सिंगापुरमा भेटियो २३ वर्षअघि फर्पिङबाट हराएको नीलबाराही प्रतिमा

कान्तिपुर संवाददाता

काठमाडौँ — फर्पिङस्थित एक गुठियारको घरबाट २३ वर्षअघि हराएको अघोरेश्वर(नीलबाराही)को स्वर्ण–तामा प्रतिमा सिंगापुरको एक प्रतिष्ठित संग्रहालयमा फेला परेको छ ।

सिंगापुरमा भेटियो २३ वर्षअघि फर्पिङबाट हराएको नीलबाराही प्रतिमा

नेपाल संवत् ७५६ कुँदिएको पुरातात्विक महत्त्वको प्रतिमा २०५६ असार २ गते फर्पिङबाट हराएको थियो । सम्पदा खोजबिन र पहिचानको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ का अनुसार– यो प्रतिमा सिंगापुरस्थित एसियन सिभिलाइजेसन म्युजियममा फेला परेको हो । हरि–शंकर जात्राका अवसरमा नीलबाराहीजस्तै ७ वटा विशिष्ट भगवान् प्रतिमालाई फर्पिङभित्र घुमाउने प्रचलन रहिआएको छ । ७ मध्ये ४ वटा प्रतिमा चोरी भइसकेकाले अहिले प्रतिलिपी प्रतिमाकामा भरमा जात्रा सञ्चालन हुँदै आएको छ ।

हिमालयन आर्ट रिसोर्सेसका अनुसार– यो प्रतिमालाई जोन एन्ड मरिना स्टेवार्टको संकलनबाट लिइएको जनाइएको छ । हिमालयन आर्ट रिसोर्सेजले जोन एन्ड मरिना स्टेवार्टले गरेको कला संकलनको दस्तावेजबारे जानकारी दिँदै आएको छ । सिंगापुरका ४ प्रमुख म्युजियममध्येको एक एसियन सिभिलाइजेसन म्युजियम सन् १९९७ मा स्थापना गरिएको हो जहाँ प्रमुखत चीन र अन्य एसियाली मुलुकका सम्पदाको संग्रह राखिएको छ ।

प्रकाशित : श्रावण २९, २०७९ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?