नागरिकता विधेयक फिर्ताबारे दलहरूको साझा धारणा आउँछ : गुरुङ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता विधेयक फिर्ताबारे दलहरूको साझा धारणा आउँछ : गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌बाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी पुनर्विचार गर्न भनी फिर्ता पठाएको विषयमा सत्तारुढ दलहरूले साझा धारणा तय गर्ने भएका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले राजनीतिक दलहरूबीच साझा धारणा तय भएपछि के गर्ने भन्ने विषयमा छलफल हुने बताए । 

राष्ट्रपति भण्डारीले आइतबार साँझ नागरिकता विधेयक पुनर्विचार गर्नका लागि फिर्ता पठाएपछि ईकान्तिपुरसँग कुरा गर्दै गुरुङले विधेयकको कुन-कुन व्यवस्थामा पुनर्विचार गर्नू भनेर पठाएको भन्ने हेरिने बताए ।

'प्रमाणीकरणका लागि प्राप्त भएको १५ दिनभित्र कि प्रमाणीकरण गर्ने नभए कुन व्यवस्थामा पुनर्विचार गर्नुपर्ने हो त्यो उल्लेख गरेर फिर्ता पठाउनुपर्ने संवैधानिक व्यवस्था हो,' उनले भने, 'राष्ट्रपतिले संविधानका धारा र विधेयकका दफा उल्लेख गरेर पुनर्विचार गर्न भन्नुभएको हो कि सामान्यरूपमा फिर्ता पठाउनुभएको हो भन्ने हेरेर दलहरूले धारणा तय गर्छौं ।'

नागरिकता विधेयक फिर्ता भएको भनेर राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा संविधानको नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्‌बाट पुनर्विचार हुन आवश्यक भएको भन्दै फिर्ता गरिएको उल्लेख छ । त्यसबारे गुरुङले भने, 'पत्राचारमा के कुरा उल्लेख गर्नुभएको छ भन्ने मुख्य कुरा हो ।'

राष्ट्रपतिले प्रतिनिधिसभालाई पठाएको पत्र भने संसद् सचिवालयमा पुगेको छैन । आइतबार साँझ कार्यालय समय सकिएपछि राष्ट्रपतिले नागरिकत विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको निर्णय गरेकीले पत्र संसद् सचिवालय नपुगेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : श्रावण २९, २०७९ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्

बालिका बलात्कार घटनामा मानवअधिकार आयोगको चासो

डीबी बुढा

जुम्ला — १३ वर्षीया बालिकालाई करणीको विषयमा राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले चासो देखाएको छ । आयोगका शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनी र मानवअधिकार अधिकृत धनराज शाहीको टोलीले पीडित बालिकाको आमा र प्रहरीसँग भेटेर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रमुख साहनीका अनुसार आयोगले यो घटना गम्भीर फौजदारी अपराध र बालअधिकार, यौन दुर्व्यवहार भएको विषयको अनुसन्धान गरेर पीडितले न्याय पाउनु पर्नेमा जोड दिइएको छ । प्रहरीले आरोपित चन्दननाथ ७ का ४८ वर्षीय प्रेमजंग (प्रेमराजा) महतलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालेको छ । यो सकारात्मक पक्ष हो । प्रमुख साहनीले भने, 'अझै यस घटनाको प्रभावकारी अनुसन्धान गरी न्याय नमर्ने हुनु पर्दछ ।'

घटनाको विषय उठान गर्ने र समाचार सम्प्रेषण गर्ने पत्रकार र पीडित बालिका र बालिकाको आमाको पनि राज्यले उचित सुरक्षा व्यवस्थापन गर्नुपर्ने सुझाइएको छ ।

घटना सामसुम पार्ने घटनाका मतियारलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारबाही प्रक्रियामा लैजान ध्यानाकर्षण पनि गरिएको आयोगले जनाएको छ । यौन दुर्व्यवहार घटनाका आरोपित महतले तीन महिनासम्म पटक-पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ ।

आरोपित महतले ती बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने भनी छोरी बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी ०७९ वैशाख महिनादेखि घरमा लगिएको थियो ।

प्रकाशित : श्रावण २९, २०७९ २०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×