१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरी जलेश्वरकी निहारिका राजपुत (सोनालीकुमारी सिंह) को मुद्दामा काुनन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग चासो राखेकी छन् । निहारिकाले शुक्रबार शीतलनिवासअगाडि आत्मदाहको प्रयास गरेपछि राष्ट्रपति भण्डारीले शनिबार कानुनमन्त्री कोइराला र महान्यायाधिवक्ता खातीलाई बोलाएर जिज्ञासा राखेकी हुन् । 

निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो

राष्ट्रपतिसँगको भेटमा मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्च अदालत तानेर न्याय परिषद्ले छानबिन गरिरहेको जानकारी दिएका थिए । भट्टराईविरुद्धका उजुरीमा अनुसन्धान भइरहेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।

आफूलाई नशालु पदार्थ सेवन गराएर धनुषाका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै निहारिकाले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसमाथि अनुसन्धान गरेर जिल्ला अदालतमा मुद्दा दर्ता भएकामा न्यायाधीश भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो । कानुनमन्त्री कोइरालाले जिल्ला अदालतको फैसला चित्त नबुझेकाले सरकारले उच्च अदालत जनकपुरमा पुनरावेदन गरिसकेको जानकारी राष्ट्रपति भण्डारीलाई गराएको बताए । निहारिकाले आफूमाथि २०७६ कात्तिक ६ गते बेलुका धनुषा जनकपुर–४ स्थित शिवराज श्रेष्ठले कोठामा लगेर जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । उनले २०७६ फागुन ११ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसअघि नै प्रहरीमा दिएको निवेदनमा निहारिकाले श्रेष्ठसँग श्रीमान्–श्रीमतीको सम्बन्धमा रहेको र आफूलाई हक–अधिकार दिलाइपाउँ भनेर उल्लेख गरेकी थिइन् ।

जिल्ला अदालतले निहारिकाले प्रहरीमा दिएको निवेदनलाई आधार मानेर ‘जबर्जस्ती करणी भएको पुष्टि नहुने’ तर बच्चाको हकमा ‘छुट्टै कानुनी उपचारबाट सम्बोधन प्राप्त हुने हुँदा यस मुद्दाको रोहबाट बोलिरहनुपरेन’ भन्ने फैसला गरेको थियो ।

त्यसपछि निहारिकाले शिवराज श्रेष्ठ भन्ने व्यक्तिको जबर्जस्ती करणीबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने माग राखेर गत जेठ २९ बाट काठमाडौंमा अनशन थालेकी थिइन् । काठमाडौंको माइतीघर र वसन्तपुरमा अनशन बसेकी उनका माग पूरा गर्ने प्रतिबद्धतासहित असार ३ मा गृहमन्त्री बालकृष्ण खाँणले जुस पिलाएर अनशन तोडाएका थिए ।

सरकारसँग भएको सहमतिमा आरोपित भनिएका श्रेष्ठ र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायलाई पीडितमैत्री बनाउन पहल गर्ने, अनशनकर्तालाई आर्थिक सहायताका लागि गृह मन्त्रालय मार्फत पहल गर्ने र अन्तिममा गृहमन्त्री खाँणबाट जुस पिएर अनशन तोड्ने उल्लेख छ । तर, उक्त सहमति कार्यान्वयन नगरिएपछि निहारिकाले शुक्रबार शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् ।

यो पनि पढ्नुहोस् :

न्यायका लागि दुधे बालक च्यापेर अनशनमा

५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनशन

निहारिका राजपुतले गरिन् राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

प्रकाशित : श्रावण २९, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?