१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

देउवा-कोइराला वार्ता, देउवाले भने- ‘अब सल्लाह गरेर जाऔंला’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेता शेखर कोइरालासँग छलफल गरेका छन् । आठ महिनाअघि पार्टीको १४ औंमहाधिवेशनमा सभापतिको प्रत्यासी रहेका कोइरालाले सभापति देउवाले पार्टीमा एकलौटी गरेको र सरकारमा समेत जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै आएका छन् ।

देउवा-कोइराला वार्ता, देउवाले भने- ‘अब सल्लाह गरेर जाऔंला’

कोइराला समूहले दैनिकजसो भेला र छलफल कार्यक्रम गरेर देउवामाथि दबाब सिर्जना गर्दै आएको छ । निर्वाचन मितिसमेत घोषणा भइसकेको सन्दर्भमा सभापति देउवाले आइतबार साँझ कोइरालासँग भेटवार्ता गरेका हुन् । देउवा र कोइरालाबीच करिब एक घण्टा 'वान टु वान' कुराकानी भएको छ ।

भेटमा कोइरालाले पार्टी सञ्चालनमा देउवाले गरेका कमजोरीबारे आफूले थेग्नै नसक्ने गरी कार्यकर्ताबाट दबाब आइरहेको भनेका थिए । जवाफमा सभापति देउवाले पार्टी सञ्चालनका विषयमा अब परामर्श गरेरमात्रै निर्णय लिने बताएका छन् ।

‘अहिलेसम्म जे भयो, भयो, अब सल्लाह गरेरै काम गरौँला । चुनाव आएको छ, पार्टीलाई जिताउने गरी सबै जना लाग्नुस्,’ भेटमा देउवाले भनेका थिए । कोइरालाका स्वकीयसचिव दिनेश थपलियाले भेटमा पार्टी सञ्चालनका विषयमा सकारात्मक छलफल भएको बताए ।

कोइराला समूहले महाधिवेशनपछि निर्वाचनमा टिकट वितरण, पार्टीको सदस्य मनोनयन, भ्रातृ संस्थाको नेतृत्व चयनलगायत विषयमा देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ ।

शनिबार पनि कोइराला समूहका नेताहरूले काठमाडौंमा भेला गरेर आगामी निर्वाचनमा टिकट वितरण एक्लौटी हुन सक्ने भन्दै भागबन्डा गर्नुपर्ने, नगरे विद्रोह गर्ने चेतावनी दिएका थिए । आइतबार दिउँसो पनि नेताहरूले कोइरालालाई भेटेर देउवाविरुद्ध दबाब बढाउन आग्रह गरेका थिए । कोइराला समूहका भ्रातृ संस्थाका पूर्वपदाधिकारीहरूले सोमबार पनि काठमाडौंमा छुट्टै भेला राखेका छन् ।

प्रकाशित : श्रावण २९, २०७९ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?