कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लेखनको मूल्य चुकाउँदै रुस्दी

पुस्तकका कारण पश्चिमा देश र इरानबीचको कूटनीतिक सम्बन्धमा समेत तनाव सिर्जना भयो । तेहरानस्थित बेलायती दूतावासमा ढुंगामुढा भयो र रूस्दीको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकियो ।
बुद्धिसागर मरासिनी

काठमाडौँ — पाँच दशक लामो समय साहित्यमा बिताएका विश्व चर्चित लेखक सलमान रुस्दीका लागि ज्यान लिने धम्की खासै अनौठो थिएन । कारण, सन् १९८८ मा ‘द सटानिक भर्सेस’ लेखेपछि उनले कैयौं पटक ज्यान मार्ने धम्की पाउने गरेका थिए । पुस्तकमा ईश्वर निन्दा गरेको भन्दै इरानी नेताले हत्याको आदेश दिएपछि रुस्दीको दैनिकी फेरियो ।

लेखनको मूल्य चुकाउँदै रुस्दी

मुस्लिम समुदायबाट पनि व्यापक विरोध भएपछि अचम्भित भएका रुस्दीले सार्वजनिक रूपमा क्षमयाचना गरेपछि करिब एक दशक लुकेर बसे । त्यसयता सार्वजनिक कार्यक्रममा विरलै देखिने गरेका रुस्दी शुक्रबार न्युयोर्कस्थित ‘पेन अमेरिका’ को एक साहित्यिक कार्यक्रममा पुगेका थिए । विडम्बना, उनीमाथि २४ वर्षीय एक युवकले चक्कु आक्रमण गरेपछि उनी हाल न्युयोर्कको एक अस्पतालमा जीवन–मरणको दोसाँधमा छन् ।

बेलायतबाट भारत स्वतन्त्र हुनुभन्दा दुई महिनाअघि जन्मिएर अध्ययनका लागि लन्डन पुगेका अहमद सलमान रुस्दी पछि उतैको नागरिक बने । रुस्दी सन् १९४७ जुन १९ मा भारतको बम्बे (हाल मुम्बई) मा कश्मीरी मुस्लिम परिवारमा जन्मिएका हुन् । १४ वर्षको उमेरमा पढ्नका लागि इंग्ल्यान्ड पुगेका रुस्दीले पछि बेलायतको प्रतिष्ठित किंग्स कलेज इन केम्ब्रिजबाट इतिहासमा अनर्स डिग्री लिए ।

बेलायती नागरिक बनेपछि रुस्दीले मुस्लिम धर्मका संस्कार त्याग्दै गए । छोटो समय नायकका रूपमा पर्दामा छाएका रुस्दीले विज्ञापनसम्बन्धी काम पनि गरे । त्यसपछि उपन्यास लेख्न थाले । पहिलो पुस्तक ‘ग्रिमस’ ले सोचेअनुसार सफलता हासिल नगरे पनि उनी आलोचकका नजरमा ‘सम्भावना बोकेका लेखक’ का रूपमा उदाए । रुस्दीको दोस्रो कृति ‘मिडनाइट्स चिल्ड्रेन’ ले पहिलो पुस्तकको असफलता बिर्साइदियो । रुस्दीले पाँच वर्ष लगाएर तयार पारेको पुस्तकले सन् १९८१ को बुकर पुरस्कार जित्यो । त्यतिबेला निकै मन पराइएको पुस्तक बेलायतमा मात्र १० लाख प्रतिभन्दा बढी बिक्री भएको थियो ।

‘मिडनाइट चिल्ड्रेन’ मा उनले भारतीय कथावस्तु उठाएका थिए । त्यसको दुई वर्षपछि पाकिस्तानको विषयवस्तुबारे लेखिएको तेस्रो उपन्यास ‘शेम’ प्रकाशन गरे । चार वर्षपछि उनले आफ्नो निकारागुआ यात्राबारे ‘जगुआर स्माइल’ प्रकाशित गरे । रुस्दीका हरून एन्ड द सी अफ स्टोरिज (१९९०), द मुअर्स लास्ट साई (१९९५), द ग्राउन्ड बिनिथ हर फिट (१९९९) र फ्युरी (२००१) लगायतका कृति प्रकाशित छन् । उनका शालिमार द क्लाउन, द इन्च्यान्ट्रेस अफ फ्लोरेन्स, टु इअर्स एट मन्थ्स एन्ड ट्वेन्टी एट नाइट्स, द गोल्डेन हाउस र किचोट पछिल्लो दुई दशकयता प्रकाशित भएका हुन् । सन् २०१२ मा उनले ‘द सटानिक भर्सेस’ का कारण उत्पन्न विवादका सन्दर्भसहित आफ्नो संस्मरण प्रकाशन गरेका थिए । उनको ‘भिक्ट्री सिटी’ उपन्यास सन् २०२३ को फेब्रुअरीमा प्रकाशित हुँदै छ ।

चार पटक विवाह गरेका रुस्दीका दुई सन्तान छन् । सन् २००० यता अमेरिकामा बस्दै आएका रुस्दीले साहित्य सेवाका लागि बेलायती महारानीबाट दिइने उच्च नाइट उपाधि पाइसकेका छन् । सन् २००७ मा नाइट उपाधि दिएका बेला पाकिस्तान र इरानमा विरोध प्रदर्शन गरिएको थियो । रुस्दी सहभागी हुने कैयौं कार्यक्रमका विषयमा सधैंजसो विवाद उत्पन्न हुन्थ्यो, कतिपयले त्यस्ता कार्यक्रम बहिष्कार पनि गर्थे । तर शुक्रबार रुस्दीमाथिको आक्रमणको कारणबारे भने अमेरिकी संघीय जाँच ब्युरोले नै अनुसन्धान गर्ने जनाइएको छ । रुस्दीमाथि आक्रमण भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले स्वतन्त्रताको अभ्यासमा लागिरहेका लेखकमाथि गरिएको आक्रमणको निन्दा गरेका छन् । ‘हामीले जहिले पनि बचाउ गर्न पछि पर्न नहुने अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गरिरहेका बेला सर सलमान रुस्दीमाथि आक्रमण भएको देख्दा गहिरो झट्का लागेको छ,’ जोन्सनले ट्वीटरमा लेखेका छन् । त्यस्तै, फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोंले पनि उनको हत्या प्रयासको भर्त्सना गरेका छन् । ‘स्वतन्त्रताका पक्षधर र प्रगतिवादी रुस्दीमाथि क्रूर र घृणावादीले आक्रमण गरेका छन्,’ म्याक्रोंले भनेका छन् । लेखक तथा ग्राफिक उपन्यास सर्जक नील गेइम्यानले रुस्दीमाथिको आक्रमणले ‘स्तब्ध र आक्रोशित बनाएको’ प्रतिक्रिया दिएका छन् ।

आफ्नो लेखाइकै कारण बंगलादेश छाडेर भारतमा बस्न बाध्य अर्की लेखिका तसलिमा नसरिनले रुस्दीमाथिको आक्रमणपछि आफूलाई पनि सुरक्षाको त्रास पैदा भएको लेखेकी छन् । पेङ्गुइन र्‍यान्डम हाउसमा रुस्दीका प्रकाशकहरूले एक विज्ञप्ति जारी गर्दै ‘हिंसात्मक आक्रमणको विरोध’ गरेका छन् ।

जीवन जोखिममा पार्ने 'द सटानिक भर्सेस'

साढे तीन दशकअघि प्रकाशित उनको चौथो उपन्यास ‘द सटानिक भर्सेस’ सबैभन्दा विवादास्पद बन्यो । उपन्यासको विषयलाई लिएर विश्वव्यापी हंगामा भयो । विवाद र आक्रोश बढ्दै गएपछि ज्यान जोगाउन उनी लुकेर बसे । बेलायत सरकारले रुस्दीलाई प्रहरी सुरक्षा घेराभित्र राख्न थाल्यो । पुस्तकमाथिको विवाद यति बढ्दै गयो कि ‘साहित्यिक विश्व’ करिब दुई धारमा विभाजित जस्तै देखियो । मुस्लिम विश्व रुस्दीविरुद्ध एक बन्दै गयो र लेखक तथा पुस्तकप्रति कडा प्रतिक्रिया दिन थाल्यो । यद्यपि रुस्दीलाई पश्चिमा मुलुकबाट भने समर्थन मिलिरहेको थियो ।

पश्चिमा देशका लेखक तथा बौद्धिक वर्गले मुस्लिम कट्टरपन्थीले रुस्दीलाई दिएको धम्की अभिव्यक्ति स्वतन्त्रतामाथिको खतरा भन्दै विरोध गरिरहे । उपन्यास अति यथार्थवादी र उत्तरआधुनिक भएको तथा यसले ईश्वर–निन्दा नगरेको उनीहरूले दाबी गर्दै आएका छन् ।

पुस्तक प्रकाशन भएको दोस्रो वर्ष सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमइनीले रुस्दीको हत्या गर्न फतवा जारी गरे । बेलायत र इरानबीचको कूटनीतिक सम्बन्धसमेत टुट्यो । फतवामा उक्त पुस्तक प्रकाशित गर्ने काममा संलग्न सबैको हत्या गर्न भनिएको थियो भने रुस्दीको हत्यामा संलग्न सबैलाई पुरस्कृत गर्ने उल्लेख थियो । रुस्दीविरुद्धको मृत्युदण्ड आदेशलाई सन् १९९८ मा इरानको सरकारले औपचारिक रूपमा अगाडि बढाउन छाडे पनि फतवा भने औपचारिक रूपमा फिर्ता गरिएको छैन ।

रुस्दीको जीवन नै खतरामा पार्ने पुस्तक ‘द सटानिक भर्सेस’ १९८८ को सेप्टेम्बरमा छापिएको हो । पुस्तकमा उठाइएको विषयवस्तु धर्मविरोधी रहेको भन्दै मुस्लिम समुदायले आपत्ति जनायो । फलस्वरूप रुस्दीको जन्मदेश भारतले नै पहिलो पटक पुस्तकमाथि प्रतिबन्ध लगायो । त्यसपछि पाकिस्तानलगायत विभिन्न मुस्लिम देशहरू तथा दक्षिण अफ्रिकाले पनि प्रतिबन्ध लगाए । तर, पश्चिमा देशहरूमा उपन्यासको निकै प्रशंसा भयो र ह्विटब्रेड पुरस्कार प्राप्त गर्‍यो । त्यसले झन् मुस्लिम समुदायलाई आक्रोशित बनायो र सडक प्रदर्शन हुन थाले । मुस्लिम धर्मगुरुहरूले त्यसलाई ‘इस्लामको अपमान’ का रूपमा व्याख्या गर्न थाले । पुस्तकका उल्लेख गरिएका कैयौं विषयवस्तुमा उनीहरूले असहमति जनाएका थिए । तर पुस्तकमा यौनकर्मीका रूपमा चित्रित दुई पात्रको नाम इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका दुई श्रीमतीको नामसँग मिलेपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो । त्यस्तै, मोहम्मदले कुरानमा राक्षसबाट प्रभावित भएको ठानेर हटाएका दुई सन्दर्भ (भर्सेस) सँग पुस्तकको नाम जोडिएका कारण पनि यसले विरोध र आक्रोश निम्त्याएको हो ।

पश्चिमा देश र इरानबीचको तनाव

पुस्तकका कारण पश्चिमा देश र इरानबीचको कूटनीतिक सम्बन्धमा समेत तनाव सिर्जना भयो । इरानको राजधानी तेहरानस्थित बेलायती दूतावासमा ढुंगामुढा भयो र रुस्दीको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकियो । बेलायत र केही मुस्लिम नेताले त्यसलाई परिमार्जन गर्न आग्रह गरे । अमेरिका, फ्रान्स र अन्य पश्चिमा देशले रुस्दीलाई दिइएको हत्याको धम्कीको निन्दा गरे । केहीले भने इरानी सर्वोच्च नेता रुहोल्लाहलाई समर्थन गरे ।

सन् १९८९ जनवरीमा बेलायतको ब्राडफर्डमा मुस्लिमहरूले विरोध जनाउँदै पुस्तकको एक प्रति जलाए । विरोधपछि न्युजएजेन्ट्स डब्लूएच स्मिथले ‘द सटानिक भर्सेस’ पुस्तक प्रदर्शनीमा राख्न छाड्यो । फेब्रुअरीमा रुस्दीविरोधी दंगाका क्रममा मानिसहरूको ज्यान गएका खबरहरू आउन थाले । पुस्तक प्रकाशक भाइकिङ पेङ्गविनको लन्डनस्थित कार्यालयमा मुस्लिमहरूले धर्ना दिए भने न्युयोर्क कार्यालयमा हत्याको धम्की पठाए । तर आन्ध्र महासागरको दुवैतर्फ उक्त पुस्तक बेस्टसेलर बन्न पुग्यो । युरोपेली आर्थिक समुदाय (ईईसी) मा आबद्ध सबै देशले अतिवादी मुस्लिमले दिएको प्रतिक्रियाको विरोधमा भएका प्रदर्शनलाई समर्थन गरे र अस्थायी रूपमा तेहरानबाट राजदूतहरूसमेत फिर्ता बोलाए ।

श्रीमतीसहित लुकेर बसेका रुस्दीले त्यसबेलासम्म मुस्लिम समुदायमाथि परेको चोटका लागि भन्दै गहिरो क्षमायाचना गरे । रुस्दीले इशनिन्दाका अभियोगहरू अस्वीकार गर्दै आएका छन् । आफ्नो उपन्यासले मुख्य रूपमा आप्रवासी अनुभव केलाएको रुस्दी बताउँछन् । तर रुहोल्लाहले लेखकको हत्याको आह्वान जारी राखे ।

सन् १९८९ को फेब्रुअरीमा रुस्दीविरुद्ध मुस्लिमहरूले मुम्बईमा ठूलो विरोध प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १२ जनाको ज्यान गयो । तीन दर्जनभन्दा बढी घाइते भए । त्यस्तै, भारत प्रशासित कश्मीरमा पुस्तकको विरोधमा गरिएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा ३ जनाको मृत्यु भएको थियो । कम्तीमा एक सय जना घाइते भएका थिए ।

पाकिस्तानको इस्लामावादस्थित अमेरिकी सूचना केन्द्रबाहिर चर्केको हिंसामा ६ जनाले ज्यान गुमाएका थिए । घटनामा ८३ जना घाइते भए । सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह खोमइनीले रुस्दीको हत्याको आह्वान गर्दा दिल्लीको जामा मस्जिदका शाही इमाम अब्दुल्ला बुखारीले पनि उनलाई समर्थन गरेका थिए । पछि सन् २००४ मा मुम्बई आउँदा पनि मुस्लिमहरूले रुस्दीको चर्को विरोध गरेका थिए ।

‘द सटानिक भर्सेस’ को विषयवस्तुका कारण लेखक रुस्दीले मात्रै धम्कीको सामना गर्नुपरेन । पुस्तकका जापानी अनुवादक हितोसी इगारसी युनिभर्सिटी नर्थ इस्ट अफ टोकियोमा सन् १९९१ को जुलाईमा मृत फेला परे । संस्कृति विषयका सहायक प्राध्यापकका रूपमा कार्यरत हितोसीलाई कैयौं पटक छुरा प्रहार गरेर छाडिएको प्रहरीले जनाएको थियो । सन् १९९१ कै जुलाईको सुरुमा इटालीका अनुवादक इटोरे क्रपिओलोलाई समेत मिलानस्थित आफ्नै अपार्टमेन्टमा छुरा प्रहार गरिएको थियो । यद्यपि, उनी ज्यान जोगाउन सफल भए ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : श्रावण २९, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?