नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरेपछि अब के हुन्छ ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरेपछि अब के हुन्छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फेरि संसद्मै फिर्ता पठाएकी छन् । संविधानअनुसार संसद्‌बाट पारित विधेयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण वा पुनर्विचार गर्न सक्छन् । राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी पुनर्विचारको दोस्रो विकल्प रोजेकी हुन् ।

‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्‌बाट पुनर्विचार हुन आवश्यक देखिएकाले' भन्ने राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

अब के हुन्छ ?

राष्ट्रपति फिर्ता पठाएको विधेयक सरकारले अघि बढाउन चाहे त्यसलाई अब फेरि संसद्‌मा पुरानै प्रक्रिया अबलम्बन गर्नुपर्छ । सरकारले उक्त विधेयक फेरि प्रतिनिधिसभामा टेबुल गर्नुपर्छ । यसरी टेबुल गरेको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नुपर्छ । त्यसपछि उक्त विधेयकमा ७२ घन्टाको संशोधन हाल्ने समय दिनुपर्छ । त्यसपछि प्रतिनिधिसभाले दफावार छलफलका लागि समितिमा पठाउन पनि सक्छ सभाबाटै टुंग्याउन पनि सक्छ ।

यो प्रक्रियाबाट प्रतिनिधि सभाबाट पास भएपछि उक्त विधेयक राष्ट्रियसभामा पठाइन्छ । राष्ट्रिय सभाले पनि प्रतिनिधि सभाकै जस्तो प्रक्रिया पूरा गरेपछि सन्देशसहित प्रतिनिधिसभामा आउँछ । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभाले स्वीकृत गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइन्छ । यसरी पठाएको विधेयक राष्ट्रपतिले फेरि फिर्ता गर्न मिल्दैन ।

प्रकाशित : श्रावण २९, २०७९ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्

देउवा-कोइराला वार्ता, देउवाले भने- ‘अब सल्लाह गरेर जाऔंला’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेता शेखर कोइरालासँग छलफल गरेका छन् । आठ महिनाअघि पार्टीको १४ औंमहाधिवेशनमा सभापतिको प्रत्यासी रहेका कोइरालाले सभापति देउवाले पार्टीमा एकलौटी गरेको र सरकारमा समेत जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै आएका छन् ।

कोइराला समूहले दैनिकजसो भेला र छलफल कार्यक्रम गरेर देउवामाथि दबाब सिर्जना गर्दै आएको छ । निर्वाचन मितिसमेत घोषणा भइसकेको सन्दर्भमा सभापति देउवाले आइतबार साँझ कोइरालासँग भेटवार्ता गरेका हुन् । देउवा र कोइरालाबीच करिब एक घण्टा 'वान टु वान' कुराकानी भएको छ ।

भेटमा कोइरालाले पार्टी सञ्चालनमा देउवाले गरेका कमजोरीबारे आफूले थेग्नै नसक्ने गरी कार्यकर्ताबाट दबाब आइरहेको भनेका थिए । जवाफमा सभापति देउवाले पार्टी सञ्चालनका विषयमा अब परामर्श गरेरमात्रै निर्णय लिने बताएका छन् ।

‘अहिलेसम्म जे भयो, भयो, अब सल्लाह गरेरै काम गरौँला । चुनाव आएको छ, पार्टीलाई जिताउने गरी सबै जना लाग्नुस्,’ भेटमा देउवाले भनेका थिए । कोइरालाका स्वकीयसचिव दिनेश थपलियाले भेटमा पार्टी सञ्चालनका विषयमा सकारात्मक छलफल भएको बताए ।

कोइराला समूहले महाधिवेशनपछि निर्वाचनमा टिकट वितरण, पार्टीको सदस्य मनोनयन, भ्रातृ संस्थाको नेतृत्व चयनलगायत विषयमा देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ ।

शनिबार पनि कोइराला समूहका नेताहरूले काठमाडौंमा भेला गरेर आगामी निर्वाचनमा टिकट वितरण एक्लौटी हुन सक्ने भन्दै भागबन्डा गर्नुपर्ने, नगरे विद्रोह गर्ने चेतावनी दिएका थिए । आइतबार दिउँसो पनि नेताहरूले कोइरालालाई भेटेर देउवाविरुद्ध दबाब बढाउन आग्रह गरेका थिए । कोइराला समूहका भ्रातृ संस्थाका पूर्वपदाधिकारीहरूले सोमबार पनि काठमाडौंमा छुट्टै भेला राखेका छन् ।

प्रकाशित : श्रावण २९, २०७९ २०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×