सांसद हाजिर गरेर हिँडेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद हाजिर गरेर हिँडेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको बैठक सांसदहरूको उपस्थितिको अभावमा स्थगित भएको छ । सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो । बैठक प्रारम्भ हुँदा १७९ सांसदले हाजिर गरे पनि बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने ६७ सांसद मात्रै उपस्थित रहेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटसम्म स्थगित भएपछि पनि एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित नहुँदा प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित भएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्ने क्रममा सांसदहरूको गणपूरक संख्या नपुगेको हो । उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा ६७ सांसद उपस्थित थिए । त्यसपछि १५ मिनेट सभा बैठक स्थगित गरिएको थियो । १५ मिनेट बैठक स्थगित गर्दा पनि सांसदहरूको संख्या ६९ नपुगेपछि कार्यसूचीमा रहेका बाँकी बिजनेस सूचीबाट हटाएर बैठक नै स्थगित गर्नुपरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक संख्या भन्दा २ सांसद कम रहेको भन्दै प्रतिनिधिसभा मंगलबार ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । कुनै पनि विधेयक वा प्रश्न संसद्‌मा निर्णयार्थ प्रस्तुत गर्नका लागि सम्पूर्ण संख्याको एक चौथाइ अर्थात् ६९ सांसद उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा ९० सांसद उपस्थित थिए । त्यसपछि भने सांसदहरू हाजिर गरेर बाहिरिएका थिए ।

यस्तो थियो प्रतिनिधिसभाको आइतबारको कार्यसूची :


प्रकाशित : श्रावण २९, २०७९ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्

त्रिविमा नेविसंघको तालाबन्दीविरुद्ध अनेरास्ववियुको हस्ताक्षर

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा पटक/पटक गरेको तालाबन्दीको विरोधमा प्रतिपक्ष अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आइतबारदेखि हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।


विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्ताक्षर बुझाउने उद्देश्यले सोमबारसम्म संकलन गरिने अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए । त्रिविमा भइरहेको अराजकता र तलाबन्दीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरिएको अनेस्ववियुले जनाएको छ ।

नेविसंघले गत असार २७ मा त्रिविको रजिस्ट्रारको कार्यालय, केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले उक्त तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको हो । यसअघि पनि करिब डेढ सय दिनसम्म नेविसंघ र आंशिक प्राध्यापक संघले त्रिवि उपकुलपतिलगायत पदाधिकारीको कार्यालयमा तालाबन्दी गरेका थिए ।

प्रकाशित : श्रावण २९, २०७९ १४:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×