बालिकाले आफूमाथि बलात्कार भएको बताएकी थिइन् । घटना बाहिरिएपछि बालिकाकी आमाले साउन २८ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । उजुरीलगत्तै प्रहरीले प्रेमजंगलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । डीएसपी नरेन्द्र चन्दले भने, ‘पीडित बालिका मामाघरबाट आएपछि मेडिकल चेकजाँच गरेर रिपोर्ट ल्याउनेदेखि अन्य अनुसन्धानको काम अघि बढ्छ ।’

मानवअधिकार आयोगको ध्यानाकर्षण

१३ वर्षीया बालिकालाई करणी घटनाबारे जुम्लास्थित राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयले चासो लिएको छ । आयोगका जुम्ला प्रमुख बुद्धनारायण साहनी र अधिकृत धनराज शाहीको टोलीले पीडित बालिकाकी आमा र प्रहरीसँग भेटेर जानकारी लिएको छ ।

प्रमुख साहनीका अनुसार आयोगले घटना गम्भीर फौजदारी अपराध र बालअधिकार, यौन दुर्व्यवहार भएको विषयको अनुसन्धान गरेर पीडितले न्याय पाउनुपर्नेमा जोड दिएको छ । ‘प्रहरीले आरोपित चन्दननाथ–७ का ४८ वर्षीय प्रेमजंग महतलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालेको छ । यो सकारात्मक पक्ष हो,’ प्रमुख साहनीले भने, ‘यो घटनाको प्रभावकारी अनुसन्धान हुनुपर्छ ।’ पीडित बालिका र बालिकाकी आमाको पनि राज्यले उचित सुरक्षाको व्यवस्थापन गर्नुपर्ने आयोगले सुझाएको छ । घटना सामसुम पार्नेलाई पनि अनुसन्धान दायरामा ल्याएर कारबाही प्रक्रियामा लैजान ध्यानाकर्षण पनि गरिएको आयोगले जनाएको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?