पार्टीभित्र शक्ति सन्तुलन मिलाउन शेखरको आग्रह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टीभित्र शक्ति सन्तुलन मिलाउन शेखरको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन नगरी गठबन्धनमा मात्रै जोड दिँदा परिणाम राम्रो नआउने भन्दै कांग्रेस नेता शेखर कोइरालाले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आन्तरिक शक्ति सन्तुलन मिलाएर अघि बढ्न चेतावनीयुक्त आग्रह गरेका छन् । 

पाँचवटा भ्रातृसंस्थाको अध्यक्ष मनोनयनमा एकलौटी गरिएपछि आक्रोशित कोइराला समूहले प्रदेशसभा र प्रतिनिधिसभाको ‘टिकट’ वितरणमा समेत सभापतिले त्यस्तै रवैया अपनाउन सक्ने भन्दै पार्टीभित्र ४० प्रतिशत भागबन्डाको दाबी गर्ने निर्णय गरेको छ । देउवालाई भेट्नुअघि कोइरालाले आफ्नो समूहका पदाधिकारी र शीर्ष नेतासँग शनिबार परामर्श गरेका थिए । त्यसक्रममा पार्टी सञ्चालन र सरकारका कामकारबाहीमा प्रतिस्पर्धी समूहको अस्तित्व स्वीकार नगरी एकलौटी ढंगले अघि बढेकाले कडा प्रतिवाद गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

देउवालाई भेट्न अपराह्न ३ बजे बालुवाटार गएका कोइरालाले करिब एक घण्टा ‘वान टु वान’ कुरा गरेका थिए । पार्टीको चौधौं महाधिवेशनमा देउवासँग सभापतिका मुख्य प्रतिस्पर्धी रहेका उनले केन्द्रीय कार्यसमितिका सदस्यदेखि भ्रातृसंस्थाका अध्यक्ष मनोनयनसम्मका कुरा राखेका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हुने ‘टिकट’ वितरणमा शक्ति सन्तुलन कायम हुन नसके देशभर असन्तुष्टि बढ्ने चेतावनी कोइरालाले दिएका छन् । ‘तपाईंको काम गर्ने कार्यशैलीबाट मलाई दबाब थेग्न गाह्रो भयो, भ्रातृसंस्थामा भएका एकलौटी निर्णय सच्याउनुहोस्, पार्टीभित्रको फरक विचार समूहको अस्तित्व स्वीकार गरेर अघि बढ्नुहोस्, यसरी एकलौटी ढंगले अघि बढ्ने हो भने गठबन्धनमात्रै गरेर कुनै लाभ हुन्न, देशभरका साथीहरूमा असन्तुष्टि बढेको देख्छु,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कि मिलाएर लैजानुहोस् । होइन भने महाधिवेशनमा पाएको ४० प्रतिशतको हैसियत खोज्नुपर्ने हुन्छ ।’

देउवाले अहिलेसम्म भएका निर्णयलाई स्वीकार गर्न आग्रह गर्दै भविष्यमा परामर्श गरेर अघि बढ्ने बताएका छन् । ‘अहिलेसम्म जे भयो–भयो, अब आइन्दा तपाईंसँग सल्लाह गरेर अघि बढ्छु,’ उनको भनाइ थियो । उनले चुनाव सामुन्नेमा आएकाले गठबन्धनको विरोध नगर्न र सहयोग गर्न आग्रह गरेका थिए । भेट्दा राम्रो कुरा गर्ने तर व्यवहारमा पुरानै प्रवृत्ति देखिने गरेको भन्दै कोइरालाले सिंगो पार्टीलाई एक बनाउन न्यायोचित अवसर र वितरणको माग गरेका थिए । समूहको सल्लाहअनुसार कोइराला आइतबार देउवालाई भेट्न एक्लै गएका हुन् । देउवाले अर्को पटक पदाधिकारीसहित छलफल गर्ने बताएका छन् ।

देउवाको बोली र व्यवहारमा एकरूपता नभएको भन्दै कोइराला समूहका युवा नेताले भने छुट्टै भेला राख्ने र देउवाले अध्यक्ष नियुक्ति गरेका पाँच भ्रातृसंस्थामा समानान्तर समिति बनाउनेसम्मको चेतावनी दिएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेका अनुसार सोमबार पाँचवटै भ्रातृसंस्थाका पाँच–पाँच जना नेतृत्वपंक्तिको बैठक बस्ने र छिट्टै राजधानीमा भेला गर्ने तयारी भइरहेको बताए । ‘भोलि बस्ने भ्रातृसंस्थाका युवा नेताको बैठकले भेलाको निर्णय गर्छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३०, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्

शब्दकोशबाट थरका अपमानजनक अर्थ हटाऊ

सम्पादकीय

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशमा आजपर्यन्त कतिपय आदिवासी, जनजाति र दलितका थरलाई अपमानजनक विशेषणका रूपमा प्रयोग गरिनु आपत्तिजनक छ । २०४० सालमा प्रतिष्ठानले प्रकाशन गरेको शब्दकोश चार वर्षअघि मात्रै १० औं पटक संशोधन गरिँदा पनि आदिवासी, जनजाति र दलित थरसँगै राखिएका निन्दनीय अर्थ र विशेषण जस्ताका तस्तै छन् ।

शब्दकोश प्रकाशित भएयता देशमा प्रजातन्त्र पुनःस्थापना भयो; लोकतन्त्र आयो; सबै जातजाति, वर्ग, समुदायको सम्मानित जीवनका पक्षमा अभियानहरू चले; संविधानसभानिर्मित संविधानले हरेक नागरिक सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्‍यो, तैपनि शब्दकोशमा भने समयोचित सुधार हुन नसक्नु दुःखद छ ।

निश्चय पनि शब्दकोश कुनै राजनीतिक दस्ताबेज होइन, खालि यसमा निश्चित भाषा र यसले अवलम्बन गरेका शब्दहरूको अर्थ समेटिइएको हुन्छ । तर, यसमा हिजोको जागरणविहीन समाजमा चलनचल्तीमा रहेका अरूलाई होच्याउन प्रयोग गरिने विशेषणहरूलाई जस्ताको तस्तै, उनीहरूको थरसँग जोडेर राखिन्छ र समयक्रमसँगै सच्याइन्न भने त्यो फेरि राजनीति हो, जुन किमार्थ सह्य हुन सक्दैन । शिक्षित र आफ्ना विधामा प्रतिष्ठित व्यक्तित्वहरूको संलग्नतामा शब्दकोश संशोधन हुँदा पनि यो पक्षमा अझै ध्यान नपुग्नु उदेकलाग्दो छ । यस्ता अर्थहरूलाई निरन्तरता दिइरहनु भनेको देशको पछिल्लो जागरण र परिवर्तनलाई आत्मसात् नगर्नु मात्र होइन, सम्बन्धित समुदाय र व्यक्तिको आत्मसम्मानप्रति संवेदनाशून्य बन्नु पनि हो ।

शब्दकोशको अघिल्लो संस्करणमा उल्लिखित आफ्नो थरको अर्थले अपमान भएको भन्दै ‘कसाई’ समुदायका अगुवाहरूले अदालतमा मुद्दा दायर गरेपछि प्रतिष्ठानले भूलसुधार गरेको थियो । तैपनि दर्जनौं अन्य जातको अर्थ भने तिरस्कारपूर्ण नै हुनु भनेको प्रतिष्ठानले उक्त मुद्दाबाट समेत सिक्न नसकेको उदाहरण हो । अहिले पनि केही थरलाई एकार लगाएर बिगारिएको छ, जसलाई सम्बन्धित समुदायले आफूप्रतिको विभेदका रूपमा बुझेका छन् । केही थरका अर्थहरूमा आपत्तिजनक विशेषणहरू दिइएको छ, जसबाट उनीहरूले अपमानबोध गरेका छन् ।

उदाहरणका लागि, शब्दकोशमा कुसुन्डा जातिलाई ‘कुसुन्डो’ भनिएको छ, नाम र विशेषण खुलाउँदै लेखिएको छ, ‘काठमाडौंको पश्चिम–दक्षिणको जंगली भेगमा बस्ने खिइँदै गएको घुमन्ता एक जाति, असभ्य, धुस्रोफुस्रो र नाङ्गोभुतुङ्गो, स्त्री. कुसुन्डी ।’ शब्दकोशमा नेवारभित्रको थर ‘पोडे’ लाई ‘नेवार जातिको एउटा निम्नवर्ग, फोहोरमैला आदि सफा गर्ने जाति, चाण्डालको एक भेद, देउला’ भनिएको छ भने सतारलाई ‘विशेष गरेर नेपालको पूर्वी तराई झापा जिल्लामा बस्ने एक जाति, अग्लो मोटोघाटो’ मात्र भनिएको छैन, थप विशेषणका रूपमा ‘खुब सप्रेको, लाज नभएको, नकच्चरो, कसैलाई नटेर्ने, उन्मत्त’ भनेर अर्थ्याइएको छ । ‘हायु’ लाई नेपालको पूर्वी पहाडी भागमा बसोबास गर्ने एक जाति भनिए पनि विशेषणमा व्याख्या गरिएको छ, ‘धेरै खाने, खन्चुवा, आफ्नो खुबी नभएको, गतिपतिहीन ।’ यसै गरी खवास, डोम र कामीका विशेषण पनि अनुचित छन् । भाषाको मानक स्थापनाका निम्ति चिनिएको संस्थालाई यस्तो खेलाँची गर्ने छुट छैन ।

जसरी मानिसले सामूहिक तस्बिरमा सबैभन्दा पहिले आफूलाई खोज्छ, त्यसै गरी पहिलोचोटि शब्दकोश पल्टाउनेले पनि केही कौतूहल लागेका शब्दसँगै आफ्नो नाम–थरको अर्थ हेर्न चाहन्छ । अब कोही जिज्ञासुले शब्दकोश पल्टाउँदै गर्दा जब आफ्नो जाति–समुदायलाई तिरस्कार गरिएको विशेषण पाउँछ, तब उसको मनमा कस्तो भाव उत्पन्न होला ? यसबाट उसको आत्मसम्मानमा कति ठेस पुग्ला ? भाषा, साहित्य, संस्कृति, इतिहास, कला, वाङ्मयको अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने जेठो प्राज्ञिक संस्थाबाटै यो गल्ती भैरहँदा सम्बन्धित समुदायले यसलाई राज्य प्रवर्द्धित अपमानकै रूपमा बुझ्नेछन्, जुन अस्वाभाविक पनि होइन । त्यसैले मुलुकको प्रगतिशील यात्रालाई नै बिटुलो बनाउने शब्दकोशका यस्ता त्रुटिहरू सच्याइनुपर्छ ।

जसरी नागरिकतामा अपमानजनक नाम राखेर नागरिकलाई होच्याइएको विषय सच्याउन गृह मन्त्रालयले मातहत कार्यालयहरूलाई परिपत्र गरेको छ, त्यही रीतमा अब प्रतिष्ठानले पनि शब्दकोश संशोधन गर्नुपर्छ । त्यसका निम्ति ११ औं संशोधनका क्रममा मुलुकका सम्भव भएसम्मका सबै जातजाति र समुदायका विज्ञहरू समेटिनुपर्छ । जो समेटिँदैनन्, उनीहरूसित पनि पर्याप्त परामर्श गरिनुपर्छ । यस्ता अपमानजनक अर्थहरू अरू कति छन्, खोजी गरी तिनलाई हटाइनुपर्छ । र, सम्बन्धित जात, जातिका परम्परागत भाषा, धर्म, संस्कृति, परम्परा अनुसारका अर्थपूर्ण नाम/विशेषणहरू थपिनुपर्छ ।

प्रतिष्ठानले हमेसा हेक्का राख्नुपर्छ— संवेदनशील विषयमा कुनै पनि अर्थ आफूखुसी अभिलेख नगरियोस् ! शब्दकोशकै कारण कसैको पनि स्वाभिमानमा चोट नपुगोस् !

प्रकाशित : श्रावण ३०, २०७९ ०६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×