आउँदो निर्वाचनमा सेवानिवृत्त सुरक्षाकर्मीलाई प्राथमिकता दिन सरकारलाई आयोगको सुझाव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आउँदो निर्वाचनमा सेवानिवृत्त सुरक्षाकर्मीलाई प्राथमिकता दिन सरकारलाई आयोगको सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सेवानिवृत्त सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको बताएका छन् । 

निर्वाचन आयोगले आइतबार आयोजना गरेको सम्पादकहरुसँगको छलफलमा उनले सेवानिवृत्त भएका सुरक्षाकर्मीहरुलाई जुन पदबाट सेवानिवृत्त भएका हुन् सो सरह तलब, सुविधा दिएर राखे तालिमप्राप्त जनशक्ति प्राप्त हुने र राज्यको खर्च पनि कम लाग्ने बताए । उनले राष्ट्रिय सेवा दल र स्थानीय तहमा खटाइएका म्यादी प्रहरीहरुलाई प्राथमिकतामा राखेर अघि बढे सरकारको सुरक्षासम्बन्धी विभिन्न शीर्षकमा हुने खर्च कम हुने पनि बताए ।

‘हामीसँग पनि उच्चस्तरीय सुरक्षा संयन्त्र छ । हामीले प्रस्ट भनेका छौं भने सेवानिवृत्त सुरक्षाकर्मीलाई त्यहाँ लगाउँ । उसलाई जुन पदबाट निवृत्त भएको छ, त्यही पद बराबरको तलब, सुविधा दिऔं,' उनले भने, 'उसँग हिजो त ड्रेस थियो, त्यही ड्रेस लगाएर आउने र ड्रेसको खर्च घटाऔँ । यो गरे खर्च घट्छ, तालिमप्राप्त हुन्छ । राष्ट्रिय सेवा दललाई पनि प्रयोग गरौं । त्यसले पुगेन भने स्थानीय तहको निर्वाचनमा प्रयोग भएकालाई बोलाऔं । हामीले लिखित जवाफ दिएका छौं, कत्तिको मान्य हुन्छ थाहा छैन ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले इलेक्ट्रिक भोटिङ सिस्टम र अनलाइन भोटिङ सिस्टम लागू गर्ने हो भने अब बन्ने कानुनमा त्यससम्बन्धी दफा थपेर जानुको विकल्प नरहेको बताए । उनले आयोगले यसबारेमा विभिन्न दलहरुसँग बसेर छलफल गरे पनि निष्कर्ष ननिस्किएको भन्दै बाध्यकारी कानुनको विकल्प नरहेको उनले बताए । उनले विदेशमा बस्ने नागरिकलाई मतदानको अधिकार दिने हो भने ईभीएममा जाने कि ई-भोटिङमा जाने भन्ने बहस चलिरहेको बताए । उनले राष्ट्रपति, उपराष्ट्रपतिको चुनावमा भए पनि इलेक्ट्रिक भोटिङ सिस्टमको प्रयोग गर्न आयोग तयारी गरिरहेको जानकारी पनि दिए ।

प्रकाशित : श्रावण २९, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्

'लालसिंह चड्ढा'को व्यापार २० प्रतिशतले बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — आमिर खान अभिनीत फिल्म 'लालसिंह चड्ढा' व्यावसायिक हिसाबले माथि उक्लन थालेको छ । प्रदर्शनको पहिलो दिन निकै कम ओपनिङ व्यापार गरेको फिल्मको तेस्रो दिनको कमाइ २० प्रतिशतले बढेको 'बक्स अफिस अफ इन्डिया डटकम'ले उल्लेख गरेको छ । 

फिल्मले तेस्रो दिनसम्म आइपुग्दा जम्मा २७ करोडको व्यापार गरेको छ । हलिउड फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक यो फिल्मले तेस्रो दिन भारु रकम ८ करोड ७५ लाखमाथिको कमाइ गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । 'सेक्रेट सुपरस्टार'का निर्देशक अद्भेत चन्दनले निर्देशन गरेको यस फिल्ममा अभिनेता आमिरसँगै करिना कपुरको प्रमुख अभिनय छ ।

'बक्स अफिस अफ इन्डिया डटकम'ले शनिबार फिल्मले ४० प्रतिशतले व्यापार गर्ने अनुमान गरेको थियो । तर, फिल्मले शनिबार पनि २० प्रतिशत व्यापार गरेको थियो ।

सामाजिक सञ्जालमा फिल्मलाई ब्वोइकट गर्न थालेपछि 'लालसिंह चड्ढा'को यो हालत भएको हो । धार्मिक भावनालाई खलल पुर्‍याएको र भारतीय प्रहरीलाई गलत प्रस्तुत गरिएको भन्दै फिल्म विवादमा समेत तानियो । तर, यस्तै बेला अभिनेता आमिरले भने 'हर घर तिरंगा' अभियानमा सहभागी जनाउँदै आफ्नो घरमा भारतको झन्डा फहराएका छन् । आमिरले भारतको झन्डा फहराउन थालेसँगै के दर्शकको भीड हलमा उनको फिल्म हेर्न ओइरिएला ? त्यो त पछि नै थाहा हुनेछ ।

प्रकाशित : श्रावण २९, २०७९ १७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×