पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा पुन
काठमाडौँ — पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन चयन भएका छन् । प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा श्रीकृष्ण अधिकारी तथा महासचिवमा निर्मल आचार्य चयन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको अध्यक्षमा यसअघि गोरखाका हितराज पाण्डे थिए ।
नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत (नेकपा माओवादी)का उपाध्यक्ष थिए । उनको ६१ वर्षको उमेरमा २०७१ भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए ।
बोगटीको नाममा स्थापना भएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्यलगायतका सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।
प्रकाशित : श्रावण २८, २०७९ १६:१४