जेठयता ३३ दिन उठेन काठमाडौंको फोहोर

गोविन्द पोखरेल

काठमाडौँ — शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले १५२ वटा गाडीले बन्चरेडाँडामा फोहोर विर्सजन गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिए । कुनै अवरोध नभएमा दैनिक ३ सय ५० वटा गाडीले बन्चरे डाँडामा फोहोर विसर्जन गर्ने दाबी गरेका थिए ।

जेठयता ३३ दिन उठेन काठमाडौंको फोहोर

मेयर शाहको दाबी २४ घण्टा नबित्दै फेल खायो । फोहोर बोकेर ल्यान्डफिल साइट गएको ट्रकले आइतबार बिहानै नुवाकोटको कागते गाउँमा बाख्रा किचिदिएपछि स्थानीयले अवरुद्ध गरिदिए । केही समयको वार्तापछि फोहोर विसर्जन भयो ।

तर, तीनपिप्ले सडकखण्डअन्तर्गत पर्ने तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा दुईवटा टिपरले बाटोमै फोहोर विसर्जन गरिदिएपछि स्थानीय विरोध गर्दै प्रदर्शन गाडी रोकिदिए । आइतबारदेखि बिनाअवरोध फोहोर उठ्ने अपेक्षा गरे पनि सामान्य विवादका कारण उठ्न सकेन ।

महानगरका प्रवक्ता नवीन मानन्धरले बाख्रा किचेपछि उत्पन्न विवाद सल्टाएपछि फोहोर बोक्ने गाडीले सडकमै फोहोर विसर्जन गरिदिएपछि अवरुद्ध भएको जानकारी दिए । आइतबार दिनभर स्थानीयले सडकमै फोहोर विसर्जन गरिदिएको भन्दै आन्दोलन गरेका थिए । आइतबार बिहान बन्चरेडाँडामा करिब सय ट्रक फोहोर व्यवस्थापन भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सडकमै फोहोर विसर्जन गर्ने प्रदेश नम्बर ३–००३–१२४६ नम्बरको टिपरका चालकलाई नियन्त्रणमा लिएर २५ हजार रुपैयाँ जरिवाना गराएको जनाएको छ ।

गत जेठ २६ गते बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिसँग सहरी विकास मन्त्रालय, काठमाडौं र ललितपुर महानगरालिकासहित ल्यान्डफिल साइट प्रभावित पालिकाका जनप्रतिनिधिहरुबीच फोहोर व्यवस्थापन सहज बनाउने सम्बन्धमा सहमति जुटेको थियो । तर सामान्य विवादका कारण फोहोर बोक्ने गाडी अवरुद्ध हुँदै आएका छन् ।

विगतका वर्षहरूमा पनि काठमाडौंको फोहोर मनसुनको समयमा अवरुद्ध हुँदै आएको छ । ल्यान्डफिल साइट जाने सडक वर्षायाममा भत्कने र सिसडोलमा बनाइएको फोहोरमाथिको सडक छिचोल्दै जानुपर्ने भएपछि अवरुद्ध हुने गरेको थियो । अन्य वर्षहरूमा सडकमा थुपारिएको फोहोर टेकुस्थित ट्रान्सफर स्टेसनमा राख्ने गरिएको थियो । तर,यसपालि टेकुमा फोहोर विगतका वर्षहरुमा जसरी नराखिएपछि सडकमा फोहोर धेरै देखिएका हुन् ।

जेठयता काठमाडौंको फोहोर ३३ दिनसम्म नउठेको पाइएको छ । महानगरपालिकाबाट कान्तिपुरलाई प्राप्त तथ्यांक‍अनुसार जेठ ७ र ८ गते, १४ देखि २४ र २६ गते गरी १३ दिन फोहोर उठेन । जेठ महिनामा काठमाडौं महानगरपालिकाको सवारी साधनले २ सय ४३ टिप मात्रै फोहोर विसर्जन गरेका छन् । असारमा १५, १८, ३१ र ३२ गते गरी ४ दिन फोहोर अवरुद्ध भयो । असारमा महानगरले ३ सय ४८ टिप फोहोर बन्चरेडाँडामा विसर्जन गर्‍यो ।

सबैभन्दा धेरै अवरुद्ध साउनमा भएको छ । साउनमा १६ दिनदेखि फोहोर विसर्जन हुन पाएको छैन । साउन ३ देखि १४ गतेसम्म सडक अवरुद्ध हुँदा विसर्जन हुन पाएन । यस्तै, २२ देखि २७ गतेसम्म सडकको अवस्था, सवारी साधान तोडफोड हुँदा विसर्जनमा समस्या भएको थियो । साउन २७ गतेसम्म महानगरले १ सय १४ टिप मात्रै फोहोर विसर्जन गर्‍यो । निजी क्षेत्रहरुले लैजाने फोहोरको मात्रामा धेरै छ ।

मेयर शाहले शनिबार राति कुनै पनि हालतमा सिसडोलको दुरावस्था बन्चरे डाँडामा दोहोर्‍याउन नदिने दाबी गरे पनि हाल फोहोरको व्यवस्थापन महानगरले सोचेअनुरुपको छैन । लामो समयसम्म फोहोर उठ्न नसकेपछि अहिले एकै पटक बन्चरेडाँडामा विसर्जन गरिँदै आएको छ । मेयर शाहले अन्य विकल्पमहरुमा जानु व्यावहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यसैबीच, आइतबार धुनिबेंसी वडा नम्बर १ का कांग्रेस, माओवादी र नेकपा एसका वडा समितिद्वारा सदाका लागि फोहोर विसर्जन बन्द गर्न माग गर्दै ती पार्टीका नगर कार्य समितिलाई निवेदन लेखेपछि मेयर शाहले ‘फोहोरको रास लगाएर कुहिएको राजनीतिक खेल नखेल्न’ आग्रह गरेका छन् ।

कांग्रेस, माओवादी र नेकपा एसका धुनिबेंसी–१ वडा समितिले पार्टी नगरसमितिलाई संयुक्तरुपमा पत्र लेख्दै बन्चरेडाँडामा फोहोर मैला विसर्जन दीर्घकालीनरुपमा बन्द गर्न आग्रह गरेका हुन् । उनीहरुले ती पार्टीको नगर कार्यसमितिलाई पत्र लेख्दै फोहोर मैला विसर्जन सदाका लागि बन्द गराउन पहल गर्न आग्रह गरेका थिए । ती पार्टीका वडा समितिले पत्र लेखेपछि मेयर शाहले ‘फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन’ आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौं ।’

फोहोर व्यवस्थापनका लागि संरचना बनिसकेको मुअब्जालगायतका काममा ५ अर्ब खर्च भइसकेको पनि उनले बताए । सबै सम्झौताहरू वैधानिकरुपमा गरिएको र कसैले पनि नझुक्याएको उनको भनाइ थियो ।

यस्तै, सत्तारुढ गठबन्धनको आइतबार बालुवाटारमा बसेको बैठकले सरकारलाई फोहोर उठाउनका लागि ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७९ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?