३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘किरा नियन्त्रणका लागि रासायनिक होइन, जैविक विधि रोजौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — किट र मिचाहा झार व्यवस्थापनसम्बन्धी विज्ञ प्राध्यापक मुनी मुनियाप्पनले नेपाल किटजन्य रोग तथा मिचाहा झारको प्रकोपको उच्च जोखिममा रहेको बताएका छन् ।

‘किरा नियन्त्रणका लागि रासायनिक होइन, जैविक विधि रोजौं’

अमेरिकाको भर्जिनिया टेक युनिभसिर्टीको ‘फिड द फ्युचर इनोभेसन ल्याब’को ‘एकीकृत किट व्यवस्थापन कार्यक्रम’ प्रमुखसमेत रहेका प्राध्यापक मुनीले नेपालमा किटजन्य रोग तथा मिचाहा झारको प्रकोपको उच्च जोखिममा रहेको भन्दै उनले रासायनिक नभएर जैविक विधिमार्फत किरा नियन्त्रण गर्नुपर्ने बताए ।

प्राध्यापक मुनीले जलवायु परिवर्तनलगायतले गर्दा किराजन्य रोगहरू फैलने उच्च जोखिम रहेको समेत बताए । एउटा ठाउँमा मात्रै पाइने प्रजातिहरू ग्लोबलाइजेसनसँगै संसारभरि पाइन थालेको उनले बताए । राम्रो उद्देश्यका लागि ल्याइएका बिरुवाहरूको मिचाहा प्रवृत्ति थाहा नहुँदा समस्याको रुपमा देखा परेको उनको भनाइ छ ।

नेपालमा हुने किट र मिचाहा प्रजाति व्यवस्थापनमा हुने अध्ययन/अनुसन्धानमा प्रत्यक्ष रुपमा विश्वविद्यालय तथा सरकारी संस्थाहरूलाई प्राज्ञिक एवं वैज्ञानिक सहयोग गर्दै आएका प्राध्यापक मुनीले कान्तिपुरसँगको कुराकानीमा मानिसको आवातजावत र व्यापार व्यवसाय हुने क्षेत्र बढ्दै जाँदा सजावटका लागि भनेर ल्याएर रोपिएको बिरुवाबारे सर्वसाधारणलाई त्यसको मिचाहा प्रवृत्ति र जोखिमबारे थाहा नहुँदा समस्या भइरहेको बताए ।

यस्तै, मकैमा लाग्ने अमेरिकी फौजी किरा, टमाटरमा लाग्ने ‘टुटा एब्सोलुटा’ भनेर चिनिने लिफ माइनरजस्ता किराले नेपाली कृषकलाई दु:ख दिइरहेको उनले बताए । हाल यी किराको प्राकृतिक रुपमै नियन्त्रण गरिने विषयमा उनको समूहले अनुसन्धान गरिरहेको छ । ‘अहिले देखिएका यी किराको प्राकृतिक सूत्र पत्ता लगाउनका हामीले अनुसन्धान गरिरहेका छौं । यी प्रजातिलाई नियन्त्रण गर्ने केही जिवाणुहरू पनि हामीले पत्ता लगाएका छौं,’ प्राध्यापक मुनीले कान्तिपुरसित भने,‘ यी जिवाणुलाई ल्याबमा कल्चर गरेर कृषकलाई वितरण गर्ने तयारी गरिरहेका छौं । ’

उनले किरा नियन्त्रणका लागि विषादी प्रयोग गर्नु जोखिम रहेको बताए । एकै पटक अध्ययनबिना नै विषादी प्रयोग गर्दा त्यसले पर्यावरणीय र स्वास्थ्य समस्या निम्त्याउने उनको भनाइ छ । मिचाहा झार र किटजन्य रोग नियन्त्रणमा जैविक विधि प्रयोग गर्न सुझाव दिएका छन् ।

भौतिक उपायबाट किरा र मिचाहा झार नियन्त्रण गर्न सकिए पनि प्रभावकारी नहुने उनको भनाइ छ । उनले नेपाली कृषकहरूले किटनाशकको प्रयोगलाई बढुवा दिइरहेकोप्रति उनी चिन्तित छन् । ‘जैविक विधिबाट बालीमा लागेको किरा नियन्त्रण गर्न सकिन्छ । जस्तो कि, ट्राइकोडर्मा ढुसी । यो ढुसी धेरै ठाउँमा किट नियन्त्रणमा प्रभावकारी भएको छ,’ उनले भने ।

नेपालले भविष्यमा आउन सक्ने किटजन्य प्रकोपको पूर्वतयारी गर्नुपर्ने उनले बताए । एकीकृत किट व्यवस्थापनमा नेपालले ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन् ।

प्रकाशित : श्रावण २९, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?