कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

निर्वाचन सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित बैठक गृह मन्त्रालयमा बसिरहेको छ ।

निर्वाचन सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधीकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारी सहभागी छन् । आगामी निर्वाचन तयारीका लागि बसेको यो पहिलो बैठक हो ।

सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । मिति घोषणा भएसँगै चारैवटा सुरक्षा निकायले आ-आफ्नो तर्फबाट निर्वाचन सुरक्षा तथा साधन स्रोत र जनशक्ति व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाइसकेका छन् । सोही कार्ययोजना केन्द्रीय सुरक्षा समितिको बैठकमा पेस गरिएको छ ।

निर्वाचनमा चारवटै सुरक्षा निकायका पौने २ लाख सुरक्षाकर्मी र १ लाख २० हजार म्यादी प्रहरी खटाउने गरी प्रारम्भिक सुरक्षा कार्ययोजना बनेको छ ।

उक्त कार्ययोजनालाई सुरक्षा बैठकबाट पारित गराएर त्यहीअनुसारको जनशक्ति परिचालनको योजना तर्जुमा गर्ने गृहको तयारी रहेको छ । सेना‚ प्रहरी र सशस्त्रले चुनावका लागि सवारी‚ सञ्चार उपकरण‚ हातहतियार तथा अन्य बन्दोबस्तीका सामग्री तथा चुनावमा खट्ने जनशक्तिका लागि भत्तालगायतका सेवासुविधाको खाकासमेत बनाइसकेका छन् । यसलाई केन्द्रीय सुरक्षा समिति बैठकले अनुमोदन गरेपछि निर्वाचन आयोगमा थप छलफल गरिनेछ ।

प्रकाशित : श्रावण ३०, २०७९ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?