१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सडक संघर्षमा मिटरब्याजपीडितहरू

दर्जनौं पीडितहरु केही महिनायता निरन्तर सडक आन्दोलनमा छन् तर उनीहरुको पीडा न सरकारले सुनेको छ, न स्थानीय दलका अगुवाले

सिरहा, सर्लाही — टेम्पो चलाएर गुजारा धान्न धौधौ भएपछि सिरहा धनगढीमाई नगरपालिका–८ कसहाका रामबाबु महतो ६ वर्षअघि त्यही टेम्पो बेचेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए । रामबाबुले पठाएको रकमबाटै उनकी पत्नी रीताले १० धुर खडेरी किनेर घर बनाउन थालिन् । रकम अपुग भएपछि उनी गोलबजार नगरपालिका–४ की सम्रिका सिंहकहाँ पुगिन् । सम्रिकाबाट २०७५ भदौ १५ गते लिएको एक लाख रुपैयाँ ऋण यति बेला उनलाई गलपासो भएको छ । किनकि सम्रिकाले त्यति बेलै एक लाखलाई पाँच लाख साँवा लेखेर तमसुक बनाएको उनले पत्तै पाइनन् ।

सडक संघर्षमा मिटरब्याजपीडितहरू

ऋण लिएको केही समयपछि रामबाबुले पैसा पठाएपछि रीताले ८० हजार रुपैयाँ बुझाइन् । त्यसको महिना दिनपछि फेरि उनले ऋण चुक्ता गर्न २५ हजार लिएर सम्रिकाको घर पुगिन् । तर आफू बाहिर जानुपर्ने भन्दै सम्रिकाले अर्को दिन आउन भनिन् । एक सातापछि उनी फेरि पैसा लिएर पुगिन् । तर, सम्रिकाले तमसुक दिइनन् । बरु उल्टै १५ लाख नदिए फसाइदिने धम्की दिन थालिन् ।

धम्की दिएको केही दिनमै सम्रिकाले जिल्ला अदालतमा लेनदेन ठगी मुद्दा दर्ता गरिन् । अदालतले रीताविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो । ‘कति दिन भाग्नु, पक्राउ परें,’ उनले भनिन्, ‘साढे चार लाख रुपैयाँ बुझाएपछि माघ २५ गते १९–२० दिनपछि कारागारमुक्त भएँ ।’ थुनाबाट मुक्त भएपछि पनि रीताका दुःख सकिएनन् । ‘सडकमा हिँड्दा अपरिचित व्यक्तिले दुर्व्यवहार गर्ने, ज्यान मार्ने धम्कीसमेत दिइरहेका छन्,’ उनले भनिन्, ‘न्यायका लागि उनी अरूजस्तै मिटरब्याजी पीडितसँग आन्दोलनमा उत्रिएको छु ।’

रीताजस्तै दर्जनौं पीडितहरू केही महिनायता निरन्तर सडक आन्दोलनमा छन् । तर उनीहरूको पीडा न स्थानीय सरकारले सुनेको छ न त स्थानीय दलका अगुवाले नै । रीताजस्तै गोलबजार नगरपालिका–५ की सञ्जलाकुमारी सिंहले २०७८ वैशाख ७ गते सम्रिका सिंहसँगै घरायसी गर्जो टार्न र व्यवसाय गर्न ५० हजार लिएकी थिइन् । तर निरक्षर उनले १ लाख ५० हजारको तमसुकमा छाप लगाइन् । दोस्रोपटक ५ महिनापछि सञ्जलाले उनैसँग थप ८० हजार रुपैयाँ लिइन् । अघिल्लो पटकको रकम समेत जोडेर ८ लाखको कागज तयार भयो । ‘पटकपटक गरेर ६० हजार दिइसकें । अझै ४ लाखको माग भइरहेको छ,’ उनले भनिन् ।

मिटरब्याजको जालोमा पर्नेमा सिरहाका कैयौं निरक्षर महिलाहरू छन् । जसले चर्को ब्याजमा रकम त लिएका छन् नै, रकम दिनेले तयार पारेको लिखत नै नपढी ल्याप्चे हान्दा थप हैरानी बेहोर्नुपरेको छ । लहान नगरपालिका–१८ की प्रतीक्षाकुमारी सिंहले शारदा साहसँग १० वर्षअघि दसैं टार्न १० हजार रुपैयाँ ऋण लिइन् । पटकपटक गरेर १ लाख ३६ हजार रुपैयाँ बुझाइसके पनि ऋण चुक्ता नभएको उनी बताउँछिन् ।

नागरिक समाज सिरहाका राजकुमार राउत कुर्मीले मिटरब्याजका साहुले शक्तिको आडमा विपन्न नागरिकलाई फसाइरहेको बताए । ‘त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिन राज्य सक्रिय हुनुपर्छ,’ उनले भने ।

रौनियारमाथि अनुसन्धान हुँदै

मिटरब्याजमा ऋण लगानी गरी ठगी आरोपमा पक्राउ परेका सञ्जय साह रौनियारलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ । दुई वर्षअघि सोही मुद्दामा धरौटीमा रिहा भएका रौनियार १२ साउनमा पक्राउ परेका थिए ।

अभद्र व्यवहार मुद्दामा महोत्तरीको बर्दिवासबाट पक्राउ परेका ५२ वर्षीय रौनियारलाई ठगी आरोपमा गत आइतबार सर्लाही ल्याइएको थियो । ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगर निवासी उनीविरुद्ध ठगी आरोपमा उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हरिपुर्वा नगरपालिका–९ वसन्तपुरकी गीतादेवी यादवले ५२ लाख ५० हजार ऋण लिएकामा ४६ लाख चुक्ता गरिसक्दा पनि रकम नतिरेको भन्दै दबाब दिएपछि पीडित यादवले प्रहरीमा जाहेरी दिएकी हुन् । यादवले ठगी, विश्वासघात र आपराधिक लाभ लिएको उनको भनाइ छ । रौनियारमाथि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता विजय यादवले बताए ।

चर्को ब्याजमा ऋण प्रवाह गरेको, दिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण चुक्ता गर्दा पनि कागज नदिएको जस्ता आरोप रौनियारमाथि लाग्दै आएको छ । दुई वर्षअघि पनि स्थानीय निर्मला देवीले ठगी आरोपमा उजुरी दिएपछि उनी फरार भएका थिए । पछि अदालतमा गई २५ लाख धरौटीमा रिहा भएका थिए । त्यो मुद्दा अहिले उच्च अदालतमा छ ।

सर्लाही प्रहरीले यसअघि मिटरब्याजको आरोपमा रौनियारसहित श्याम परदेशी भनिने श्यामकृष्ण साह र रामबाबु रायविरुद्ध ठगीकै मुद्दा दायर गरेको थियो । राय र रौनियार धरौटीमा रिहा भए पनि साह पुर्पक्षका लागि थुनामै छन् ।

प्रकाशित : श्रावण २८, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?