१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सार्वजनिक सेवा चुस्त र प्रभावकारी बनाउन अख्तियारको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएको छ । अख्तियारले नेपाल सरकारका सचिव तथा विभिन्न विभागीय प्रमुखहरुलाई आइतबार टंगालस्थित आयोग कार्यालयमा बोलाएर भ्रष्टाचार रोकथाम तथा नियन्त्रण र सुशासन कायम गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएको हो ।

सार्वजनिक सेवा चुस्त र प्रभावकारी बनाउन अख्तियारको निर्देशन

सरुवा, बढुवा तथा आर्थिक खटनपटनलगायतलाई पनि विधि, पद्धती र नियम संगत बनाउन सचिवहरुलाई निर्देशन दिएको हो । प्रमुख आयुक्त प्रेमकुमार राईले आइतबार भ्रष्टाचार नियन्त्रण र सुशासन कायममा देखिएका चुनौतीलगायत विषयमा सचिवहरुसँग अन्तक्र्रिया गरेका थिए ।

त्यसक्रममा प्रमुख आयुक्त राईले सूचना प्रविधिसम्बन्धी सुधारलाई एकीकृत गर्न, मन्त्रालयमा रहेका अनुगमन तथा मुल्यांकन महाशाखालाई सवलीकरण र अनुगमनबाट प्राप्त प्रतिवेदन प्रभावकारी कार्यान्वनयन गर्न सचिवहरुलाई निर्देशन दिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

राईले बजार अनुगमन र विकास निर्माण अनुगमन संयन्त्रलाई छुट्टाछुट्टै रुपमा प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने, संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणबाट स्वीकृत कार्यविवरणलाई कर्मचारी पदस्थापन गर्दा अनिवार्य रुपमा लागू गर्नुपर्ने र त्यस अनुसार कार्यसम्पादन गर्न लगाउन पनि निर्देशन दिएका छन् ।

सबै कर्मचारीले समयमै सम्पत्ति विवरण बुझाउने व्यवस्था विभागीय प्रमुखबाट सुनिश्चित गर्नुपर्ने बाताबरण मिलाउने, तिनै तहमा हुने अनुत्पादक खर्च निरुत्साहन गर्न महालेखा नियन्त्रक कार्यालयबाट मापदण्ड बनाई लागू गराउन, अनलाईन सेवा प्रवाह भएको स्थानमा समेत लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि प्रमुख आयुक्त राईले सचिवहरुलाई निर्देशन दिएका छन् ।

अन्तर–निकाय सहकार्य र समन्वयलाई प्रभावकारी बनाउन, परामर्श सेवाबाट आएका प्रतिवेदनलाई प्रयोगमा ल्याउन, प्रयोग गर्न नसक्ने भए आधार, कारण र सोको औचित्य खुलाई निर्णय गर्न, रुग्ण ठेक्कालाई कार्यान्वयनमा लैजानुपर्ने वा रद्द गर्नुपर्ने भए रद्द गरी लगत बाँकी नराख्न पनि उनले निर्देशन दिएका छन् । त्यस्तै भौतिक सम्पत्तिको अभिलेखलाई दुरुस्त राख्नुपर्ने, लिलाम तथा मर्मत सम्भारका कार्यहरु समयमै सम्पन्न गर्नुपर्ने, कर्मचारीलाई रमाना गर्दा बर बुझारथ गर्नुपर्ने, पेश्की बाँकी नरहेको यकिन गरेर मात्र कर्मचारीको रमाना गर्न पनि अख्तियारले निर्देशन दिएको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?